अफगानिस्तान: स्थानीय प्रहरी प्रमुख मारिएपछि चुनाव स्थगित

अफगानिस्तान

तस्बिर स्रोत, AFP

अफगानिस्तान सरकारले दक्षिणी कन्दाहार प्रान्तमा भएको गोलावारीमा एक जना स्थानीय प्रमुखको ज्यान गएपछि शनिवारको संसदीय चुनाव एक साताका लागि स्थगित गरेको छ।

उक्त घटनामा जेनेरल अब्दुल राजिकसँगै कन्दाहर प्रान्तका गुप्तचर प्रमुखको पनि ज्यान गएको थियो।

राष्ट्रपति असरफ गनीका एक जना प्रवक्ताले राष्ट्रिय सुरक्षा परिषद्को एउटा विरलै हुने बैठकपछि भोलि हुने भनिएको संसदीय चुनाव एक साताका लागि स्थगित भएको घोषणा गरेका हुन्।

सुरक्षा फौजको पोशाक लगाएका एक जना बन्दुकधारीले बिहीबार वरिष्ठ अफगान र अमेरिकी अधिकारीहरूको भेलामा गोली चलाएका थिए।

दबाब

तालिबानले आफूले उक्त हमला गरेको जनाएको छ। तर बीबीसी संवाददाताले भने इश्लामवादी समूहले चुनाव पछि धकेल्न दबाब दिने आफ्नो योजनामा जीत हासिल गरेको जनाएका छन्।

अफगानिस्तानमा रहेका अमेरिकी कमान्डर जेनेरल स्कट मिल्लरले आफू तालेबान हमलाको निशानामा परेको विश्वासै गर्न नसक्ने बताएका छन्।

कन्दाहारस्थित क्षेत्रिय गभर्नरको कार्यालय परिसरमा भएको उक्त घटनामा उनी घाइते हुनबाट जोगिएका थिए। उक्त गोलावारीमा एकजना सैनिकसहित तीन अमेरिकी नागरिक घाइते भएका छन्।

सहयोग जारी

अमेरिकी जेनेरलले अन्तर्राष्ट्रिय फौजले अफगानी समकक्षीहरूलाई सहयोग जारी राख्ने बताएका छन्।

अफगानिस्तानको सञ्चारमाध्यमका अनुसार शनिबारको संसदीय चुनाव हुनुअघि गर्भरनर कार्यालय परिसरमा एक उच्च स्तरीय सुरक्षा बैठक भएको केहीबेरमै बन्दुकधारीले गोली चलाएका थिए।

अफगानिस्तानमा नेटोका १४ हजारभन्दा बढी फौज रहेका छन्।