प्रदेश र स्थानीय तहलाई नमूना कानुन छिट्टै: ओली

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी ओलीले प्रदेश र स्थानीय तहलाई कानुन बनाउन सहज हुने गरी केन्द्रमा नमूना कानुन निर्माणको काममा विशेष टोली खटाइएको बताएका छन्।
संघीय सरकारले अत्यावश्यक कानुनको नमूना नबनाउँदा प्रदेश सरकार तथा स्थानीय तहलाई काम गर्न अप्ठ्यारो भइरहेको भन्ने गुनासाहरू बढी रहेका बेला उनको त्यस्तो धारणा आएको हो।
आइतवार पहिलोपटक प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रदेश ५ को प्रदेश सभामा बोल्दै ओलीले सवै संरचनाहरू नयाँ भएकाले काम गर्न कठिनाइ भएपनि त्यो विस्तारै सहज हुँदै जाने पनि बताए।
तीव्रता
करिब एक घण्टा लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले प्रदेश सरकार तथा स्थानीय तह सञ्चालनका लागि कतिपय कानुनको अभाव रहेको अवस्थाप्रति आफू जानकार रहेको बताउँदै विज्ञहरूको सहयोग लिएर तीव्रताका साथ कानुन बनाउने काम भइरहेको बताए।
सँगसँगै कानुन भएन भनेर गुनासो गर्ने तर काम अगाडि नबढाउने प्रदेश सरकार तथा स्थानीय तहलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, "हामी झगडिया होइनौं। केन्द्र, प्रदेश र स्थानीय तह मिल्नुपर्छ। सबैका आ-आफ्ना काम छन् र ती काम गर्न सबै सक्षम हुनुपर्छ"।
उनले सबै संरचनाहरु नयाँ भएकोले काम गर्न केही कठिनाइहरू भएपनि आ-आफ्नो स्थानबाट सबैले काम गर्नुपर्ने बताउँदै स्थानीय तहहरू बलियो नहुँदासम्म सरकार पनि बलियो हुन नसक्ने बताए ।
यसअघि वैशाख २१ गते सम्मका लागि स्थगित गरीएको प्रदेश सभाको बैठक प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएपछि आइतवार एक दिनको लागि बोलाइएको थियो।
प्रधानमन्त्री ओली सोमवार लुम्बिनीमा आयोजना हुने २५६२ औं बुद्ध जयन्ती मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा प्रदेश ५ पुगेका हुन्। बुटवलको सम्बोधनपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्न उनी आइतवारै लुम्बिनी पुगेका थिए।








