सर्वसाधारणको प्रश्न: भारतीय रुपैयाँ नचल्ने भएपछि हामीसँग भएको पैसा अब के गर्ने?

नेपाल सरकारले भारतको नयाँ दुई सय, पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसप्रति कतिपय नेपाली सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।

सरकारले नेपालीसँग रहेको उक्त दरका रुपैयाँ व्यवस्थापन गर्न समेत समय नदिएर एक्कासि निर्णय गर्नुले सर्वसाधारणलाई बढी असर पर्ने उनीहरूको गुनासो छ।

यसै सन्दर्भमा हामीले राजधानी काठमाण्डूमा केही सर्वसाधारणसँग सरकारको पछिल्लो निर्णयबारे कुराकानी गरेका थियौँ।

उनीहरूको प्रतिक्रिया।

अनुपम भुसाल, निजी क्षेत्रका कर्मचारी

अनुपम भुसाल

भारतसँग हाम्रो खुला सिमाना भएका कारणले भारतीय मुद्राको विषय हाम्रो लागि निकै संवेदनशील विषय हो।

किनभने भारतमा हाम्रो घुमफिरदेखि लिएर व्यापार वा रोजागारीका कारण आवतजावत गर्दा भारतीय रुपैयाँमै कारोबार गर्नुपर्ने हुन्छ।

अनि भारतमा कमाएको रुपैयाँ यहाँ ल्याउनुपर्ने हुन्छ र अचानक यसरी भारतीय रुपैयाँमा प्रतिबन्ध लगाइँदा वा गैरकानूनी घोषित गरिँदा अब कहाँ गएर साट्ने?

आफूले कमाएको पैसा आफूले राख्न पनि नमिल्ने र सरकारले पनि नसाट्दिने भएपछि वैध ढङ्गले कमाएका मान्छेलाई धेरै मर्का पर्छ।

दुवै सरकारहरु यसमा संवेदनशील बन्नुपर्छ र छिट्टै यसमा निकास खोज्नका लागि कूटनीतिक पहल गर्नुपर्छ।

मसँग भएको पूरानो भारु के गर्ने अन्योल नै छ।

पद्मा भट्टराई, विद्यार्थी

पद्मा भट्टराई

यस्तो निर्णयबाट जनतालाई कस्तो असर पर्छ त्यो सरकारले बुझ्नुपर्ने कुरा हो। बारा, बाजुरा जस्ता भारतसँग सीमा जोडिएका कतिपय क्षेत्रमा भारतीय रुपैयाँ चल्छ।

र त्यहाँबाट काठमाण्डू पढ्न आउने विद्यार्थीसँग भारतीय रुपैयाँ नै हुन्छ।

अब भारतीय रुपैयाँ एकाएक नचल्ने भएपछि उनीहरुले कहाँ गएर साट्ने त्यो पैसा, कसरी गुजारा चलाउने? सरकारले यस्तो गर्न नहुने हो।

सरकारले अचानक यस्तो निर्णय गरेपछि छाँगाबाट खसेजस्तो भएको छ।

दिपेस केसी, व्यवसायी

दिपेस केसी

यसअघि भारतमा भएको नोटबन्दीपछि नेपालमा धेरै भारतीय रुपैयाँ थन्केर बसेको छ।

मोदी सरकारले ती नोट साट्ने आशा पनि देखाएको थियो र हाम्रो राष्ट्र ब्याङ्कले समेत नेपालीसँग भएका नोट साटिदिने प्रतिबद्धता जनाएको थियो।

पुरानो भारतीय नोट चल्छ भनेर राखिरहेको बेला नेपाल सरकारले फेरि एकाएक यस्तो निर्णय गर्नुले जनतालाई धेरै मार परेको छ।

हामीले अवैध रुपैयाँ राखेको होईन। एकअर्कालाई थाहा नहोला तर प्रत्येकजसो मानिससँग भारतीय नयाँ पुराना नोट छन्।

नेपाल सरकारले आफ्नै पहलमा भएपनि जनतासँग भएका भारतीय रुपैयाँ साट्ने व्यवस्था गरेमा हामीलाई धेरै राहत हुनेथियो।

रक्षा स्याल, अधिवक्ता

रक्षा वस्याल

यो निर्णयले मलाई पनि एकदम अचम्मित तुल्याएको छ।

उदाहरणका लागि मेरो दुईवटा बच्चा भारतमा पढ्छन्। मसँग पनि केही भारु छ।

त्यसैले कमसेकम यसको केही व्यवस्थापन गर्न हामीले केही समय पाउनुपर्‍यो नि।

पुराना नोट ब्याङ्कमा लैजाँदा पनि बुझ्ने काम भएन, ती नोट अझै हामीसँग नै छन्।

हामीजस्ता अभिभावकसँग केही भारु हुनु स्वाभाविक हो नि।

तर एक्कासि गरिएको यस्तो निर्णयले आमजनतामा राम्रो प्रभाव पार्छ जस्तो मलाई लाग्दैन।

अचानक गरिएको यस्तो निर्णय ठिक होइन। मलाई थाहा छैन मसँग भएको केही भारतीय रुपैयाँलाई म के गर्छु।

अनुप कार्की, पथप्रदर्शक

अनुप कार्की

भारतमा भएको नोटबन्दी या नेपालमा भएको भारतीय नोट प्रतिबन्ध गर्ने कुराहरु भनेको राजनीतिमा आधारित विषय हुन् जस्तो मलाई लाग्छ।

त्यसकारण कोसँग कुन नोट छ हामी सर्वसाधारणलाई थाहा नहुने वा चासो नभएको कुरा हो।

तर यो समस्याको मुख्य स्रोत पत्ता लगाएर समाधान खोजेर काम गर्ने जिम्मा नेपाल र भारतको सरकारको हो।

सुमन तिमल्सिना, व्यवसायी

सुमन तिमल्सिना

यो निर्णयलाई चेतावनी स्वरुप लिनुपर्छ। यो निर्णयबाट हामीजस्ता व्यवसायीलाई धेरै असर परेको छ।

किनकि हामीसँग भएको भारतीय रूपैयाँ कागज बराबरको भयो। निश्चित म्याद दिएर निर्णय गरेको भए सर्वसाधारणलाई असर पर्ने थिएन।

सीमा क्षेत्रका मानिसहरुलाई त झन् दैनिक गुजारामा समेत प्रभाव पार्छ।