संयुक्ता श्रेष्ठ: फेसन डिजाइनर बन्न कसरी बुवालाई मनाउन सफल भइन्
- Author, विनिता दाहाल
- Role, बीबीसी न्युज नेपाली
सत्र वर्षकी हुँदा संयुक्ता श्रेष्ठले फेसन डिजाइनिङ पढ्छु भन्दा उनका आमाबुवा खुसी भएनन्।

तस्बिर स्रोत, SANYUKTA SHRESTHA/Facebook
बरु भने, "तिम्रो पढाई राम्रो छ। विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियर बन।"
उनी तिनै संयुक्ता हुन्, जो अहिले बेलायतको प्रतिष्ठित फेसन डिजाइनर अवार्ड 'द ब्रिटिश ब्राइडल वेडिङ अवार्ड २०१९' का लागि छनोट भएकी छन्।
तर आजभन्दा २० वर्षअघि एसएलसी सकेर बसेकी उनलाई घरमा आर्टस् पढ्छु भन्न धेरै पापड बेल्नु परेको थियो।
अन्तत: उनले घरमा भनिन्, "म साइन्स हैन आर्टस् पढ्छु।"
सङ्घर्ष
धेरै कर गरेपछि उनलाई आमाबुवाले आर्टस् पढ्न त अनुमति दिए तर त्यो अङ्ग्रेजी साहित्य पढ्नका लागि थियो।
उनको मनको हुटहुटी त्यो पढिरहँदा पनि थामिएन। उनले फेरि भनिन्, "मलाई डिजाइनिङ नै पढ्नु छ।"
"त्यतिबेला मेरा आमाबुवालाई कन्भिन्स गर्न त धेरै गाह्रो भयो। त्यसको धेरै लामो कथा छ," उनले त्यो कथालाई संक्षेपमा सुनाइन्, "अन्तत: दिदीले आमाबुवालाई सहमत गराउन मद्दत गर्नुभयो। अङ्ग्रेजी साहित्य छोडेर डिजाइनिङ पढ्दा मेरो कलेजको पहिलो फी पनि दिदीले नै दिनुभयो।"
उनले काठमाण्डूमै त्यो ताका खुलेको एउटा फेसन र इन्टेरियर डिजाइन पढाउने कलेजमा पढ्न सुरु गरिन्।

तस्बिर स्रोत, SAMYUKTA SHRESTHA
उनले दुई मध्ये फेसन रोजिन्। उनलाई लाग्छ, यदि इन्टेरियर रोजेकी भए अहिले यात्रा फरक हुने थियो। आफूलाई मन परेको काम उनले पढ्न मात्रै थालिनन्, त्यसै अनुसार काम पनि गर्न थालिन्।
उनले त्यतिबेलै मिस नेपालका लागि पनि पोशाक डिजाइन गर्ने अवसर पाइन्। र, पहिलोपटक नै उनले उक्त डिजाइनका लागि 'बेस्ट डिजाइनर' को अवार्ड जितिन्।
यो सन् १९९८ को कुरा। उनी १७ वर्षकी थिइन्।
बुवाको सुझाव

तस्बिर स्रोत, SANYUKTA SHRESTHA
त्यो उमेरमा अवार्ड जितेपछि उनलाई आफ्नो सपना पच्छ्याउने थप उर्जा मिल्यो। मिस वर्ल्ड र मिस एसिया प्यासिफिकमा प्रतिस्पर्धा गर्नेका लागि पनि डिजाइन गर्ने अवसर पाइन्।
त्यसपछि थुप्रै चलचित्रका लागि पनि 'कस्ट्यूम डिजाइन' को काम हात लाग्यो। उनका धेरै साथीहरू किशोरावस्थामा कलेजका रमाइला दिन बिताइरहँदा उनी भने पेशामै व्यस्त हुन थालिसकेकी थिइन्।
सन् १९९८ मा पढाई र करियर एकसाथ सुरु गरेदेखि उनलाई कामले फुर्सदै हुँदैन थियो। त्यो बीचमा उनले थाहा पाइन्, सुरुमा फेसन डिजाइन नपढ्न कर गर्ने बुवा त्यसैमा थप अध्ययन गर्न हौसाउने भइसकेका थिए।
"बुवाले एक दिन तिमीले यही पेशामा राम्रो गर्ने रहिछौ, राम्रो विश्वविद्यालयमा थप अध्ययनका लागि कोशिश गर," बुवाले सन् २००३ मा दिनुभएको सुझाव सम्झँदै उनले भनिन्।
उनलाई त्यसपछि आफ्नो सपना पच्छ्याउन 'परिवार रुष्ट छन्' भन्ने मनमा भएको सानो दुबिधा पनि हट्यो।
उनले लण्डनको 'कलेज अफ फ्यासन'बाट फेसन डिजाइनिङमा ग्र्याजुएट गरिन्। पढाई सक्दा नसक्दै उनलाई थुप्रै अवसर आउन थाले।
उनले विश्वका ठूला ठूला सेलिब्रेटीलाई ड्रेस डिजाइन गर्न थालिन्।

