'समानताका आधारमा एकता गर्ने सहमति'

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग समानताका आधारमा एकता हुनुपर्नेमा सहमति भएको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग त्यस्तो सहमति भएको धारणा राखेका हुन्।
उनले भने, "कसैलाई विभेद गर्ने वा अपमान गर्ने भन्ने हुँदैन। समानता, सम्मानजनक र न्यायोचित आधारमा एकता गर्न हामी सहमत भएका छौं"।
तर त्यसबारे उनले विस्तृत खुलाएनन्।
यसअघि प्रचण्डले ५०/५० प्रतिशतका आधारमा एकीकृत पार्टीमा सहभागिता हुनुपर्ने धारणा राख्दै आएका थिए।
तर एमालेले त्यसलाई अस्वीकार गर्दै आएको थियो।
त्यसका कारण एकता घोषणामा ढिलाइ भएको ठानिएको थियो।
तर त्यसको बचाउ गर्दै प्रचण्डले भने, " केही प्राविधिक र नीतिगत कुरा टुंग्याएर हामी एकता छिट्टै घोषणा गर्छौं। हेर्दै जानुहोस्, कसैले सोच्दै नसोचेको मितिमा पार्टी एकताको घोषणा हुन्छ"।
उनले थपे, "अब हामी फर्कन नमिल्ने विन्दुमा पुगिसकेका छौं। हामीलाई एकताबाट पछि हट्न छुट छैन"।








