‘रेल ल्याउन चीनको सहयोगी भावना’

कार्गो

प्रधानमन्त्री केपी ओलीले नेपाललाई चिनियाँ रेल सञ्जालसँग जोड्ने सम्झौता हुने बताउँदै त्यसमा चीनको सहयोगी भावना पाएको जानकारी दिएका छन्।

मंगलवारबाट आफूले गर्न लागेको चीनको भ्रमणबारे संघीय संसद्लाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

पहिलो पटक प्रधानमन्त्री हुँदा भएका सहमति र सम्झौताको कार्यान्वयनको निम्ति दुई पक्षीय संयुक्त समिति पनि गठन हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गरेका थिए।

चासो

चीन भ्रमणका क्रममा हुने सहमति, सम्झौता र छलफलजस्ता साझा विषयमा उनले प्रयोग गरेका शब्दावली पनि झण्डै दुरुस्त थिए।

उनले आफ्नो दुई वर्षअघिको पहिलो चीन भ्रमणको प्रसङ्ग उठाउँदै नेपाललाई चिनियाँ रेल सञ्जालसँग जोड्न चीन सहयोगी रहेको सुनाए।

उनले भने, "पहिलो भ्रमणबाट म आउँदा सँग-सँगै रेल कुदेर आउन सम्भव थिएन। त्यसका लागि अझै पनि समय लाग्छ। तर यसलाई हामीले विशेष महत्त्व दिएका छौं। त्यसलाई उहाँले सम्मान गर्नुभएको छ र सहयोगी भावना देखाउनुभएको छ।"

चिनियाँ सहयोगमा मात्र त्यो सम्भव हुने ठानिएकाले लगानीबारे धेरैको चासो पाइन्छ।

चीनको सहयोगी भावना रहेको भन्ने ओलीको भनाइलाई उसकै लगानी सहयोगमा निर्माण हुने अर्थ लगाइएको छ।

नयाँ मोड

उनले सम्झौताका विषयबारे भने, "रेलमार्ग, ऊर्जा र भूकम्पपछिको पुनर्निर्माणका विषयहरूमा द्विपक्षीय सम्झौता र समझदारीहरूमा हस्ताक्षर हुनेछन्।"

उनका अनुसार चीनसँगको विगतको सहमति र समझदारी कार्यान्वयन गर्न संयुक्त समिति गठन गरिनेछ।

उनले अघिल्लो कार्यकालको आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई, उनकै शब्दमा, युगान्तकारी नयाँ मोड र उचाइ दिएको थियो।

त्यस बेलाका सहमति-समझदारीले वर्तमानको यथार्थ र आवश्यकता प्रतिबिम्बित गर्नुका साथै भोलिको यात्रालाई पनि संकेत गर्ने ओलीको भनाइ थियो।

प्रधानमन्त्री

तस्बिर स्रोत, RSS

त्यो भनाइ भविष्यमा विविध क्षेत्रमा चीनसँग नेपालको सहकार्य झन् बाक्लो हुने तर्फको संकेत जस्तो सुनिन्छ।

च्याँखे दाउ

कतिपयले भारतसँगको सम्बन्ध-सन्तुलन खलबलिने जोखिमबारे आशंका गरिरहेका बेला ओलीले त्यसलक्षित अभिव्यक्ति दिन छुटाएनन्।

उनले भने, "यो भ्रमण अरू कसैको विरुद्धमा होइन। यस भ्रमणले अरुसँगको सम्बन्धलाई पनि सुदृढ बनाउन दिशामा काम गर्नेछ किनभने हामीले च्याँखे दाउ राख्ने काम गर्दैनौं।"

चीनसँग समस्यारहित मित्रता रहेको बताएका ओलीले भारतसँगको सम्बन्धबारे पनि उत्तिकै चर्चा गरेका थिए।

विगतमा चीनसँग पारवहन र यातायात लगायतका विषयमा भएका सहमति र समझदारीले भारतलाई सशंकित ल्याएको खबरहरूका माझ ओलीको दोस्रो पटक सत्तारोहण भएको थियो।

त्यसपछि उनी भारत भ्रमणमा गएका थिए भने त्यसलगत्तै उनका भारतीय समकक्षीले नेपाल भ्रमण पनि गरिसकेका छन्।