'घर बाहिर गएकी महिलाको यौन व्यवहारबारे प्रश्न उठाइन्छ'

बेचबिखन

बेचबिखनमा परेका महिलाहरूको उद्धार गरिएपनि उनीहरूको पारिवारिक र सामाजिक पुनर्मिलन गराउन नसक्दा उनीहरू फेरि पनि बेचिने संभावना निकै धेरै रहेको त्यस क्षेत्रमा कार्यरत अभियानकर्मीले बताएका छन्।

उनीहरू भन्छन्-बेचबिखनमा परेकाहरू यौन शोषणमा परेका हुन्छन् भन्ने गलत बुझाइका कारण परिवारसँग पुनर्मिलन गराउन कठिन देखिन्छ।

बेचबिखनमा परेकाहरूको उत्थानका लागि सरकारी प्रयास पनि पर्याप्त नभएको अधिकारीहरू नै स्वीकार गर्छन्।

शोषण

मध्यमाञ्चलकी एक जना महिला एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर सरसफाइको काम गर्न भनी कुवेत गएकी थिइन्।

तर त्यहाँ पुगेपछि घरेलु कामदारको रूपमा काम गर्न बाध्य पारिएको उनले बताइन्।

नेपालमा हुँदा कबोल गरिएको भन्दा आधा मात्रै पारिश्रमिक पाएपछि उनी आफूमाथि शोषण भएको भन्दै आफ्नै पैसाले टिकट किनेर नेपाल फर्किन्।

तर स्वदेश फर्किए पनि ३६ वर्षीया ती महिला हाल आफ्ना तीन सन्तान सहितको परिवारसँग बस्न पाएकी छैनन्।

"बेचबिखनमा परेको भनेको यौन हिंसामा परेको भन्ने खालका अभिव्यक्ति घुमाउरो पारामा छरछिमेकबाट आउन थालेपछि अहिले म एउटा संस्थाले काठमाण्डूमा संचालन गरेको आवास गृहमा बसिरहेकी छु," उनले भनिन्। "अब म नेपालमै बसेर केही गर्न चाहन्छु।"

अडिओ क्याप्शन सुरु हुँदैछ, महिला हिंसा: चाड-पर्वजस्तो मात्रै अभियान गरेर पुग्दैन

कमा

मानव बेचबिखन र नियन्त्रण ऐनले कुनै पनि उद्देश्यका लागि किनबेच गर्नु, कुनै फाइदा लिएर या नलिएर कसैलाई वेश्यावृत्तिमा लगाउनु, कानुनले तोके विपरीत कसैको शारीरिक अंग निकाल्नु आदि कार्यलाई मानव बेचबिखन भित्र पर्ने उल्लेख गरेको छ।

जानकारहरूका अनुसार आजभोलि बेचबिखनको तरिकामा परिवर्तन आएको छ।

आजभोलि महिलाहरू आकर्षक रोजगारीको प्रलोभनमा बेचिने गरेका छन्। जसमध्ये धेरै जसो युवतीहरू खाडी मुलुक पुग्छन् भने कतिपयलाई आफ्रिकी मुलुकहरूबाट पनि उद्धार गरिएको छ।

यसरी राम्रो पारिश्रमिक पाइने कामको प्रलोभनमा पर्ने मध्ये धेरै जसो अशिक्षित महिला हुन्छन्।

उनीहरूको निम्ति घरको ढोका खुल्छ कि खुल्दैन वा घरायसी वातावरण प्रिय वा अप्रिय हुन्छ भन्ने कुरा त्यस्ता महिलाले गर्ने आम्दानीमा निर्भर हुने ठम्याइ त्यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी एक अभियानकर्मी मन्जु गुरुङको रहेको छ।

ङ्ख्या

उनी भन्छिन्, "धेरै पैसा कमाएर आयो भने मेरी छोरी वा बुहारी भन्छन् तर पैसा कमाउन सकेन र अप्ठ्यारोमा परेर आयो भने उनीहरूलाई सहारा दिने कोहि हुँदैन।"

अवैध हातहतियार तथा लागूपदार्थ ओसारपसारपछि विश्वमै धेरै हुने अपराधमध्ये मानव बेचबिखन हो।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ सालमा १३ सयभन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको थियो।

त्यो संख्या बढ्दै गएर २०७३/७४ साल सम्म करिब २१ सय पुग्यो।

काठमाण्डू, मकवानपुर, रुपन्देही, बाँके, कन्चनपुर, झापा, बर्दिया, पर्सा, सुनसरी, नुवाकोट लगायतका जिल्ला बेचबिखनको बढी जोखिमा रहेको बताइन्छ।

