शहीद सप्ताह: कसैका लागि 'राजा' कसैका लागि 'नेताका मान्छे'

तस्बिर स्रोत, Alamy
- Author, विष्णु पोखरेल
- Role, बीबीसी नेपाली सेवा
दोलखाकी अम्बिका बस्नेतले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जाने सडकको मुखैमा फुटपाथ पसल थापेको १० वर्ष भयो। नजिकै एउटा बूढो रूख छ।
मध्याह्न १२ बज्नै लागेकाले बिहान पढाइ हुने कलेजबाट फर्केका कतिपय विद्यार्थीहरू युनिफर्ममै त्यो रूखको फेदमा बसेर सेल्फी खिचिरहेका थिए।
सडकपेटीबाट हिँडिरहेकामध्ये कोही टक्क अडिएर रूखतर्फ हेर्थे भने कोही त्यसको तस्बिर लिन थाल्थे।
सबै पात झरेर सुकेकोजस्तो देखिने उक्त रूखले धेरैको ध्यान खिच्नुको कारण थियो - त्यसको फेदमा बनाइएको एउटा पाँच फिट अग्लो पित्तलको सालिक। त्यो सालिक गत हप्ता मात्रै अनावरण गरिएको हो।
काठमाण्डू महानगरपालिका वडा नम्बर १२ ले १० लाख रुपैयाँ खर्च गरेर बनाएको उक्त सालिक शहीद शुक्रराज शास्त्रीको हो।
उनलाई विसं १९९७ साल माघ १० गते टेकु पचलीस्थित त्यही खरीको रूखमा झुन्ड्याएर राणा सरकारले मृत्युदण्ड दिएको थियो।
जिउँदो रूख
चार शहीदमध्ये शुक्रराज शास्त्रीलाई जस्तै धर्मभक्त माथेमालाई काठमाण्डूकै सिफलमा झुन्ड्याएर मारिएको थियो। माथेमालाई झुन्ड्याइएको रूख भने मरिसकेको छ।
शुक्रराजलाई भने अहिले फेदमा उनको सालिक बनाएकै रूखको उत्तरतर्फको हाँगामा झुन्ड्याइएको विश्वास गरिन्छ।
नेताहरूले अरू बेला बिर्सने तर माघ १० गतेदेखि १६ गतेसम्म मनाइने शहीद सप्ताहमा मात्र शहीदलाई 'सम्झेको जस्तो गर्छन्' भन्ने आरोप लाग्ने गर्छ।
तर तिनै शहीदलाई कतिपय सर्वसाधारणले भने अहिले पनि चिन्दैनन्। अरूले भनेका र सुनेका आधारमा उनीहरूले बनाएका धारणा पनि रोचक छन्।
त्यसको एउटा उदाहरण हुन् अम्बिका बस्नेत। शुक्रराजलाई मृत्युदण्ड दिइएको रूखकै छेउमा व्यापार गर्ने भए पनि उनलाई ती शहीदबारे केही थाहा छैन।

