चालकले जुत्ताको सट्टा चप्पल लगाउँदा के हुन्छ

सवारी
    • Author, उमाकान्त खनाल
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली

यात्रु तथा आफ्नै सुरक्षाका लागि जुत्ता लगाउनुपर्ने नियम भनिए पनि धेरै सवारी चालक सवारी चलाउँदा जुत्ता लगाउने गरेको देखिँदैनन्।

जुत्ताको सट्टा उनीहरूले चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउने गरेका छन्।

चप्पल लगाएर सवारी चलाउँदा चप्पल चिप्लेर खुट्टाले चलाउने उपकरण समयमा चलाउन नसक्दा दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन्।

यातायात व्यवस्था विभागका अधिकारीहरू भन्छन्, जनशक्ति अभावका कारण सवारी चालकले जुत्ता लगाएको वा नलगाएको भन्ने अनुगमन गर्न सकिएको छैन।

गाह्रो

सवारी चालकले जुत्ता लगाउनुको सट्टा चप्पल लगाएका कारण चप्पल चिप्लेर खुट्टाले समयमा ब्रेक तथा क्लच लगाउन नपाएर सवारी दुर्घटना भएको समाचार बिर्तामोड झापाकी सञ्जु बस्नेत थापाले धेरै पटक सुनेकी रहिछन्।

उनी भन्छिन्, यसबारे सरकारी निकायले कडाई गर्नैपर्छ। तर एक सवारी चालक पहलमान लिम्बुले भने, "बेलाबेला हिलोमा पस्नुपर्छ अनि गाह्रो हुन्छ।"

अर्का चालक भीमबहादुर राईले भने कोही बेला जुत्ता लगाएर सवारी चलाउने गरेको बताए।

चालक

उनले भने, "कोही बेला त मैले पनि जुत्ता लगाउने गरेको छु। हतारमा हिँड्नु पर्दा गाह्रो हुन्छ।"

प्रदेश नं. १ भने सवारी चलाउँदा जुत्ता नलगाउने चालकलाई जरिवाना गर्न शुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रमुख राजेश राईले बताए।

अनुगमन

यातायात व्यवस्था विभागका कर्मचारीहरूका अनुसार सवारी चालक अनुमतिपत्र वितरण निर्देशिकामा सवारी चलाउँदा जुत्ताको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

तर कर्मचारी अभावमा त्यसको अनुगमन गर्न नसकेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

"हामीले अनुगमन गर्न नसकेको हो। हामीसँग पर्याप्त जनशक्ति नभएकाले पनि अनुगमन गर्न नसकेका हौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, मेरुदण्ड भाँचिएर थलिएका चालक

तर काठमाण्डू महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले चालकले जुत्ता अनिवार्य लगाउनैपर्ने नियम छुट्टै बने ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्ने बताए।

प्रदेश नं. १ मा भने अहिलेलाई सार्वजनिक सवारीसाधनका चालकका लागि र पछि सबै किसिमका सवारीसाधनका चालकलाई जुत्ता अनिवार्य गरिने ट्राफिक प्रहरीका अधिकारीहरूले बताएका छन्।