के हो बाबा रामदेवको 'मेगा फुड पार्क'

तस्बिर स्रोत, AFP
मङ्गलवार राति भारतीय टेलिभिजन च्यानलहरूमा 'बाबा रामदेवको मेगा फुड पार्क उत्तर प्रदेशबाट बाहिरिने' भनेर एउटा समाचार 'ब्रेकिंग न्युज' भन्दै देखाइयो।
त्यसमा भनियो, 'आचार्य बालकृष्ण उत्तर प्रदेश सरकारको व्यवहारबाट बेखुसी छन्।'
बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले योगी आदित्यनाथको सरकारले मञ्जुरी नदिएको भन्दै ग्रेटर नोयडामा उसले निर्माण गर्न लागेको प्रस्तावित फुड एण्ड हर्बल पार्क त्यहाँबाट सारिने कुरा गरेको छ।
के भने बालकृष्णले?

तस्बिर स्रोत, Facebook
कम्पनीका सर्वेसर्वा आचार्य बालकृष्णले ट्वीट गरे, "ग्रेटर नोयडामा बनाइन लागेको र केन्द्रीय सरकारबाट स्वीकृति मिलेको मेगा फुड पार्कको मञ्जुरी नमिलेको सूचना आज पाइयो। श्रीराम र कृष्णको पवित्र भूमिका किसानका जीवनमा समृद्धि ल्याउने संकल्प, प्रान्तीय सरकारको उदासीनताका कारण अधुरै रह्यो। पतञ्जलीले यो आयोजना अन्यत्रै सार्ने निर्णय लिएको छ।"
आचार्य बालकृष्णले उक्त पार्कको प्रतीकात्मक तस्बिर राख्दै त्यसले हजारौंलाई रोजगारी प्रदान गर्न सक्ने र लाखौं किसानलाई समृद्ध बनाउन सक्ने थियो भनेका छन्।
उनले त्यसरी टिप्पणी गरिसकेपछि उत्तर प्रदेशको सरकारले कुनै न कुनै कदम त चाल्ने नै थियो। भयो पनि त्यस्तै।
के हो यो आयोजना?
बुधवार सबेरै खबर आएको छ कि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुराकानी भएको छ जसमा उनले चाँडोभन्दा चाँडो निर्णय लिने बताएका छन्।

तस्बिर स्रोत, Twitter/@ACH_BALKRISHNA
तर यो विशाल आयोजना खासमा के हो जसका कारण यति विवाद भइरहेको छ।
बाबा रामदेव प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन् र उत्तर प्रदेशमा समेत भारतीय जनता पार्टी (भाजपा) कै शासन छ।
त्यसकारण यस आयोजनाबारे भएका सार्वजनिक बयानबाजी अचम्मलाग्दो छ।
सन् २०१६ मा उत्तर प्रदेशमा तत्कालीन समाजवादी पार्टीको सरकारका मुख्यमन्त्री अखिलेश यादवले उक्त पतञ्जली फुड पार्कको शिलान्यास गरेका थिए।
बाचा
सो पार्कको लगानी २६ अर्ब रुपैयाँभन्दा धेरै हुने बताइएको छ।
आठ हजारभन्दा धेरै मानिसले त्यसमा रोजगारीको अवसर पाउने बताइएको छ।
पतञ्जली योगपीठले उक्त आयोजनाले ५० हजार स्थानीय किसानहरूलाई फाइदा पुग्ने बताएको थियो।