"यो कसको सालिक हो तपाईँलाई थाहा छ?" भनेर सोध्दा बस्नेतले भनिन्, "शुक्रराज शहीद राजाको कि केको पो हो भनेर मान्छेहरूले पूजा गरिराख्छन्।"
अम्बिकाका बुझाइमा राजा नभएका भए शुक्रराजको मूर्ति बन्ने थिएन। र, कसैले त्यो मूर्तिलाई माला पनि लगाइदिने थिएन।
दश वर्षदेखि सोही स्थानको सडकपेटीमा चकलेट, चुरोट, बदाम आदि बेच्दै आएकी उनलाई सालिक बनाइएका व्यक्तिको नाम शुक्रराज हो भन्ने चाँहि थाहा रहेछ।
उनी भन्छिन्, "पहिला त थाहा थिएन, यहाँ बस्दै गएपछि थाहा भयो। माघ-माघमा आएर पूजा गर्छन्। झन्डा फेर्न चाहिँ एकजना सेतो लुगा लगाउने बूढो दाइ आइरहनुहुन्छ।"
शहीदबारे बुझाइ
अम्बिकासँगको सम्वाद सुनिरहेकी लगनटोल बस्ने दोलखाकै अर्की महिला मीना खत्री भने उक्त रूखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भन्ने सुनेर अचम्म मान्दै थिइन्।
उनले भनिन्, "हामी त यसलाई खरीबोट मात्र भन्थ्यौँ। फार्मेसी भएकाले औषधि किन्न कहाँ जाने भन्दा खरीबोट भन्थ्यौँ। यस्तो रूख पो रहेछ हामीलाई थाहै थिएन।"
सामान्य मजदुरी गर्ने उनले पनि शुक्रराज शास्त्रीबारे आफूलाई केही पनि जानकारी नभएको बताइन्।
शहीद भन्ने शब्द चाहिँ उनले बारम्बार सुन्ने गरेकी छन्। "शहीदका परिवारले १० लाख रुपैयाँ पाउँछन् रे," उनी भन्छिन्।
पछिल्ला वर्षहरूमा कतिपय आन्दोलनहरूमा मारिनेका परिवारलाई १० लाख दिने घोषणा गर्ने र त्यस्ता व्यक्तिलाई शहीद भन्ने चलन बढेकाले मीनालाई यसबारे जानकारी भएको हो।
किन मारिए शुक्रराज?
शुक्रराजले शहादत प्राप्त गरेको प्रतीकको रूपमा रहेको उक्त खरीको बोट देख्दा कतिपय सचेत नागरिक भने भावुक पनि बन्ने गर्छन्।
जहानियाँ राणा शासनविरुद्ध एक जनाले शहादत प्राप्त गरेको रूख भएकैले त्रिपुरेश्वर-कलङ्की सडक विस्तारका क्रममा आसपासका घरहरू भत्काइए पनि उक्त रूखलाई भने जोगाइएको थियो।

इतिहासकारहरूका अनुसार विसं १९५० सालमा भारतको बनारसमा जन्मिएका शुक्रराज विसं १९९४ सालतिर नेपाल आएका थिए।
भारतीय स्वतन्त्रता आन्दोलनबाट प्रभावित भई उनले नेपालमा पनि राणा शासनविरुद्ध आन्दोलन गर्ने अठोट लिएर काठमाण्डू आएको विभिन्न पुस्तकहरूमा लेखिएको छ।
उनले राणा शासनविरुद्ध 'नेपाली नागरिक अधिकार समिति' नामक संस्था बनाएर जनजागरण फैलाउन थालेका थिए।
त्यसै क्रमममा विसं १९९५ मंसिर १३ गते इन्द्रचोकमा आमसभा गरेपश्चात् उनी गिरफ्तारीमा परे।
विसं १९९७ माघ ६ गते उनलाई सर्वस्व सहित फाँसीको सजाय सुनाइएको थियो र १० गते उनलाई उक्त रूखमा झुन्ड्याइयो।
'नेताको मान्छे रै'छ'
गएको सोमवार शोभाभगवती मन्दिरनजिकै विष्णुमती किनारमा गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई गोली हानेर मारिएको स्थानमा पुग्दा त्यहाँको शहीदस्तम्भ र सालिकहरू केही समयअघि मात्र सफा गरेको झल्को पाइन्थ्यो।
स्तम्भ र सालिक रहेको क्षेत्रलाई ग्रिलले घेरिएको रहेछ। ग्रिलमा पनि केही दिनअघि मात्र निलो रङ्ग लगाएको प्रष्टै देखिन्थ्यो।

