श्रृङ्खला खतिवडालाई अफगानिस्तान खटिएका गोर्खा सैनिकको समर्थन

तस्बिर स्रोत, Instagram/Shrinkhala
चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडाले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरूको समेत समर्थन पाएर आफू भावविह्वल भएको बताएकी छन्।
चीनको हाइनान प्रान्तको सान्या नगरमा जारी मिस वर्ल्ड प्रतियोगितामा सहभागी नेपाली युवती श्रृङ्खला खतिवडालाई विश्वभरबाट समर्थन आउने क्रम जारी छ।
उनलाई शुभकामना दिँदै समर्थन गर्नेहरूको सूचीमा अहिले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरू पनि थपिएका छन्।
एक भिडिओ सन्देशमा ती सैनिकहरूले भनेका छन्, "श्रृङ्खला यसरी नै अभिप्रेरित रहिरहनु।"

तस्बिर स्रोत, Instagram/Shrinkhala
आफ्नो इन्स्टाग्राममा गोर्खा राइफल्सका सदस्यहरूले पठाएको भिडिओ सन्देश राख्दै तीन दिनअघि खतिवडाले लेखिकी छन्, "अफगानिस्तान देखि ब्रिटिश सेनाको रोएल गोर्खा राइफल्सका सदस्यहरूबाट प्राप्त समर्थनका कारण म भावविह्वल भएकी छु। यसले मेरो लागि धेरै अर्थ राख्दछ। आभारी।"
सन्देशमा के छ?
उनलाई पठाएको सन्देशमा ब्रिटिश गोर्खामा कार्यरत नेपाली युवकहरूले लेखेका छन्, "अहिले अफगानिस्तानमा खटिएका फर्स्ट बटालियन रोएल गोर्खा राइफल्समा कार्यरत सैनिकहरू श्रृङ्खला खतिवडालाई आगामी मिस वर्ल्ड प्रतियोगितामा सफलताको लागि शुभकामना दिन चाहन्छौँ।"
श्रृङ्खला खतिवडालाई इन्स्टाग्राममा ३ लाख ३० हजार जनाले पछ्याइरहेका छन्।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
प्रतियोगीहरू अन्तिम चरणको प्रतिस्पर्धातर्फ अघि बढ्दै गर्दा खतिवडालाई विश्वभर छरिएका नेपालीहरूको समर्थन आउने क्रम जारी रहेको देखिन्छ।
नेपालीहरूसँग भेट

तस्बिर स्रोत, Instagram/Shrinkhala
मिस वर्ल्ड प्रतियोगिता अन्तर्गत केही दिनअघि आयोजित हाइनान पर्यटन मेलाका अवसरमा सान्या पुगेको एउटा नेपाली टोलीले खतिवडालाई भेटेर शुभकामना दिएको थियो।
उनले लेखेकी छन्, "विदेशी भूमिमा नेपालीहरूलाई भेट्दाको खुसी पनि अमूल्य हुँदो रहेछ।"
मिस वर्ल्डको वेबसाइटमा राखिएको जानकारी अनुसार यसपाली जारी प्रतियोगिताको ६८ औं संस्करण आगामी डिसेम्बर ८ तारिखसम्म चल्दैछ।
त्यो दिन गत वर्षकी मिस वर्ल्ड विजेता मानुषी चिल्लरले नयाँ विजेतालाई मिस वर्ल्डको ताज पहिर्याउँने कार्यक्रम छ।








