चुनावबाट संक्रमणकालको अन्त्य: निर्वाचन आयोग

निर्वाचन आयोगले आसन्न संघीय र प्रादेशिक चुनावले मुलुकको संक्रमणकालको अन्त्य गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार हुने पहिलो चरणको चुनावअघि राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगको त्यस्तो धारणा राखेका हुन्।
उनले भने, "चुनावले संविधानको कार्यान्वयन हुनेछ। लोकतान्त्रिक गणतन्त्र संस्थागत भई संक्रमणकालको अन्त्य हुनेछ"।
"त्यसपछि मुलुक समृद्धितर्फ अघि बढ्नेमा आयोग विश्वस्त छ"।
उनले निर्धारित मितिमा निर्वाचन हुन नसक्ने भनी व्यक्त भएका आशंका आइतबारको चुनावसँगै अन्त्य हुने पनि टिप्पणी गरे।
आशा
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान हुँदैछ।
यो चरणमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्र छन्।
प्रमुख आयुक्त यादवले पर्यवेक्षकहरुले कानून तथा आचारसंहिताको पालना गर्ने आशा पनि पत्रकार सम्मेलनमा व्यक्त गरे।
हालै कञ्चनपुरमा आचारसंहिताविपरीत अनुगमन कार्य गरेको भन्दै निर्वाचन आयोगले युरोपेली संघ इयुका दुई पर्यवेक्षकलाई पर्यवेक्षणमा रोक लगाएको थियो।
त्यसपछि इयुको पर्यवेक्षण मिसनले ती दुई पर्यवेक्षकलाई फिर्ता बोलाइसकेको जनाइएको छ।









