म्यानमारः लडिरहने विद्रोही समूहको चेतावनी

म्यानमार

तस्बिर स्रोत, AFP/GETTY IMAGES

म्यानमारको अल्पसंख्यक रोहिंज्या मुस्लिम बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने बताएको छ।

गत वर्ष आराकान सालभेशन रोहिंज्या आर्मी (आर्सा) ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा ठूलो स्तरमा हिंसा निम्तिएको थियो।

उक्त हिंसाका कारण कम्तीमा साढे ६ लाख रोहिंज्या मुस्लिमहरू भागेर बांग्लादेश पुगे।

गत शुक्रवार रखाइन प्रान्तमा सेनाको ट्रकमाथि आफूले आक्रमण गरेको आर्साले दावी गरेको छ।

अस्वीकार

उक्त घटनामा तीनजना घाइते भएका थिए।

म्यानमार सरकारले आर्सालाई एउटा उग्रवादी समूहको रूपमा हेर्दै आएको छ।

तर उक्त समूहले अल्पसंख्यक रोहिंज्या मुस्लिमको अधिकारका लागि लडिरहेको बताउने गरेको छ।

शरणार्थी

तस्बिर स्रोत, EPA

आर्सा उत्तरी म्यानमारमा सक्रिय रहिआएको छ जहाँ रोहिंज्या समुदाय अनेकौँ समस्याबाट जुझिरहेको छ।

म्यानमार सरकारले अल्पसंख्यक रोहिंज्या मुस्लिमहरूलाई आफ्नो देशको नागरिक मान्न अस्वीकार गर्दै आएको छ।

उसले उनीहरूलाई बांग्लादेशबाट आएका अवैध आप्रवासी मान्ने गरेको छ।

"जातीय सफाया"

रखाइन प्रान्तमा जातीय समूहबीच हिंसा हुँदै आए पनि गत वर्ष सशस्त्र समूहको जन्म भएको थियो जसले सरकारको विरोध गर्दै आएको छ।

आर्साले सुरक्षाकर्मीमाथि कैयौँ पटक हमला गरेको बताइन्छ।

गत अगष्ट २५ मा आर्सा विद्रोहीको आक्रमणमा ३० जना प्रहरी मारिएका थिए भने सेनाको चौकी ध्वस्त भएको थियो।

विद्रोही

तस्बिर स्रोत, YOUTUBE

त्यसपश्चात् सेनाले जवाफी कारबाही थालेपछि रोहिंज्या मुस्लिमहरू देश छाड्न बाध्य भएका थिए।

संयुक्त राष्ट्र संघले म्यानमारको सेनाले अल्पसंख्यक रोहिंज्या मुस्लिमविरूद्ध "जातीय सफाया" गरेको बताउँदै आएको छ।

तर म्यानमार सरकारले त्यसको खण्डन गर्दै आएको छ।