छोटियो चीनसँगको सडक दुरी

मैलुङ सडक खण्ड

तस्बिर स्रोत, Nepal Army

नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने नयाँ वैकल्पिक मार्ग आइतवारबाट खुला भएको छ।

बेत्रावती-धुन्चे-स्याफ्रुबेसी सडक खण्ड प्रयोग हुँदै आएकोमा अब मैलुङ-स्याफ्रुबेसी सडक खण्ड पनि तयार भएको हो।

नयाँ बाटो पहिलेको भन्दा २५ किलोमिटरले छोटो रहेको अधिकारीहरूले बताएका छन्।

महत्त्वपूर्ण नाका

बाटो निर्माण गरेको नेपाली सेनाले भनेको छ, "यो सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनेछ। साथै उत्तरमा रहेको उक्त नाका र दक्षिणमा रहेको ठोरी जोड्न यो सडक महत्त्वपूर्ण हुनेछ"।

यस हिसाबले नेपाल हुँदै भारत र चीनलाई जोड्ने यो महत्त्वपूर्ण मार्ग हुने अधिकारीहरूको अपेक्षा पाइन्छ।

नेपाली सेनाले आइतवार एक औपचारिक कार्यक्रमबीच उक्त सडक खण्ड औपचारिक रुपमा सरकारलाई हस्तान्तरण गरेको हो।

नयाँ बाटो खुलेपछि रसुवागढी पुग्न समय र खर्च दुवै कम हुने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए।

उनले भने, "यो सडक खण्डमा घुम्तीहरु छैनन् त्यसैले यो बेत्रावती-धुन्चे-स्याफ्रुबेशी सडक खण्ड भन्दा तुलनात्मक रुपमा छोटो र सुरक्षित पनि छ।"

तयारी

सेनाले कच्ची सडक निर्माण गरेको र अब कालोपत्रे गर्ने लगायतका कामका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माले जानकारी दिए।

२०७२ साल बैशाख १ गतेदेखि सो सडक निर्माणको काम सुरु गरेको सेनाले जनाएको छ।

सुरुमा ७ किलोमिटर सडक निर्माण गर्ने जिम्मामात्रै सेनालाई दिने भनिए पनि बैशाख १२ को भूकम्पपछि १० किलोटमिटर थपेर बनाउने जिम्मेवारी दिइएको थियो।