मुसलमानहरूमाथि आक्रमण बढेपछि श्रीलंकामा संकटकाल

श्रीलंका

श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापारव्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ।

बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुन: कर्फ्यु आदेश जारी गरिएको छ।

एउटा जलेको भवनबाहिर एक जना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्।

गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एक जना बौद्धमार्गी पुरुषलाई पिटेका थिए। पछि उनको मृत्यु भएको थियो। तत्पश्चात् दुई सम्प्रदायबीच तनाब बढेको थियो।

गत हप्ता पूर्वी नगर अम्परामा पनि मुसलमानविरोधी हिंसाहरू भएका थिए।

संकटकालका बेला अधिकारीहरूले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न र लामो समयसम्म नियन्त्रणमा राख्न सक्ने छन्। साथै आवश्यकता परे सेना परिचालन पनि गर्न सक्नेछन्।

श्रीलंकामा बौद्धमार्गी सिंहला समुदायको बाहुल्य छ
तस्बिरको क्याप्शन, श्रीलंकामा बौद्धमार्गी सिंहला समुदायको बाहुल्य छ

मन्त्रिपरिषद्का एक जना प्रवक्ताले बीबीसीलाई बताएअनुसार सामाजिक सञ्जालमा प्रकाशित हुने 'घृणा फैलाउने खालका' सामग्रीहरू विरुद्ध पनि कार्बाही गरिने छ।

एक जना स्थानीय अधिकारीले बौद्धमार्गी सिंहला समुदायले गरेको आक्रमणबाट डिगाना र तेल्दिनिया क्षेत्रमा चार मस्जिद, ३७ घर, ४६ पसल र ३५ सवारीसाधनहरूमा क्षति पुगेको बीबीसीलाई बताएका छन्।

सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ।

चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ।

श्रीलंकाको कुल जनसंख्या दुई करोड १० लाख रहेको बताइन्छ। त्यसमा ७० प्रतिशत बौद्धमार्गी र नौ प्रतिशत मुसलमान रहेका छन्।

श्रीलंकामा सात वर्षमा पहिलो पटक संकटकाल लगाइएको हो।

तामिल विद्रोहीविरुद्ध लडेका बेला श्रीलंकाको सरकारले करिव तीन दशकसम्म संकटकाल घोषणा गरेको थियो। श्रीलंकामा भएको उक्त गृहयुद्ध सन् २००९ मा सकिएको थियो।