तस्बिर स्रोत, SAMYUKTA SHRESTHA
बुवाको मन जितेँ
धेरै अन्तर्राष्ट्रिय उपाधि जितिसकेकी उनले सोप्रानो लाउरा राइट, फिफ्थ हार्मोनी र भिक्टोरिया सिक्रेटकी सुपर मोडल क्यान्डिस स्वप्निलपोइललाई ड्रेस डिजाइन गरिसकेकी छन्।
उनैले डिजाइन गरेको लुगालाई लण्डनको फ्यासन म्युजियममा समेत राखिएको छ, जहाँ प्रख्यात डिजाइनरहरू एलेग्जेण्डर मक्क्वीन, भिभिएन वेस्टवुडले डिजाइन गरेको लुगाहरू राखिएको छ।
अहिले लण्डनमा उनको नामको बेहुली बुटिक छ। उनको दक्षता खासगरी बेहुलीले लगाउने पोशाकमा छ र उनले ती पोशाक बनाउँदा चाहिने कच्चा पदार्थ आधाभन्दा बढी नेपालकै प्रयोग गर्छिन्।
"मैले डिजाइन गरे पनि मैले बनाउने धेरै लुगाहरू नेपालमै त्यहीँको सामानहरू प्रयोग गरेर बन्छ," उनले भनिन्, "म त्यहाँ एउटा समूहसँग आबद्ध छु त्यहीँका महिलाहरूले पनि धेरै काम गर्नुहुन्छ।"
उनी अहिले बेलायतको प्रतिष्ठित उपाधिका लागि छनोट भए पनि उनले सन् २०११ देखि नै अन्तर्राष्ट्रिय अवार्डहरू पाउन थालेकी थिइन्।
गत वर्ष लण्डनस्थित मारियोट होटलमा सञ्चालन हुने 'ब्रिटिश एशियन वेडिङ अवार्डस् २०१७' अन्तर्गत वेष्ट डिजाइनर विधामा पनि उनी मनोनित भएकी थिइन्।
दुलहीका लागि बनाउने पोशाक डिजाइन गर्न वर्षौंको अनुभव चाहिने बताइन्छ।

तस्बिर स्रोत, SANYUKTA SHRESTHA/Facebook
अहिले 'द ब्रिटिश ब्राइडल वेडिङ अवार्ड २०१९' मा छानिएका ११ प्रतिस्पर्धी मध्ये ३७ वर्षीया संयुक्ता सबैभन्दा कान्छी हुन्।
"विश्वभरी नै दुलहीका लागि ड्रेस डिजाइन गर्ने भनेको २०/२५ वर्ष अनुभव भइसकेकाहरूले हो। अहिले मसँगै छनोट हुनेहरू पनि ४५/५० वर्षमाथिकै हुनुहुन्छ।"
सन् १९८१ मा जन्मिएकी उनले १७ वर्ष हुँदा पेशा सुरु गरिन्। २० वर्षअघि उनी आफ्नो परिवारलाई आफ्नो रुची अनुसारको पेसा रोज्न मनाउँदै थिइन्। त्यसको २० वर्षमा उनी विश्वस्तरीय डिजाइनर बनिसकिन्।
"तपाईँ अहिले जुन उपाधिका लागि मनोनयनमा पर्नु भएको छ, तपाईँको करियरमा त्यो कति महत्त्वपूर्ण छ?" बीबीसीको प्रश्नमा संयुक्ता भन्छिन्, "निकै महत्त्वपूर्ण छ। तर मैले मेरो जीवनमा सबैभन्दा ठूलो उपाधि मेरो बुवाको मन जितेको दिन नै पाएकी थिएँ।"
उनले इच्छा भएर पनि बुवाआमाको करकापमा अर्को विषय पढ्ने युवाहरूलाई सम्बोधन गर्दै भनिन्, "आफूलाई मन लागेको काम गर्नुपर्छ, सपना देख्नुपर्छ र त्यसलाई पूरा गरेरै छोड्न सबै अप्ठ्यारा पार गर्ने हिम्मत राख्नुपर्छ।"








