नेपाल आउँदा विदेशी नेताले किन ल्याउँछन् आफ्नै सुरक्षाकर्मी

विदेशी सरकार र राष्ट्र प्रमुखहरूले नेपाल आउँदा आफूसँगै ठूलो संख्यामा सुरक्षाकर्मी ल्याउन थाल्नुले नेपालको सुरक्षाप्रति उनीहरू बढी संवेदनशील बनेको सङ्केत गरेको भूतपूर्व कूटनीतिक अधिकारीहरूले बताएका छन्।
यसै साता राजधानी काठमाण्डूमा हुने दक्षिण र दक्षिणपूर्वी एशियाका सात मुलुकहरू सदस्य रहेको बिम्स्टेक शिखर सम्मेलनका बेला समेत भारतसहित अन्य केही देशका सरकार र राष्ट्र प्रमुखहरूले ठूलो संख्यामा सुरक्षाकर्मी र आफ्नै सवारीसाधन ल्याउने चर्चाबीच उनीहरूको त्यस्तो टिप्पणी आएको हो।
पछिल्ला वर्षमा विश्वभरि नै अतिविशिष्ट नेता लक्षित आक्रमण हुने गरेकाले पनि कतिपयले नेपाललाई समेत संवेदनशील मानेको हुनसक्ने उनीहरूको धारणा छ।
अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा सहभागी हुन होस् वा द्विपक्षीय भ्रमणमा, विशेषगरी भारतबाट आउने विशिष्ट पाहुनाले ठूलो मात्रामा सुरक्षाकर्मी ल्याउने गरेको बताइन्छ।
संवेदनशीलता
विदेशी विशिष्ट पाहुनाले आफ्नो लागि गोली रोक्ने खालका सवारीसाधन पनि ल्याउने गर्छन्।

तस्बिर स्रोत, RSS
सुशील कोइराला प्रधानमन्त्री हुँदा उनका परराष्ट्र सल्लाहकार समेत रहेका पूर्वकूटनीतिज्ञ दिनेश भट्टराई यसलाई नेपालभित्रको सुरक्षाप्रति उनीहरू पहिलेभन्दा थप गम्भीर र संवेदनशील हुन थालेको रूपमा अर्थ्याउँछन्।
उनले भने, "विभिन्न रिपोर्ट हेर्दा संवेदनशीलता बढेको देखिन्छ। तर, जेजति सुरक्षाकर्मी आए पनि आयोजक राष्ट्रकै सुरक्षाकर्मी मातहतमा परिचालन हुने अन्तर्राष्ट्रिय चलन हो। उनीहरूले स्वतन्त्र रूपले भने सञ्चालन गर्नु हुँदैन।"
चार वर्षअघि काठमाण्डूमा भएको १८औँ सार्क शिखर सम्मेलनका बेला सबै सदस्य मुलुकबाट सुरक्षाकर्मी आएको र नेपाली सुरक्षाकर्मीको मातहतमा रहने गरि समन्वय गरिएको उनको भनाइ छ।
चलन
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भने अहिले संसारभरि नै नेतृत्व तहमा रहेका नेताहरूमाथि आतंककारी आक्रमणको खतरा बढेकाले त्यसको असर नेपालमा पनि परेको बताउँछन्।

तस्बिर स्रोत, RSS
उनले भने, "हामीले जति सुरक्षित ठाने पनि उनीहरूले आवश्यकता देखे भने सुरक्षाकर्मी ल्याएरै छाड्छन्। सुरक्षाका मामलामा अरूको केही जोर चल्दैन।"
बिम्स्टेकका लागि एकीकृत सुरक्षा योजना लागु भइसकेको र त्यसैअनुरूप सुरक्षा व्यवस्था मिलाइएको सरकारी अधिकारीहरूले जानकारी दिए।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले हाल भारतसहित अन्य सदस्य मुलुकबाट पनि सुरक्षाकर्मी आउन लागेको पुष्टि गरे।
स्वीकृति
तर उनले कोसँग कति सुरक्षाकर्मी आउँदै छन् भन्ने नखुलाएरै भने, "यसरी सुरक्षाकर्मी आउने कुरा अन्तर्राष्ट्रिय प्रोटोकलको नियम नै हो। हाम्रो सरकारले स्वीकृत गरेर नियमानुसार नै उहाँहरू आउने हो।"
अधिकारीहरू भने नेपाली उच्च नेतृत्वसँग पनि विदेश भ्रमण केही सुरक्षाकर्मी सँगै जाने गरेको बताउँछन्।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विश्वव्यापी चलनअनुसार नै बिम्स्टेक सम्मेलनमा विदेशी पाहुनाले केही सुरक्षाकर्मी ल्याउनु स्वाभाविक रहेको बताए।
नेपालका चारवटै सुरक्षाअङ्गबाट बिम्स्टेकका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताइएको छ।








