पाकिस्तान: मन्त्रीमाथि गोली प्रहार

तस्बिर स्रोत, EPA
पाकिस्तानका आन्तरिक मामिलामन्त्री अहसान इकबाल एकजना बन्दुकधारीको गोली प्रहारबाट घाइते भएका छन्।
आफ्नो निर्वाचन क्षेत्र पर्ने उत्तरपश्चिमी नगर नरोवालको भ्रमणका क्रममा उनीमाथि गोली प्रहार गरिएको थियो।
पन्जाब प्रान्तमा पर्ने नरोवाल नगरमा आयोजित एउटा र्यालीमा सहभागी भएर त्यहाँबाट बाहिरिन लागेका मन्त्री इकबालमाथि गोली प्रहार गरिएको थियो।
उनको दाहिने पाखुरामा गोली लागेको समाचारमा जनाइएको छ।
सोधपुछ
घटनालगत्तै उनलाई अस्पताल पुर्याइएको छ।
इकबालको अवस्था गम्भीर नरहेको उनका छोराले एउटा स्थानीय टेलिभिजनलाई बताएका छन्।
अधिकारीहरूका अनुसार बन्दुकधारीलाई पक्राउ गरिएको छ र उनीसँग सोधपुछ गरिँदैछ।

तस्बिर स्रोत, Reuters
मन्त्री इकबालमाथि गोली प्रहार गर्नुको उद्देश्य स्पष्ट भइनसकेको अधिकारीहरूले बताएका छन्।
पाकिस्तानमा आउने जुलाई वा अगस्टमा आमनिर्वाचन हुन सक्ने बताइएको छ।
उद्देश्य
मन्त्री इकबाल सत्तारूढ दल पाकिस्तान मुस्लिम लिग-नवाजका एकजना वरिष्ठ नेता पनि हुन्।
गत जुलाईमा तत्कालीन प्रधानमन्त्रीलाई पदच्युत गरिँदा इकबाल प्रधानमन्त्री हुन सक्ने चर्चा थियो।
प्रारम्भिक सूचनाका आधारमा एकजना वरिष्ठ अधिकारीले समाचार संस्था रोएटर्सलाई बताएअनुसार मन्त्री इकबाल एउटा ईसाई समूहसँगको बैठकमा पनि सहभागी भएका थिए।
ती अधिकारीले भने, "त्यही कारणले उनीमाथि गोली प्रहार गरिएको हो वा होइन त्यो अहिले भन्न सकिँदैन। अनुसन्धानपछि मात्रै गोली हान्नुको कारणबारे केही भन्न सकिएला।"








