लर्ड्समा एमसीसीलाई हरायो नेपालले

लण्डनको विश्व प्रसिद्ध लर्डस मैदानमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले ब्रिटेनको एमसीसीलाई हराएको छ।
लण्डनको विश्व प्रसिद्ध लर्डस मैदानमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले ब्रिटेनको चर्चित मार्लबोन क्रिकेट क्लब (एमसीसी) लाई हराएको छ।
आइतबार बिहानैदेखि पानी परिरहेको भए पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीले खेल्न लागेको खेल हेर्न सैयौं दर्शकहरु लण्डनको विश्व प्रसिद्ध लर्डस मैदान पुगेका थिए।
बिहान दश बजेबाट शुरु हुने भनिएको खेल वर्षातका कारण अपरान्ह एक बजेर पचास मिनटमा शुरु भएको थियो।
खेल
पहिले ब्रिटेनको एमसीसी र नेदरल्याण्ड्सको टोलीसंग खेल भएको थियो।
त्यस लगत्तै नेपाली टोलीले एमसीसीसंग खेलेको थियो।
नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको हो। वर्षाको कारण खेललाई ६ ओभरमा छोट्याइएको थियो।
खेलमा नेपालले टस जितेपछि पहिलो फिल्डिङ रोजेर सोमपाल कामीको २ तथा शक्ति गौचनको एक विकेटको मदतमा एमसीसीलाई ६ ओभरमा ४० रनमा रोकेको थियो।
एमसीसीका लागि श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्दनेले सर्वाधिक २४ रन जोडे। बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन्।
जित
जवाफी ब्याटिङमा आएको नेपालले ८ बल खेल्नु अगावै जित हात पार्यो।
नेपालका सुभाष खकुरेलले १६ तथा ज्ञानेन्द्र मल्लले १२ रन जोडेपछि नेपालले सहज जित हात पारेको हो।
अनिल शाह ९ रन बनाएर आउट भएका थिए।
खेल रद्द
आइतबार बेलुका बर्षातका कारण नेपाल तथा द नेदरल्याण्डसबीच भैरहेको खेल रद्द भएको छ।
खेल रोकिनु अघि २० ओभरको खेलमा १७४ रन बनाएको नेदरल्याण्डसको अवस्था बलियो थियो।
नेपाल र नेदरल्याण्डसबीच अर्को खेल नेदरल्याण्डसमै अगष्ट १ र ३ तारिखमा हुनेछन्।
यस अघि नेपाल, एमसीसी र नेदरल्याण्ड्सको टोलीबीच हुनलागेको टी ट्वान्टी खेल हेर्न उपस्थित दर्शकहरु निकै उत्साहित देखिन्थे।
लीड्स शहरबाट आफ्ना साथीहरुसंग खेल हेर्न एकदिन पहिले नै आइपुगेका एकजना नेपाली दर्शक डा. रोशन भट्टराईले भने, "पहिलो कुरा त हामी दर्शकहरुलाई लर्ड्सजस्तो मैदानमा आएर खेल हेर्ने मौका दिएकोमा नेपाली क्रिकेट टोलीलाई धन्यवाद दिन चाहन्छौं। आज हाम्रा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरको भैसकेका छन्। अब हामीले नेपालमा खेलको पूर्वाधार विकासमा जोडदिनुपर्छ।"
यसैगरी आफ्नो छोरा तथा साथीहरुसंग दक्षिणपूर्वी लण्डनबाट खेल हेर्न आइपुगेका एकजना व्यवसायी यादव भण्डारीले पनि दुई वर्ष अघि जस्तै नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने आशा व्यक्त गरे।
हौसला
उनले पानी परिरहेको भएता पनि नेपाली टोलीको हौसला बढाउन छोरा र साथीहरु सहित दक्षिणपूर्वी लण्डनबाट आफुहरु लर्डस मैदान आइपुगेका जनाए।
नेपालको खेल हेर्न बेलायतका विभिन्न क्षेत्रमा रहेका सैयौं नेपाली दर्शकहरु खेलस्थलमा आएका थिए।
एक दिवसीय राष्ट्रको मान्यता पाए पछि नेपालले अन्तर्राष्ट्रिय मैदानमा क्रिकेट खेल्न लागेको यो पहिलो पटक हो।
लर्ड्समा टेष्ट खेल्ने राष्ट्र बाहेकका राष्ट्रले खेल्ने अवसर नपाउने भएपनि नेपालले २ पटक यो अवसर पाएको हो।
निम्तो
दुई वर्ष अगाडी पनि एमसीसीकै निम्तोमा नेपाली टोलीले लर्ड्समा खेलेको थियो।
नेपालले २ वर्ष अगाडी टी २० को हैसियत गुमाएपनि अहिले एकदिवसीय स्टाटस पाएपछि त्यो स्वत: फिर्ता भएको जनाइएको छ।
यस अघि बीबीसीसंग कुरा गर्दै नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडकाले एकदिवसीय स्टाटस पाएकाले राम्रो खेल प्रदर्शन गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए।
एमसीसी र नेदरल्याण्ड्सको त्रिकोणात्मक खेल खेलेर नेपाली टोलीले आफुलाई अन्तर्राष्ट्रिय खेल मन्चमा स्थापित गर्ने राम्रो अवसर पाएको जानकारहरु बताउँछन्।









