इन्डो-प्यासिफिक मामिलामा नेपालको 'केन्द्रीय भूमिका' किन खोज्दैछ अमेरिका

तस्बिर स्रोत, Twitter/U.S. Department of State
- Author, संजीव गिरी
- Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा अमेरिकाले इन्डो-प्यासिफिक जस्ता विश्वव्यापी मुद्दामा नेपालले केन्द्रीय भूमिका खेल्न सक्ने अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिका अनुसार विदेशमन्त्री माइक पोम्पेओसँगको भेटघाटमा सो विषयमा छलफल भएको थियो।
दुई पक्षबीच उत्तर कोरिया र विश्व मामिलाबारे पनि छलफल भएको बताइएको छ।
पछिल्ला केही वर्षमा नेपालमा चिनियाँ प्रभाव बढिरहको ठानिएका बेला नेपालले इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रीय भूमिका खेल्न सक्ने अमेरिकी भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको कतिपयको भनाइ छ।
सन्देश
कतिपय विज्ञका भनाइमा भारतले चीनबाट खेपिरहेको व्यवासायिक र रणनीतिक प्रतिस्पर्धाबीच आएको अमेरिकाको उक्त भनाइको सन्देश महत्त्वपूर्ण छ।
पूर्वपरराष्ट्रमन्त्री भेखबहादुर थापाका अनुसार अमेरिकाको उक्त प्रस्ताव दशक लामो द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको नेपालले विश्व शान्तिमा खेल्न सक्ने भूमिकाको सन्दर्भमा गरेको हुन सक्ने बताए।
थापाले भने, ''शान्तिप्रेमी राष्ट्र भएको नाताले नेपालले विश्वशान्तिमा सकारात्मक भूमिका खेल्न सक्ने कुरा पहिले देखिकै हो। तर अहिले आएर अमेरिकाले गरेको सङ्केत कत्तिको विशिष्ट हो भन्ने विषय भने मिहिन ढङ्गले हेर्नुपर्ने हुन्छ।''
दुई ठुला छिमेकी भारत र चीनबीच अवस्थित नेपालका सन्दर्भमा अमेरिकाको पछिल्लो भनाइले सामरिक महत्त्व राख्ने उनको बुझाइ छ।
टिप्पणी
परराष्ट्रमन्त्री ज्ञवाली र पोम्पेओबीचको भेटवार्तालाई दुवै देशका अधिकारीहरूले सफल र सम्बन्धलाई थप मजबुत बनाउनेतर्फको प्रयास भनेर टिप्पणी गरेका छन्।
बीबीसीसँगको विशेष अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ''हाम्रा सबै मित्रहरूलाई हामीले सन्तुलनलाई प्राथमिकतामा राख्छौँ भनेर आश्वस्त पारेका छौँ। हामी कतैतिर पनि ढल्किएका छैनौँ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर हामीले हाम्रो विदेश सम्बन्ध सञ्चालन गरिरहेका छौँ। हामी सबैसँग मित्रता प्रगाढ बनाउन चाहन्छौँ। नेपाल कुनै पनि किसिमको प्रतिस्पर्धासँग जोडिँदैन।''
पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका लागि पूर्व स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले दक्षिण र उत्तरी छिमेकीको चासोलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
उनी अबका दिनमा कुनै पनि देशसँगको दौत्य सम्बन्ध र क्षेत्रीय मुद्दाहरूलाई फरक रूपमा हेरिनुपर्ने सुझाव दिन्छन्।
आवश्यकता
आचार्यले भने, ''नेपालले आफूलाई छिमेकीसँग मात्र सीमित राख्नु हुदैन। तसर्थ, अमेरिका र नेपालबीच हाल भएको सहमतिलाई राम्रो शुरूवातको रूपमा हेर्नुपर्ने हुन्छ।"
तर आगामि दिनमा उक्त सहमति कार्यान्वयन गर्दा आउने समस्या समाधानका लागि नेपालले आन्तरिक रणनीति बनाउनुपर्ने उनको सुझाव छ।
परराष्टमन्त्री ज्ञवालीले अमेरिका नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने दोस्रो देश रहेको र सो सम्बन्धलाई थप प्रभावकारी र मजबुत बनाउने ध्येयमा सरकार रहेको बताए।
नेपाल र अमेरिकाबीच लामो समयपछि परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हो।










