'३० हजार परिवार अझै असुरक्षित आवासमा'

चुराकुमारी श्रेष्ठ
तस्बिरको क्याप्शन, चुराकुमारी श्रेष्ठ सकेसम्म चाँडो सुरक्षित आवासको पर्खाईमा छिन्।

गोरखा भूकम्पको नामले चर्चित ७२ सालको भूकम्पले प्रभावितमध्ये अझै करिब ३० हजार परिवार असुरक्षित स्थलमै बसिरहन बाध्य भएको अधिकारीहरूले स्वीकारेका छन्।

निमेषभरमै भत्किएका कैयौँ घरहरू लामो समयसम्म ठडिन सकेका छैनन्।

धेरैजसो पैसाको अभावमा त कतै मेसो नपाएर सुरक्षित घर बन्न सकेका छैनन्।

"अहिले थिच्ला कि भरे थिच्ला कि भन्ने डर छ। छिट्टै घर बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ। मलाई एकदम गाह्रो भइरहेको छ," अहिले पनि जस्ताको अस्थायी टहरामा रहेकी दोलखा भीमेश्वर नगरपालिकाकी ६१ वर्षीय चुराकुमारी श्रेष्ठले आफ्नो व्यथा सुनाइन्।

बाध्य

भूकम्पपश्चात् तीनवटा बर्खा र हिउँद असुरक्षित बासमै विताउन उनीजस्तै बाध्य परिवारको सङ्ख्या ३० हजारको हाराहारीमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले बताए।

अठार हजार जति जोखिममा परेका भनिने समूह बढी उमेरका वा एकल महिला वा अपाङ्गता भएकाहरू सहित यो सङ्ख्या रहेको उनले बताए।

"हामीसँग अहिले १८,५०५ जोखिममा रहेकाहरू हुनुहुन्छ। वहाँहरूको पनि हामी वैकल्पिक व्यवस्था गर्दैछौँ। त्योबाहेक अन्यसमेत गरी करिब ३० हजार जति अझै असुरक्षित आवासमा बस्नुहुन्छ होला भन्ने हाम्रो पछिल्लो अनुमान छ," भुषालले भने।

कति घर बने?

टहरामा बास
तस्बिरको क्याप्शन, असुरक्षित आवासमा बसिरहन बाध्यहरूको घर अर्को वर्षसम्म बनाइसक्ने प्राधिकरणको भनाइ छ।

तीबाहेक करिब पौने छ लाख घरहरू या त निर्माण भइसकेका या त निर्माणाधीन चरणमा रहेको प्राधिकरणको आँकडा छ।

पुनर्निर्माणको गतिलाई थप तीव्रता दिन सके अर्को सालको बर्खाभित्र निजी आवास निर्माणको काम लगभग सकिने भुषालको आशा छ।

"यो असार मसान्तसम्म हामीले अनुदानको दोस्रो किस्ता लिने म्याद थपेका छौँ। यो अवधिमा भूकम्पपीडितहरूले सक्रियतापूर्वक काम गर्नु भयो भने हामीले पाँच लाख हाराहारीमा घर बनाइसक्छौँ। गुनासोसमेत जोड्दा कुल आठ लाख जति घर बनाउनुपर्छ होला। तीमध्ये यसपालि पाँच लाख बनाउन सकियो भने अर्को वर्ष त निजी आवास निर्माणको काम पूरै सकिन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'भूकम्पले बनाएको घाउ बाँकी छ'

सुस्त

पुनर्निर्माणको गति सुस्त भएको प्रधानमन्त्रीदेखि लिएर सर्वसाधारण समेतको एउटै निचोड देखिन्छ।

तर कतिपय विज्ञहरू भने अन्यत्रको अनुभवसँग दाँज्दा यहाँको पुनर्निर्माणको गति खराब भन्न नमिल्ने बताउँछन्।

भवन विभागका पूर्वमहानिर्देशक तथा भूकम्प प्रविधि राष्ट्रिय समाजका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्यभक्त साँगाछे भन्छन्, "जापानकै अनुभव हेर्‍यो भने पनि पुनर्निर्माणमा चार पाँच वर्ष लागेको देखिन्छ। नेपालमा त झन् यावत् समस्या छन् - पैसाको समस्या छ, सामानको समस्या छ, काम गर्ने मानिसको समस्या छ र राजनीतिक अस्थिरताको समस्या छ। यति हुँदाहुँदै जति पुनर्निर्माण भएको छ त्यो नराम्रो भन्न मिल्दैन।"

परम्परागत शैली 'नासिँदै'

आवास निर्माण
तस्बिरको क्याप्शन, सुरक्षित बनाउने होडमा परम्परागत शैली नासिएको चिन्ता बढेको छ।

विक्रम सम्वत् २०७२ वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटमा गएको ७.८ म्याग्निट्युडको सो भूकम्पपश्चात् ४.० म्याग्निट्युडभन्दा माथिका ४९५ वटा परकम्पहरूले नेपालीहरूलाई झक्झक्याइसकेका छन्।

त्यसले सुरक्षित घर बनाउने सोचसम्म सबैमा पलाउन सकेको विज्ञहरू बताउँछन्।

तर त्यसो गर्ने होडमा जताततै केवल कङ्क्रिटको घर बनाउने प्रवृत्ति मौलाएकोमा उनीहरूको चिन्ता छ।

परम्परागत घरलाई पनि विशेष ध्यान दिएर निर्माण गरे सुरक्षित पार्न सकिने तर त्यतापट्टि न सरकारको न प्राधिकरणको न जनता स्वयंको चासो देखिएको भन्दै त्यस्ता मौलिक शैली नासिने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्प २०७२: भुइँचालोले काठमाण्डू उपत्यकामा यसरी हल्लाएको थियो