'मेयरका लागि गाडी किन्ने, दमकल किन्न नसक्ने?'

झापामा आगलागीबाट ध्वस्त भएको घर
तस्बिरको क्याप्शन, झापाको शिवसताक्षी नगरपालिकास्थित एउटा घरमा भएको आगलागीमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन्
    • Author, उमाकान्त खनाल
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली

आफ्नै घरमा आगो लाग्दा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर सात लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएपछि नगरपालिकाका जनप्रतिनिधिप्रति स्थानीयवासीले आक्रोश पोखेका छन्।

उनीहरूको भन्छन्, "मेयर चढ्ने गाडी किन्न सक्ने, तर आगो निभाउने दमकल किन्न किन नसक्ने?"

शिवसताक्षी नगरपालिका वडा नम्बर आठका हेमराज पाण्डेले नगरपालिका सुगम क्षेत्रमा रहे पनि जनप्रतिनिधिले दमकल किन्न चासो नदेखाएको भन्दै दुखेसो पोखे।

उनको आक्रोश छ, "झापाको यो नगरपालिका पूर्वपश्चिम राजमार्गले भेट्छ। जहाँ पनि गाडी पुग्छ। मेयर चढ्ने गाडी ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेर किन्ने तर एउटा दमकल राख्न नसक्ने?"

'क्षमता छैन'

उनले विगतमा पनि सोही नगरपालिका हाताभित्र परिवारै सखाप हुनेगरी आगलागी भएको सुनाए।

आइतवार राति भएको आगलागीमा परी ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया सुप्रिया खनाल तथा तीन महिनाका टीकाराम खनालको मृत्यु भएको थियो।

नगरपलालिका कार्यालय
तस्बिरको क्याप्शन, शिवसताक्षी नगरपालिकाकामा मेयर र उपमेयरका निम्ति गाडी छ तर दमकल छैन

नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले आलोचना भए जस्तो आफूहरूले सुविधा नलिएको दाबी गरिन्।

दमकल राख्ने आर्थिक क्षमता र जनशक्ति नगरपालिकासँग नभएकाले किन्न नसकेको उनको तर्क छ।

उनले भनिन्, "हामीले मेयरका लागि भनेर एउटा गाडी किनेका हौँ। म चढ्ने गाडी त पुरानै हो। हामी एक्लैले दमकल राख्न नसक्ने भएकाले अहिलेसम्म किनेका छैनौँ।"

'तथ्याङ्क छैन'

लामो समयपछि बनेका स्थानीय सरकारका कैयौँ जनप्रतिनिधिले आफ्नो गाडीलगायत विभिन्न सेवासुविधालाई प्राथमिकता दिएको भन्दै व्यापक आलोचना भएको छ।

तर आगलागी नियन्त्रणको निम्ति आवश्यक दमकल र बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सजस्ता साधन कति स्थानीय तहसँग छन् त?

सङ्घीय मामिला मन्त्रालयका अनुसार त्यस्तो तथ्याङ्क केन्द्रीय सरकारलाई प्राप्त भएको छैन। विपद् व्यवस्थापनको दायित्व स्थानीय सरकारकै रहेको उसको बुझाइ छ।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया भन्छन्, "विपद् कहिले आउँछ भन्ने कुरा थाहा हुँदैन। विपद् व्यवस्थापनको जिम्मेदारी स्थानीय सरकारमा छ। उसले दमकलको व्यवस्था गर्न सक्छ।"

दमकल

पछिल्लो समय स्थानीय सरकार बनिसकेपछि कति नगरपालिकाले दमकल किने भन्ने जानकारी मन्त्रालयसँग छैन।

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाकी अधिकृत सीता दवाडीका अनुसार नगरपालिकाहरूले दमकल भए नभएको जानकारी मन्त्रालयमा पठाएका छैनन्।

तर आगलागी जस्तो विपद् व्यवस्थापनमा नगरपालिकाले चासो दिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।