तस्बिर स्रोत, BISHNU
स्थानीयवासीका अनुसार हरेक माघ महिनाको शहीद सप्ताहमा सालिक र ग्रिल यसैगरी रङ्ग्याउने गरिन्छ।
दशरथ र गङ्गालालको सालिक रहेको स्थानको ठिक अघिल्तिर सडक किनारामा बिहान बेलुका तरकारी र दिउँसो फलफूल बिक्री गर्ने काभ्रेकी तुलसी तामाङलाई चाहिँ ती सालिकबारे केही पनि थाहा रहेनछ।
"यी सालिक कसका हुन्?" भनेर सोध्दा तामाङले आफ्नै लवजमा भनिन्, "खै कस्को मान्छे हो। दशैँमा र त्यो भोट हाल्ने बेलामा नेताहरू आउँछ, चुनाव जितेपछि पनि आउँछ। जित्ने नेताको पो मान्छे रहेछ त्यो। माला लगाउँछ, खादा लगाउँछ। मन्त्रीहरू पनि आउवछ चुनावको बेला त।"
सात वर्षदेखि त्यसै क्षेत्रको सडकपेटीमा व्यापार गर्ने तुलसीले गत वर्षको चुनाव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेले जितेको हो भन्ने सुनेकी रहिछन्।
सँगै मारिएका थिए दशरथ चन्द र गङ्गालाल
इतिहासकारहरू र विभिन्न पुस्तकहरूमा दिइएको विवरणअनुसार चार शहीदमध्ये गङ्गालाल र दशरथ चन्दलाई गोली हानेर मारिएको थियो।
उनीहरू दुवै जनालाई विष्णुमती किनारमा रहेको शोभाभगवती मन्दिरअगाडि लगेर विसं १९९७ साल माघ १५ गते राति गोली हानिएको थियो।
रामेछापमा विसं १९७५ सालमा जन्मिएका गङ्गालाल पनि शुक्रराज जस्तै भारतमा अध्ययन गर्ने उद्देश्यले जाँदा भारतीय स्वतन्त्रता आन्दोलनबाट प्रभावित भई नेपाल आएको पुस्तकहरूमा उल्लेख छ।
विसं १९९५ सालमा दरबार हाईस्कूलबाट एसएलसी गरेर उच्च शिक्षाका लागि आफ्ना काकासँगै भारत गएका उनी त्यसै वर्ष नेपाल फर्केर राणाविरोधी आन्दोलनमा सहभागी भएका थिए।

विसं १९६० मा बैतडीमा जन्मेका दशरथ त भारतमा अध्ययनरत रहँदा त्यहाँको स्वतन्त्रता आन्दोलनमा सहभागी भएको कतिपय इतिहासकारले लेखेका छन्।
उनको टङ्कप्रसाद आचार्यसँग भेट भएपछि प्रजा परिषद्मा सक्रिय भएका थिए।
राणाविरोधी अभियन्ताहरूलाई समात्ने क्रममा पक्राउ परेका चन्दलाई पनि गङ्गालालसँगै केन्द्रीय कारागारमा राखिएको थियो।
दुवै जनालाई कारागारबाट शोभाभगवती पुर्याएर गोली हानिएको विवरण पाइन्छ।
'किरियापुत्री राख्ने ठाउँ त छैन ..."
सिफलको उकालोमा अवस्थित भण्डारेश्वर महादेव मन्दिरअगाडि धर्मभक्त माथेमाको अर्धकदको सालिक छ।
उनलाई उक्त सालिक राखिएकै स्थानमा रहेको एउटा रूखमा मृत्युदण्ड दिइएको विश्वास गरिन्छ।
गत हप्ता अपराह्णतिर त्यहाँ पुग्दा माथेमाको सालिक फूलमालाले सजिएको देखिन्थ्यो।

