महिला जनप्रतिनिधिका ‘सारथि’ श्रीमान्‌हरू

तराई
तस्बिरको क्याप्शन, जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीता झा

तराईमा घुम्टोभित्र बस्ने कैयौँ महिलाहरू निर्वाचित भएपछि अहिले न्याय सम्पादन गर्न थालेका छन्।

हुन त महिलाबारे घर परिवारको दृष्टिकोणमा परिवर्तन आउन थाले पनि समाजको सोच पूर्ण रूपमा बदलिसकेको छैन।

कैयौँ महिला जनप्रतिनिधिलाई बैठकमा लग्ने, ल्याउने र कतिपय निर्णय प्रक्रियामा श्रीमान् सहयोगी रहेको पनि देखिन्छ।

कतिपय स्थानीय तहमा महिला जनप्रतिनिधिहरू कार्यालयमा हुञ्जेल उनीहरूका श्रीमान्‌ कुरेर बस्छन्।

सहयोग

धेरै महिला जनप्रतिनिधिहरू श्रीमान्‌बाट पूर्ण सहयोग पाउने गरेको बताउँछन् ।

जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीता झालाई चाहिँ एकजना छिमेकीसँगै राख्नुपर्ने बाध्यता छ।

जनकपुर उप महानगरपालिका

अबेर रातिसम्म काम गर्ने भएकोले टोलका मानिसहरूले गर्ने टीकाटिप्पणीबाट जोगिन उनलाई गाह्रो छ।

झा भन्छिन्, "गाह्रो भइहाल्छ नि। मधेशका महिलाहरू त घरबाट बाहिर ननिस्कने चलन थियो। त्यो परम्परा तोड्दै राजनीतिमा आएपछि कहिलेकाहीँ बैठकमै रातिको १०/११ बज्छ। अनि घर जाँदा कहाँबाट आएकी होली भनेर टोलका मान्छेहरू हेरिरहेका हुन्छन्।"

वडाध्यक्ष र सदस्यहरूले तलब, सुविधा पाउने भएपछि परिवारमा सहयोगको वातावरण बनेको छ।

श्रीमान् नरहेको र छोराले घरबाट निकालिदिएको पीडाबाट अब मुक्त भएको सीता चौधरीले बताउँछिन्।

भूमिका

तर पछि छोराले उनलाई सघाउन थालेका छन्।

उनी भन्छिन्, "श्रीमान् बितिसक्नुभएको छ। शुरूमा त मलाई छोराले घरबाट निकालिदिएको थियो। निकै अप्ठ्यारो भयो। तर अहिले छोराले माफी मागरे सँगै राखेको छ। परिवारमा अब तनाव छैन्। सबै सदस्यले सहयोग गरिरहेका छन्।"

वडा सदस्य बबी कर्ण उनका श्रीमान् बैठकमा सँगै बस्न नमिल्ने भएकाले झुक्याउने गरेको बताउँछिन्।

स्थानीय तहमा महिलाहरू नगर उपप्रमुख, कार्यपालिका सदस्य र वडा सदस्यमा छन्।

सुनिता
तस्बिरको क्याप्शन, सुनिता राउत

प्रमुख र निर्वाचित वडाध्यक्षमा महिलाहरूको संख्या न्यून छ।

तराईमा अझै पनि कतिपय स्थानमा महिला जनप्रतिनिधिको भूमिका उनीहरूका श्रीमान् अथवा अन्य पुरूष सहयोगीले निर्वाह गरेको देखिन्छ।

प्रायः महिला जनप्रतिनिधिका श्रीमान् छायाँ जस्तो रहने गरेको देखिन्छ।

यद्यपि विकास बाँडफाँटदेखि विभिन्न निर्णयमा हस्ताक्षर महिला जनप्रतिनिधिले गरे पनि भूमिकामा पुरूषहरु नै रहने गरेको बताइन्छ।

बदलिँदो सोच

महिला जनप्रतिनिधिहरूले चाहिँ शुरूमा सकस भए पनि अब सहज भइसकेको बताउँछन्।

कार्यपालिका सदस्य सुनिता राउतले श्रीमान् र परिवारबाट पूर्ण सहयोग मिलेको बताउँछिन्।

उनी भन्छिन्, "म बाहिर एक्लै जान्छु। बोर्ड बैठक छ भनेपछि श्रीमान्‌ले राजनीतिमा कस्तो कस्तो हुन्छ भन्ने बुझेको छु तिमी जानू भन्नुहुन्छ।"

पहिलाका तुलनामा परिवार र समाजको सोच फराकिलो हुँदै गएको उनको अनुभव छ।