चीन-अमेरिका आरोपप्रत्यारोप

पानीजहाज

तस्बिर स्रोत, AFP

दक्षिण कोरियाले हंगकंगमा दर्ता भएको एक पानीजहाजलाई उत्तर कोरियामा अवैध रुपले तेल आपूर्तिमा संलग्न भएको शंकामा गत महिना कब्जामा लिएको बताएपछि त्यसले तीव्र अन्तर्राष्ट्रिय प्रतिक्रिया जन्माएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेर चीनको आलोचना गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले उत्तर कोरियालाई अवैध रूपमा तेल आपूर्ति गराउन आफूले दिएको भन्ने आरोपको कडा शब्दमा खण्डन गरेकी छन्।

दक्षिण कोरियाले लाइटहाउस विनमोर नामक उक्त पानीजहाजलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध विपरीत तेल आपूर्तिमा संलग्न भएको शंकामा गत महिना कब्जामा लिएको जनाएको हो।

कब्जा

अधिकारीहरूका अनुसार उक्त पानीजहाजले उत्तर कोरियाली जहाजलाई ६०० टन प्रशोधित तेल गोप्य रूपमा आपूर्ति गरेको थियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार प्योङयाङलाई आपूर्ति हुने गरी कुनै पनि वस्तु त्यसरी जहाजबाट जहाजमा सार्न पाइँदैन।

बीबीसीकी एसिया प्यासिफिक सम्पादक सेलिया ह्याटन भन्छिन्, "सोलस्थित अधिकारीहरूका अनुसार उक्त लाइटहाउस विनमोर भन्ने जहाजलाई उनीहरूले केही समय कब्जामा लिइ निरीक्षण गरेका थिए। सो जहाजले अन्तर्राष्ट्रिय जल क्षेत्रमा १९ अक्टोबरमा गोप्य रूपमा ६ सय टन तेल उत्तर कोरियाली जहाजमा सारेको उनीहरूले आरोप लगाएका छन्।"

उक्त पानीजहाज खासमा ताइवानतर्फ जाँदै गरेको भनिएकोमा त्यसले समुद्रमै एउटा उत्तर कोरियाली जहाजसहित तीनवटा जहाजमा तेल सारेको आरोप लगाइएको छ।

आलोचना

उत्तर कोरियाली नेता किम जङ अन

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले निकै कडा प्रतिबन्धहरू लगाएको छ।

सो घटनालाई सोलले सार्वजनिक गरे लगत्तै अमेरिकी राष्ट्रपतिले चीनले त्यसो गर्न अनुमति दिएको भनी बेइजिङको आलोचना गरेका थिए।

तर चीनले त्यस्तो आरोपलाई ठाडै अस्वीकार गरेको छ।

अस्वीकार

उत्तर कोरियामा अवैध रूपमा तेल निर्यात गर्ने कार्यलाई आफूले स्वीकृति दिएका भन्ने विवरणहरूको उसले कडा शब्दमा अस्वीकार गरेको छ।

चिनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ता हुआ चुनयिंगले प्रश्नको घेराभित्र रहेको सो पानीजहाज गत अगस्ट महिनायता चिनियाँ बन्दरगाहमा आएर नरोकिएको बताइन्।

उनले भनिन्, "हालैका केही विवरणहरू तथ्यसंगत छैनन्। उत्तर कोरियासँग सम्बन्धित सबै राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावलाई चीनले सधैँ पूर्ण रूपमा मानिआएको छ।"

आलोचना

उनको सो भनाइ अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीवार ट्वीटमार्फत चीनरंगे हात पक्राउ परेको भन्ने शैलीमा आलोचना गरेपछि आएको हो।

त्यसको जोडदार खण्डन गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भनिन्, "हामी कहिल्यै पनि चिनियाँ नागरिक तथा कम्पनीलाई सुरक्षा परिषद्को प्रस्ताव विपरीत हुने कार्य गर्न दिंदैनौँ। यो विषयमा पनि यदि अनुसन्धानबाट त्यस्तो कार्य भएको देखियो भने चीनले नियम कानून बमोजिम गम्भीर कारबाही गर्नेछ।"

गत हप्ता बेइजिङले उत्तर कोरियाको पेट्रोल आयात ९० प्रतिशतसम्मले कटौती गर्नेसम्बन्धी अमेरिकाले तयार पारेको राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गरेको थियो।

प्योङयाङको विवादास्पद बलिस्टिक क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई रोक्ने ताजा नयाँ प्रयासस्वरूप नयाँ प्रतिबन्धहरू लगाइएको थियो।