रोबर्ट मुगाबेः ‘नायक’ कि ‘खलनायक’?

मुगाबे

तस्बिर स्रोत, AFP

रोबर्ट मुगाबेले जिम्बाब्वेमा झण्डै चार दशक शासन गरे।

अल्पसंख्यक श्वेतहरुको शासनविरुद्धको स्वतन्त्रता युद्धमा जित हात पारेपछि उनलाई देश-विदेशमा नायकको सम्मान मिल्यो।

तर उनले शुरुमा गरेका मेलमिलापका आह्वानले देशको राजनीतिक वातावरण बिग्रिनबाट रोकेन सकेन्।

सन् १९८० को दशकमा सरकारी फौजले देशको दक्षिणी क्षेत्रमा हजारौंको हत्या गरे।

जर्जर

त्यसपछि मुगाबेले श्वेतहरुको नियन्त्रणमा रहेको जमिन कब्जा गर्न आफ्ना समर्थकहरुलाई परिचालन गरे।

उक्त कदमले भयावह परिणाम निम्त्यायो र देशको अर्थतन्त्रलाई जर्जर बनायो।

मुगाबेले स्वतन्त्रता संघर्षदेखि सत्तामा रहँदासम्म सधैँ एउटै अवधारणा राखे।

मुगाबे

तस्बिर स्रोत, AFP

उनी आफ्नो दल जानु-पीएफका राष्ट्रवादीहरुले पुँजुवाद र उपनिवेशवाद गरी 'दुईटा खराब कुरा' विरुद्ध लडिरहेको बताउँथे।

उनका आलोचकहरुलाई 'गद्दार र एजेन्ट' जस्ता छापामार युद्धका समयमा प्रयोग गरिने शब्दावलीबाट गाली गरिन्थ्यो।

श्वेतहरुको नियन्त्रणमा रहेको जमिन कब्जा गरेकाले आफूलाई सत्ताबाट हटाउन ब्रिटेन नेतृत्वको पश्चिमा देशले जिम्बाब्वेको आर्थिक संकट सिर्जना गराएको आरोप उनले लगाउने गरेका थिए।

हेक्का

आलोचकका भनाइमा मुगाबेलाई आधुनिक अर्थतन्त्रले कसरी काम गर्छ भन्ने हेक्का थिएन।

उनीमाथि देशका स्रोतसाधनहरु विस्तार गर्नेभन्दा पनि बाँडेर खानेमा बढी केन्द्रित भएको आरोप छ।

सत्ताका अन्तिम वर्षहरुमा उनले शक्ति आर्जन गर्दै गएका आफ्ना विपक्षीहरुसँग निरन्तर लड्नुपर्यो र उनीहरुलाई पछार्न उनले अत्यधिक बल प्रयोग पनि गरे।

मुगाबे

तस्बिर स्रोत, EPA/THE HERALD

विपक्षीहरुलाई तर्साउन प्रयोग गरिएका सुरक्षा निकायले नै अन्ततः उनको सत्ता बहिर्गमनका लागि भूमिका खेले।

आफ्ना लामो समयका सहकर्मी एमर्सन मनाङगाग्वालाई उपराष्ट्रपतिबाट मुगाबेले बर्खास्त गरेपछि उनीहरु आक्रोशित बने।

श्रीमती ग्रेस मुगाबेले आफ्नो उत्ताराधिकारी बनाउने मुगाबेको प्रयासका कारण उनीहरुले जिम्बाब्वेको राजनीतिमा मुगाबे परिवारको नियन्त्रण रहने र आफ्नो शक्ति कम हुने आकलन गरे।

भविष्यवाणी

विगतमा उनले कैयौँ संकटहरुको सामना गरेका थिए र उनको शासन अन्त्य हुन लागेका भविष्यवाणीहरुलाई गलत साबित गरेका थिए।

तर ९३ वर्षको उमेरमा आफ्नै साथीहरु विपक्षमा उभिएपछि मुगाबेले सत्ता त्याग गर्नुपर्यो।

पूर्व शिक्षक रहेका मुगाबेको कार्यकालको एउटा सबैभन्दा ठूलो सफलता भनेको देशले शिक्षामा हासिल गरेको उपलब्धि हो।

जिम्बाब्वेको साक्षरता दर अफ्रिकाकै बढीमध्ये एक हो र त्यहाँका ८९ प्रतिशत जनसंख्या साक्षर छ।

बढ्दै गएका आलोचकहरुका लागि उनी एकजना राम्रो अध्ययन गरेका अरु अफ्रिकी तानशाह जस्तै स्वभावका चतुर नेता थिए जसले सत्तामा रहन पूरै देशलाई तहसनहस बनाए।