शहीद सप्ताहमा हरेक दिनजस्तो माल्यार्पणका कार्यक्रम हुने गर्छन्। त्यस्तै माल्यार्पणका क्रममा उनको सालिकमा पनि माला लगाइएको हो।
नजिकै प्रहरी बिट र त्यसको पछाडि किरियापुत्री भवनसमेत रहेको उक्त मन्दिर परिसरमा केही व्यक्तिहरू निराश भएर बसिरहेका देखिन्थे।
कोही सालिकको फेदमा बसेका थिए भने कोही नजिकै राखिएका फलामका बेन्चहरूमा।
उनीहरूमध्ये धेरै आफ्ना आफन्तको मृत्यु भएकाले त्यहाँ भेला भएका रहेछन्।
पोखरामा बितेका उनको काजक्रियाका लागि किरियापुत्री राख्न आएका। तर बिहान पाँच बजेदेखि पशुपतिक्षेत्रमा किरियापुत्री राख्न खोज्दा कतै पनि ठाउँ नभेटेपछि उनीहरू भण्डारेश्वर आएका रहेछन्।
बीबीसी सम्वाददाताले धर्मभक्तको सालिकको तस्बिर लिँदै गर्दा तिनै मध्येका एकजना पुरुष धनबहादुर परियारले सोधे, "यो टीभीमा देखाउन खिचेको हो?"
शहीदबारे कुराकानी गर्दा उनले सरकार र नेताहरूको आलोचना गरे।
उनले भने, "मेरो सालो पोखरामा बितेको उतै सत्गत गरेर बिहान पाँच बजे काठमाण्डू आइपुग्यौँ। त्यस बेलादेखि सबैतिर किरियापुत्री राख्ने ठाउँ खोज्दा पनि भेटिएन। यहाँ पाँच बजेपछि पाइन्छ भनेर पर्खिराखेका छौँ। जनतालाई सुविधा हुनेगरी एउटा किरियापुत्री भवन त बनाउन नसक्नेहरूले यस्ता शहीदको सपना के साकार पार्लान् र?"
शहीद र धर्मभक्तबारे जानकारी भएका उनलाई त्यसै स्थानमा धर्मभक्त मारिएका थिए भन्ने चाहिँ थाहा रहेनछ।
तर उनलाई धर्मभक्त जस्तै शहीदहरूले देखेको नेपाल सुखी र समृद्ध हो भन्ने लाग्दो रहेछ।
गोरखा घर भई हाल बालाजु बस्ने उनले भने, "कुनै बेला धर्मभक्तजस्ता मान्छे जन्मेका थिए। उनी मारिए। उनीजस्ता देशलाई साच्चै केही गरौँ भन्ने त्यसपछि जन्मेनन्। अब त कोही पनि जन्मदैन।"
धर्मभक्तको मृत्यु
विसं १९६६ सालमा काठमाण्डूमा जन्मेका धर्मभक्त माथेमा पनि भारतीय स्वतन्त्रता आन्दोलनबाटै प्रभावित भएर राणा विरोधी गतिविधिमा लागेको इतिहासकारहरूले लेखेका छन्।
राजा त्रिभुवन र राणा परिवारका सदस्यहरूका व्यायाम प्रशिक्षक रहेका धर्मभक्तकै घरमा विसं १९९३ सालमा बसेको एउटा बैठकले नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्को स्थापना गरेको विश्वास गरिन्छ।
उनलाई प्रजा परिषद्मार्फत् राणाविरोधी गतिविधि गरेको आरोपमा विसं १९९७ साल कात्तिकमा पक्राउ गरिएको थियो।

धर्मभक्तलाई मन्दिरआगाडि उनको सालिक रहेकै स्थानमा विसं १९९७ माघ १३ गते राति मृत्युदण्ड दिइएको थियो।
सम्मान कि अपमान?
सर्वसाधारणहरूकै जस्तो राणा शासनविरुद्ध लडेका यी चार शहीदबारे अध्येताहरू र आलोचकहरूका धारणा पनि एकैखाले छैनन्।
कतिपयले उनीहरूप्रति राज्यले उचित सम्मान व्यक्त गर्न नसकेको ठान्छन् भने केहीले राणाविरोधी आन्दोलनमै लागेर शहादत प्राप्त गरेका अन्यलाई भन्दा उनीहरूलाई बढी महत्त्व दिइएको भन्ने गर्छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको एउटा पुस्तक 'नेपाली हुलाक टिकटमा समाविष्ट व्यक्तित्त्वहरू'मा लेखक टहलदास शिवाकोटी 'यात्री'ले हुलाक टिकटमा समेत शहीदको उचित सम्मान झल्कन नसकेको दाबी गरेका छन्।
हुलाक सेवा विभागले विसं २०२२ साल असार २७ गते एउटैमा शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चारै जनाको चित्र अङ्कित भएको हुलाक टिकट प्रकाशित गरेको थियो।
त्यसबारे टिप्पणी गर्दै लेखक शिवाकोटीले पुस्तकमा लेखेका छन्, "चारैवटा शहीदहरूको हुलाक टिकट अरूको जस्तै अलगअलग नगरी एउटै हुलाक टिकटमा चारै जनाको मुहार अङ्कित गरिएकाले यसबाट उनीहरूको अवमूल्यन गरिएको हो कि भन्ने ठाउँ रहेको छ।"
विशेषगरी २०६२/६३ को जनआन्दोलनपश्चात् जसलाई पनि शहीद घोषणा गर्न माग गर्ने तथा सरकारले पनि शहीद घोषणा गरेर परिवारलाई रकम उपलब्ध गारउने परिपाटी बसेकाले साँच्चैका शहीदको अपमान भएको ठान्नेहरू पनि धेरै छन्।








