फिलिपिन्सस्थित जिन ब्याङ्कमा एक लाख जातका धान संरक्षित

भियतनाम

तस्बिर स्रोत, Getty Images

वैज्ञानिकहरूले एक लाखभन्दा बढी किसिमका धान भविष्यका लागि भनेर संरक्षित गरिएको बताएका छन्।

त्यसका लागि फिलिपिन्समा स्थापित धानको सबैभन्दा ठूलो जिन ब्याङ्कले क्रप ट्रस्टबाट स्थायी कोष पनि जुटाइसकेको छ।

इन्टर्न्याश्नल राइस रिसर्च इन्स्टिट्युटको जिन ब्याङ्कमा सङ्कलित बीउ प्रयोग गरेर खडेरी र बाढी थेग्न सक्ने धान विकसित गर्ने प्रयास भइरहेको छ।

तापमानवृद्धिका कारण खाद्यान्न आपूर्ति नबिथोलियोस् भनेर जिन ब्याङ्कहरूमा बीउ भण्डारण गरिँदै आएको छ।

कीरा र रोग अनि बाढी र सुख्खा थेग्न सक्ने गुण भएका नयाँ बाली विकसित गर्न धानमा आनुवंशिक विविधिता छ।

अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था क्रप ट्रस्टकी कार्यकारी निर्देशक मारिए हागा भन्छिन्, "धनको बीउमा चमत्कार छ। धानको प्राकृतिक विविधतामा तपाईँ आफूले खोजेको लगभग सबै गुण भेट्नुहुन्छ।"

उनका अनुसार धानको बीउ संरक्षण तुलनात्मक रूपमा सजिलो छ र कम तापक्रममा तिनलाई सयौँ वर्षसम्म सुरक्षित राख्न सकिन्छ।

चामल

तस्बिर स्रोत, Getty Images

धान र चामलबारे रोचक तथ्य

  • विश्वभरि मानिसले खाद्यपदार्थबाट ग्रहण हुने कुल क्यालरीको २०% चामलबाट
  • एशियाका ६ देश (चीन, भारत, इन्डोनेशिया, बाङ्ग्लादेश, भियतनाम र जापान) मा ९०% धान उत्पादन
  • विश्वभरि हुने कुल उत्पादन र उपभोगको ८०% यी देशमा मात्रै
रेखा

सन् २०५० सम्ममा चामलको वार्षिक उपभोग ४२ करोड मेट्रिक टनबाट बढेर ५२ करोड ५० लाख मेट्रिक टन पुग्ने अनुमान गरिएको छ।

फिलिपिन्सको लस ब्यानसस्थित इन्टर्न्याश्नल राइस रिसर्च इन्स्टिट्युटले बाढीग्रस्त क्षेत्रमा पनि सप्रिने एकथरी धान विकसित गरिसकेको छ।

जिन ब्याङ्क

तस्बिर स्रोत, IRRI

'स्कूबा राइस' भनेर चिनाइएको सो धान एशियामा वितरित भइसकेको छ।

अफ्रिकामा रोप्न अहिले त्यसलाई अनुकूल बनाइँदैछ।

सो जिन ब्याङ्कका व्यवस्थापक तथा इभ्युलुशनरी बायोलजिस्ट रूरी स्याक्भिल-ह्यामिल्टन धान संरक्षण गर्ने कामबाट विश्वलाई फाइदा पुग्ने कुरा प्रमाणित भइसकेको बताउँछन्।

सङ्कलित र संरक्षित बीउबाट उन्नत जातका धान विकसित गर्न सकिने र उत्पादनमा भोग्नुपर्ने चुनौती एवम् उपभोक्ताको स्वादलाई विचार गरेर तिनको प्रयोग गर्न सकिने उनी बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, खानेकुरा जोगाउने प्रयास