एक्लै भए पनि लडिरहन्छु: डाक्टर गोविन्द केसी

अडिओ क्याप्शन सुरु हुँदैछ, डाक्टर गोविन्द केसीसँग

चिकित्साशिक्षामा सुधारको माग गर्दै यसअघि १४ पटक अनशन गरेका चिकित्सक एवम् त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक गोविन्द केसी अहिले आफ्ना पुरानै माग पूरा गराउन पुन: अनशनमा बसेका छन्।

सरकारले हाल विद्यमान अध्यादेशमा रहेका कतिपय सुधारोन्मुख बुँदाहरूसमेत हटाएर प्रतिस्थापन विधेयक ल्याउने कसरत गरेपछि डा. केसीले त्यसविरुद्ध आफू लड्ने बताएका छन्।

"माफिया र दलका नेताहरूको स्वार्थमा आउने त्यस्ता कानुन सह्य छैनन्। तिनका विरुद्ध म एक्लै भए पनि लडिरहन्छु," उनले भने।

सरकारले भने प्रस्तावित नयाँ कानुनले चिकित्सा शिक्षामा सुधार हुने बताउने गरेको छ।

डा. केसीले अनशन बस्नुपर्ने अवस्था नरहेको उसको भनाइ छ।

सङ्घर्ष

बुधवार बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'का लागि सञ्जय ढकालले लिएको टेलिफोन अन्तर्वार्तामा जुम्लास्थित अनशनस्थलबाट उनले देशमा सर्वसाधारण जनताका निम्ति गुणस्तरीय र सुलभ चिकित्साशिक्षाका निम्ति आफ्नो सङ्घर्ष केन्द्रित रहेको दोहोर्‍याए।

डा. केसीको समर्थनमा

पन्ध्रौँ पटकको अनशनको पाँचौँ दिन बुधवार साँझ स्वास्थ्यस्थिति विग्रिएपछि उनलाई कभर्ड हलमा रहेको अनशनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको छ।

यसअघि निषेधित क्षेत्र भन्दै स्थानीय प्रशासनले उनलाई कभर्ड हलबाट त्यहाँ जान दिएको थिएन।