प्रधानन्यायाधीश पराजुलीद्वारा 'राजीनामा'

राष्ट्रपति र प्रधानन्यायाधीश

तस्बिर स्रोत, RSS

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीका अनुसार पराजुलीले नेपालको संविधानको धारा १३१ 'क' बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज (चैत्र १, बिहीवार) कै मितिबाट लागु हुने राजीनामा दिएका हुन्।

संविधानको धारा १३१ को खण्ड 'क' अनुसार प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीशले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा निजको पद रिक्त हुन्छ।

शैक्षिक योग्यता र नागरिकतामा उनको भिन्नभिन्न जन्ममिति भएको विवरणहरू सार्वजनिक भएपछि विवादमा परेका पराजुलीलाई न्याय परिषद्का सचिवले उनको ६५ वर्षे उमेरको हद गत साउन २१ पूरा भएको र उनी सेवानिवृत्त भइसकेको भन्दै पत्र पठाएका थिए।

तर न्याय परिषद् सचिवालयको पत्र सार्वजनिक भएको केही समयमै प्रधानन्यायाधीशको हैसियतमै पराजुलीले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको शपथ गराएका थिए।

जोशी कायममुकायम

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै पराजुलीले न्याय परिषद्का सचिवलाई त्यस्तो पत्र पठाउने अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गर्दै पराजुलीले आफू पदमा बहाल रहेको दाबी गरेका थिए।

पराजुलीले आफू बिहीवार बिहान पनि कार्यालय जाने र नियमित रूपमै काम गर्ने जाने बताएका भए पनि उनी सर्वोच्च अदालत गएनन्।

कार्यालय समय सुरु हुनुभन्दा अगाडि नै सर्वोच्च अदालतको वेब्साइटबाट पराजुलीको नाम र तस्बिर हटाएको थियो।

वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा आज दैनिक कामकाज सञ्चालन गरेका छन्।