फेसबुक विवरण लिएको आरोपमा निलम्बित

फेसबुक

तस्बिर स्रोत, Getty Images

ब्रिटेनस्थित एउटा राजनीतिक परामर्शदाता कम्पनीले राजनीतिक लाभका लागि फेसबुकका विवरणहरूको दुरूपयोग गरेको आरोप लागेको आफ्ना प्रमुख कार्यकारी एलेक्जेण्डर निक्सलाई निलम्बन गरेको छ।

केम्ब्रिज एनालिटिकाले हालै एउटा ब्रिटिश टेलिभिजनबाट गोप्य ढङ्गले रेकर्ड गरिएका प्रतिक्रियाहरूले आफ्नो मान्यतालाई प्रतिबिम्बित नगरेको जनाएको छ।

ब्रिटेनको च्यानल फोर टेलिभिजनले गोप्य रूपमा निक्सको भनाइ रेकर्ड गरेको थियो।

जसमा उनले केम्ब्रिज एनालिटिकाले राजनीतिज्ञहरूलाई अनलाइनमा कसरी अपजस दिन सक्छ भन्नेबारे उल्लेख गरेका छन्।

गैरकानूनी

उनले उक्त कम्पनीले चलाएको लक्षित अभियानका कारण डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनाव झिनो मत अन्तरले जितेको समेत बताएका छन्।

अरू कार्यकारीहरूले ट्रम्पको चुनावी अभियान र बाह्य समूहहरूबीच भएको समन्वयबारे गरिरहेको कुराकानी पनि गोप्य रूपमा रेकर्ड गरिएको थियो जुन काम सम्भावित गैरकानूनी गतिविधि भएको बताइएको छ।

मार्क जकरबर्ग

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मार्क जकरबर्ग

सहमति विनै पाँच करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गरेको केम्ब्रिज एनालिटिकामाथि आरोप लगाइएको छ।

अमेरिकी, ब्रिटिश र युरोपेली संसद्हरूले फेसबुकका प्रमुख मार्क जकरबर्गबाट त्यसको जवाफ मागेका छन्।

'धोका'

फेसबुकले केम्ब्रिज एनालिटिकाबाट आफ्ना प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण संकलन गरेर 'धोका' दिइएकोमा समग्र कम्पनी 'क्रुद्ध' भएको जनाएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा कम्पनीका वकिलहरूले उक्त विषयमा कर्मचारीहरूलाई जानकारी गराएका छन्।

संस्थापक मार्क जकरबर्ग र उनकी उपप्रमुख शेरिल साण्डबर्गले उपयुक्त कदम चाल्ने विषयमा चौबिसै घण्टा काम गरेको फेसबुकले जनाएको छ।

बुधवार उक्त कम्पनीले अमेरिकी कंग्रेसमा जवाफ दिनका लागि आफ्ना प्रतिनिधिहरू वाशिङटन पठाउँदैछ।

जकरबर्गलाई ब्रिटेनको एउटा संसदीय समितिसमक्ष पनि उपस्थित हुन भनिएको छ।