नेपालको जित निकै रोमाञ्चक

पारस खड्का

तस्बिर स्रोत, ICC/twitter

तस्बिरको क्याप्शन, अर्धशतक बनाएका पारस खड्काले कप्तानी इनिङ खेले

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अत्यन्त रोमाञ्चक खेलको अन्तिम बलमा विपक्षीलाई रन आउट गरेपछि नेपालले नेदरल्याण्ड्सलाई एक रनले पराजित गरेको छ।

यो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिक्रेट प्रतियोगितामा नेपालको पहिलो जित हो।

जितसँगै दुईवटा एकदिवसीय शृङ्खला १-१ को बराबरीमा टुङ्गिएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४८ दशमलव ५ ओभरमा अलआउट हुनु अगाडि २१६ रन बनाएको थियो।

रोमाञ्चक

जवाफमा जितको नजिक पुगेको आयोजक नेदरल्याण्ड्सलाई नेपाल २१५ रनमा रोक्न सफल भयो।

खेलको अन्तिम ओभर दर्शकको ढुकढुकी बढाउने खालको थियो।

नेदरल्याण्ड्सलाई जितक लागि ६ बलमा ६ रन चाहिएको थियो भने नेपाललाई विपक्षीको एक विकेट लिनुपर्ने थियो।

यस्तोमा कप्तान पारसले बलिङको जिम्मेवारी लिए।

पल भन मिकेरेनले पहिलो र तेस्रो बलमा एक एक रन जोडे। दोस्रो बलमा कुनै रन बनेन।

सोमपाल कामी

तस्बिर स्रोत, ICC/twitter

तस्बिरको क्याप्शन, म्यान अफ द म्याच सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका थिए।

चौथो बलमा फ्रेडरिक ज्याक क्लासेनले २ रन जोडेपछि आयोजकलाई जितका लागि २ बलमा २ रन बनाए पुग्ने अवस्था बन्यो।

तर पाँचौ बलमा पारसले रन बनाउन सकेनन्। त्यसपछि खेलको अन्तिम बलमा आयोजकलाई जितका लागि २ रन आवश्यक थियो।

कप्तान पारसले महत्त्वपूर्ण समयमा नेदरल्याण्ड्सका फ्रेडेरिक ज्याक क्लासेनलाई रन आउट गरिदिएपछि नेपालको जित पक्का भयो।

संयमित ब्याटिङ

एम्सटर्डमको आम्सटलभिन मैदानमा यसअघि कप्तान पारस खड्काले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्हालेका थिए।

ज्ञानेन्द्र मल्ल (१३) र सुभाष खकुरेल (१८) सातौँ ओभरमा आउट भएपछि पारसले अर्धशतकीय साझेदारीमा ५१ रन बनाउँदै टोलीलाई अग्रतातिर डोर्‍याए।

उनले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।

तर खेललाई बलियो स्थानमा ल्याउने भूमिका भने सोमपाल कामीले गरे।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ६१ रन जोडेपछि नेपालले २१६ रन बनाउन सकेको हो।

उनले ५ चौका र ३ छक्का प्रहार गरे। उनी खेलको 'म्यान अफ द म्याच' घोषित भए।

शुरूवात

जवाफमा आयोजक नेदरल्याण्ड्सले निकै राम्रो शुरूवात गरेको थियो।

दुई दिन अगाडि नेदरल्याण्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो।

नेपालले इङल्याण्डबाट यसपालीको भ्रमणको शुरूवात गरेको हो।

त्यहाँ नेपालले टी २० शैलीको त्रिकोणात्मक प्रतियोगिता खेलेको थियो।

लर्ड्स मैदानमा भएको खेलमा नेपालले मार्लबोन क्रिकेट क्लब एमसीसीलाई हराएको थियो भने नेदरल्याण्ड्ससँगको खेल वर्षाले बिथोलिएपछि रद्द भएको थियो।