आवश्यकता

विभिन्न किसिमका हिंसामा परेका महिलालाई त्यस्ता डरलाग्दो भोगाइका कारण परेको मानिस त्रास कम गर्न सबैभन्दा बढि सामाजिक मनोपरामर्शको खाँचो हुने गरेको बताइन्छ।

मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी भन्छिन्, "तितो भोगाइ र समाजले हेयको दृष्टिले हेर्ने भएकोले बेचबिखनमा परेका महिलालाई मनोसामाजिक परामर्शको आवश्यकता एकदम धेरै हुन्छ।"

"उनीहरू भित्र आत्मसम्मानको भावना ल्याउन एकदम जरूरी छ। यस्तै परामर्श उनीहरूका परिवारका सदस्यलाई पनि दिनु पर्ने देखिन्छ। हामीकहाँ यस्तो सुविधा दिइन्छ तर त्यो पर्याप्त भने छैन।"

महिला बेचबिखन

मानव अधिकार आयोगले मानव बेचबिखन सम्बन्धि प्रतिवेदन निकाल्ने गरेको छ।

मानव बेचबिखन रोक्नका लागि र यस्तो अपराधबाट प्रभावित भएकाहरुको सामाजिक उत्थान गर्नका लागि सरकार र गैर सरकारी निकायहरूले थुप्रै कार्यक्रमहरू संचालन गरेका छन्।

तर तिनले सोचे अनुरुप प्रतिफल दिन नसक्नुमा समाजिक सोच पनि एक प्रमुख कारण रहेको बेचबिखनविरुद्ध लागेकी एक अधिकारकर्मी चरिमाया तामाङको भनाइ छ।

"हामीकहाँ घर बाहिर गएकी महिलाको यौन व्यवहारका बारे सँधै प्रश्न उठाइन्छ। सबैले उसका बारेमा कुरा गर्न थाल्छन् र उसले यसबारे जीवनभर उत्तर दिइ राख्नु पर्छ त्यसैले धेरै दिदिबहिनी आफ्नो वासस्थानमा गएर बस्न सक्दैनन्," उनी भन्छिन्।

"आफ्नो परिवारसँग पुनर्मिलन हुन नसक्नु भनेको उनीहरू माथि मानसिक पीडा थपिनु हो।"

"आत्मविश्वास बलियो हुन नसकेको र कसैको सहारा खोजीरहेको तर परिवारको सहयोग नपाएको अवस्थामा उनीहरू फेरी दलालको प्रलोभनमा फस्ने गरेको हामीले भेटेका छौं।"

स्विकार

सरकारले पुनर्स्थापना केन्द्रमा सीप विकास कार्यक्रमहरू संचालन गर्ने गरेको छ। तर त्यो पर्याप्त नभएको गुनासो समय-समयमा सुनिन्छ।

सरकारी अधिकारीहरूले पनि त्यो कुरा नकार्न सकेका छैनन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा बेचबिखन शाखाकी प्रमुख रोशनी कार्कीले भनिन्, "पर्याप्त मात्रामा मनोपरामर्श दिने चिकित्सकहरू पनि पाउन सकिएको छैन। सामाजिक पुनर्मिलन भनेको सजिलो कुरा हैन हामीले ६ महिना भित्र सामाजिक पुनर्मिलन गर्न पर्छ भनेका हौं।"

"तर विभिन्न कारणले गर्दा थुप्रै दिदीबहिनीहरू लामो समयदेखि हामीले संचालन गरेका पुनर्स्थापना केन्द्रमै हुनुहुन्छ।"

सरकारले बेचबिखनमा परेका महिलाका लागि हाल देशभर १० वटा पुनर्स्थापना केन्द्र संचालन गरेको छ।

सुझाव

यसरी पुनर्स्थापना केन्द्र चलाउनका लागि सरकारले एक करोड रुपैयाँको बजेट बिनियोजन गरेको जनाएको छ।

अमेरिकी सरकारले हरेक वर्ष प्रकाशन गर्ने 'ट्राफिकिङ इन पर्सन' प्रतिवेदनले पनि बेचबिखनमा परेकालाई समाजमा पुनर्वास गर्न सरकारले पर्याप्त काम गर्न नसकेको ‍औंल्याउँदै आएको छ।

जानकारहरू भन्छन् बेचबिखनमा पर्नुमा पीडित महिलाकै दोष हो भन्ने सोच परिवर्तन गर्न नसक्दासम्म उनीहरूको सामाजिक पुनर्मिलन गर्न संभव हुँदैन।