संघीय सांसदहरूलाई आज शपथ खुवाइँदै

संघीय संसद्को पहिलो बैठकको अघिल्लो दिन आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका ज्येष्ठ सदस्यले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदैछन्।
शपथसँगै संघीय संसद्लाई विधिवत् काम थाल्न बाटो खुल्नेछ।
ज्येष्ठ सदस्यको उमेरबारे विवाद भइरहँदा संसद् सचिवालयले निर्वाचन आयोगबाट उपलब्ध प्रमाणका आधारमा शपथ गराउने ज्येष्ठ सदस्यको नाम निर्धारण गरिएको जनाएको छ।
तर कतिपय विज्ञले वास्तविक उमेर र नागरिकताको उमेरबीच धेरै अन्तर देखिँदा पनि नसच्याइएको भन्दै आलोचना गरेका छन्।
हैसियत
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्यहरूलाई ज्येष्ठ सदस्यको हैसियतमा राष्ट्रिय जनता पार्टीका महिन्द्र राय यादव र राष्ट्रिय सभा सदस्यहरूलाई कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ।
त्यसअघि ती दुई सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन्।
वि. सं. २०११ सालमा जन्मिएका यादवको वास्तविक उमेर ६३ वर्ष भए पनि नागरिकताको जन्ममितिका आधारमा उनी ८० वर्षका अर्थात् सबैभन्दा पाको उमेरका भएका हुन्।

सोही प्रमाणका आधारमा उनलाई शपथ गराउने जिम्मेवारी दिइएको संघीय संसद्का प्रवक्ता भरत गौतमले बताए।
उनले भने, "हामीले उमेर पहिचान गरेका होइनौँ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएको विवरण अनुसार नै ज्येष्ठ सदस्य पहिचान गरेको हुनाले यसलाई अन्यथा मान्नुपर्ने केही कारण छैन।"
हेलचेक्र्याइँ
यादवभन्दा ज्येष्ठ कैयौँ सदस्य प्रतिनिधि सभाका सदस्य रहेको देखिन्छ।
प्रधानमन्त्री लगायत कतिपय नेताले नागरिकताको उमेर र वास्तविक उमेरको अन्तरबारे असन्तुष्टि समेत जनाएका छन्।
एकजना पूर्वप्रशासक श्रीकान्त रेग्मीले त्यस्तो अन्तरबारे नेताहरू जानकार हुँदा-हुँदै समयमै सच्याउन पहल नगर्नु उपयुक्त नभएको टिप्पणी गरे।
उनले भने, "मेरो विचारमा यो हेलचेक्र्याइँ हो। त्रुटि भएमा व्यक्तिले सच्याउने हो, संसद् सचिवालयले सच्याउने होइन। यादव आफैँले नागरिकतामा उमेर बढेको छ भनिरहनुभएको छ। ६३ वर्ष उमेर भएको प्रमाण राखेर सम्बन्धित निकायमा निवेदन दिएर सच्याएको भए भइहाल्थ्यो नि।"
संविधानविद् निलाम्बर आचार्यले 'कागजी ज्येष्ठले शपथ ग्रहण गराउन अनुपयुक्तता र असमर्थता व्यक्त गरेर वास्तविक ज्येष्ठको निम्ति बाटो छाडिदिनुपर्छ' भनेर ट्वीट गरेका छन्।
उनले थप लेखेका छन्, "शपथ त शुद्ध, नैतिक, सत्यमय र निष्ठामय हुनुपर्छ। संघीय संसद्को शुरूवात नै असत्यबाट गरिनुहुँदैन।"
तर नेता यादवले शपथसम्बन्धी निर्णय गर्ने अधिकार संसद् सचिवालयमा निहित रहेको भन्दै आफूले त्यसको पालना मात्रै गरेको बताएका छन्।
संघीय सांसदमध्ये ४४ जनाले नेपाली भाषा बाहेकका विभिन्न १० मातृभाषामा शपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ।








