जापान: सम्राटको आलोचना गर्ने धर्मगुरुको राजीनामा

जापानी सम्राट अकिहितो

तस्बिर स्रोत, Reuters

जापानको एउटा विवादित धार्मिक स्थल याशुकुनी मन्दिरले त्यहाँ शीर्षस्थ धर्मगुरुले सम्राटको आलोचना गर्दै व्यक्त गरेका टिप्पणी संचारमाध्यमहरूमा चुहाइएपछि पदबाट राजीनामा दिने बताएको छ।

प्रमुख शिन्टो धर्मगुरु कुनिओ कोहोरीले गत जुन महिनामा एउटा निजी कुराकानीका क्रममा सम्राट अकिहितोले उक्त मन्दिरको भ्रमण नगरेर त्यसलाई नष्ट गर्न खोजेको भन्ने आफूलाई लागेको बताएका थिए।

टोक्योमा अवस्थित उक्त मन्दिरले युद्धमा मारिएका जापानका झन्डै २५ लाख मानिसहरूको सम्मान गर्ने गर्दछ। साथै त्यसले युद्ध अपराधमा दोषी ठहर भएका १४ जना युद्ध अपराधीप्रति पनि सम्मान व्यक्त गर्दछ।

उक्त मन्दिर चीनलगायत अन्य छिमेकीहरूसँग जापानको तनावपूर्ण सम्बन्धको एउटा स्रोत हो।

दु:ख

आगामी वर्ष स्वेच्छाले गद्दी त्याग गर्न लागेका जापानी सम्राटले युद्धका बेला जापानले गरेका अत्याचारका लागि बारम्बार गहिरो दु:ख व्यक्त गर्ने गरेका छन्।

त्यस विषयबारे जापानभित्रै दक्षिणपन्थी समूहहरूसँग उनको विवाद रहने गरेको छ।

जापान

तस्बिर स्रोत, Reuters

युद्धमा मारिएका जापानीहरूको सम्झनामा स्थापित स्मारकस्थलहरूको नियमित भ्रमण गर्ने गरे तापनि उनले याशुकुनी स्मारकमा भने कहिल्यै प्रवेश गरेका छैनन्।

धर्मगुरु कुनिओ कोहोरीले उक्त मन्दिरमा भएको बैठकका क्रममा व्यक्त गरेका आलोचनात्मक टिप्पणीहरूको विवरण स्थानीय 'शुकान पोस्ट' समाचारपत्रले सार्वजनिक गरिदिएको थियो।

आलोचना

यासुकुनी मन्दिर

तस्बिर स्रोत, AFP

सम्राटको आलोचना नगर्ने परम्परालाई अवज्ञा गर्दा ती धर्मगुरुले सम्राट आफू याशुकुनीबाट टाढा बस्न खोजेको पनि बताएका थिए।

उनले सम्राटले गद्दी त्याग गरेपछि युवराज नारुहितो र उनकी श्रीमती मासाकोले पनि सम्भवत: सो युद्धस्मारकको भ्रमण नगर्ने र भावी साम्राज्ञी मासाकोले 'शिन्टो धर्मलाई घृणा गर्ने' पनि भनेका बताइएको छ।

टोक्योस्थित बीबीसी सम्वाददाता रुपर्ट विङ्फिल्ड-हेसका अनुसार ती धर्मगुरुको टिप्पणी जापानमा कट्टरपन्थीहरूले सम्राटलाई कुन दृष्टिले हेर्ने गर्दारहेछन् भन्ने कुराको विरलै सार्वजनिक हुने एउटा उदाहरण हो।