सबरीमाला मन्दिरमा हिन्दु कट्टरपन्थी र प्रहरीबीच झडप

तस्बिर स्रोत, Getty Images
भारतको दक्षिणी राज्य केरलास्थित एक प्रसिद्ध मन्दिरमा सबै महिलाहरूलाई प्रवेश गर्न दिनु भनी सर्वोच्च अदालतले गरेको निर्णयविरूद्ध भइरहेको प्रदर्शनको दोस्रो दिन आक्रोशित हिन्दू कट्टरपन्थीहरू र प्रहरीबीच झडप भएको छ।
सर्वोच्च अदालतले गत महिना महिलाहरूको प्रार्थना गर्ने अधिकारको उल्लंघन भएको भन्दै १० देखि ५० वर्षसम्मको उमेरका महिलाहरूलाई सबरीमाला मन्दिर प्रवेशमा लगाइएको प्रतिबन्ध उल्ट्याइदिएको थियो।
आक्रोसित हिन्दु धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णय अनुसार केरालाको एक पवित्र मन्दिर सवरीमाला भित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका छन्।
केरलामा आक्रोसित प्रदर्शनकारीहरूको भीडले महिला धर्मावलम्बीहरूमाथि बल प्रयोग गरेका थिए जसका कारण थुप्रै महिलाहरू त्यहाँबाट फर्किए।
प्रदर्शन
प्रदर्शनकारीहरूले सवारीसाधनहरूलाई ढुंगा हानेका थिए र प्रहरी अधिकारीहरू माथि खनिएका थिए ।
उनीहरूले गरेको यस्तो हमलाको क्रममा केही मानिसहरू र एक वृद्ध महिला घाइते भएकी छिन्।
हिन्दू धर्मले रजस्वला भएको महिलाहरूलाई अशुद्ध मान्दछ र यस्तो समयमा उनीहरूलाई धार्मिक क्रियाकलापमा भाग लिनबाट रोक्दछ।

तस्बिर स्रोत, Getty Images
तर अधिकाशं मन्दिरहरूमा रजस्वला नभएका बेलामा महिलाहरूले प्रवेश पाउने गरेको भए पनि सबरीमाला र अन्य केही मन्दिरमा भने निश्चित उमेरका महिलाहरूलाई त्यहाँ प्रवेश गर्नै दिइँदैनथ्यो।
फैसला
गत महिना सर्वोच्च अदालतले धर्मको अनुसरण गर्ने अधिकार महिला र पुरुष दुवैलाई भएको भन्दै महिलालाई मन्दिर प्रवेश गर्न दिने फैसाल सुनाएको थियो।
बीबीसी केरलाका संवाददाता जेम्स क्लेटन भन्छन्- गर्मी बढेसँगै प्रदर्शनकारीहरू झन बढी आक्रोसित भएका छन्। सडकमा भेला भएका उनीहरूले सडक अवरूद्ध पार्दै रजस्वला भएका महिलाहरूलाई खोजिरहेका छन्।
उनले भने- यदि उनीहरूले कसैलाई भेट्टाए त्यहाँ ठूलो होहल्ला हुन्छ। हामीले देखेका केही महिलाहरूलाई प्रहरीले सुरक्षा दिएको थियो। बस र कारहरू फिर्ता भए त्यहाँ खुशीयाली हुन्थ्यो।








