तेजाब हमलाले खोस्न सकेन मोडलको हिम्मत

तस्बिर स्रोत, MEDIASET
तेजाब आक्रमणले अनुहारको सुन्दरता बिगारिदिए पनि एक पटक मिस इटली प्रतियोगिताको अन्तिम चरणमा पुगेकी जेसिका नोट्यारो सील नामको स्तनधारी जनावरलाई प्रशिक्षण दिन थालेकी छन्।
अठ्ठाईस बर्षिया मोडल नोट्यारोले आफू जस्तै अन्य महिलालाई त्यस्ता अपराधविरुद्ध लड्न प्रेरणा मिलोस् भनेर काममा फर्केको बताइन्।
उनले आफूले काम गर्ने पूर्वी इटलीस्थित एक्वेरियममा सीलसँगै खिचिएको आफ्नो फोटो सामाजिक सञ्जालमा राखेकी छन्।
उनीमाथि तेजाब आक्रमण गरेको आरोप लागेका उनका केटा साथी हाल प्रहरीको नियन्त्रणमा छन्। तर उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।
प्रस्तुती
नोट्यारोले यसै बर्षको अन्त्यतिर रिमनीस्थित एक रिसोर्टको अक्वेरियममा आफ्नो प्रस्तुती दिने बताइएको छ।
तेजाब आक्रमणका कारण उनले देब्रे आँखाको देख्ने शक्ति गुमाउने खतरा पैदा भएको थियो।
त्यसयता उनको देब्रे आँखाको धेरैपटक शल्यक्रिया गरिएको छ र उनको चोट लागेको आँखामा पट्टी बाँधिएको छ।
सीललाई समातेर खिचिएको फेसबुकमा राखिएको तस्विरमा उनले भनेकी छन्, "मेरो शक्ति, हेर्नुस यहाँ छ।"
सामाजिक सञ्जालमार्फत उनले आफ्नो पीडा पोखेपछि आम मानिसको मन त्यसले छोएको पाइन्छ।
गत एप्रिल महिनामा उनले राष्ट्रिय टेलिभिजनमार्फत् आफ्ना पूर्वकेटा साथी जर्ज एड्सन टाभरेसलाई आरोप लगाएकी थिईन्।
उनले भनेकी थिइन, "उसले मलाई के गर्यो भन्ने कुरा म तपाईहरुलाई देखाउन चाहन्छु। यो प्रेम हुन सक्दैन।"

तस्बिर स्रोत, MEDIASET
उनको भनाई थियो, "तेजाब आक्रमणमा मेरो मुहार जल्दा भगवानसँग प्रार्थना गरेकी थिएँ, 'मेरो सम्पूर्ण सुन्दरता लैजाउ तर मेरो दृष्टि बाँकी राखिदेउ।'
अघिल्लो ग्रीष्म याममा उनीहरुको सम्बन्ध टुटेको थियो।
त्यसपछि पनि उसले नोट्यारोलाई पछ्याउन नछाडेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो।
गत जनवरी महिनाको १० तारिखका दिन यी मोडलमाथि एकजना मान्छेले हाइड्रोक्लोरिक नामको तेजाब प्रहार गरेको थियो, उनले त्यो व्यक्ति टाभरेस भएको किटान गरेकी थिइन्।








