देउवा-ओली: लोकतन्त्र विरोधी भएको आरोप-प्रत्यारोप

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको एक-अर्काको आस्थामाथि प्रश्न उठाएका छन्।
दुई थरी चुनावी गठबन्धनको अगुवाइ गरेका ती दुई नेता पूर्वी नेपालको चुनाव प्रचारका क्रममा आरोप-प्रत्यारोपमा उत्रिएका हुन्।
लोकतान्त्रिक व्यवस्था वामपन्थी शक्तिले मात्र बलियो बनाउन सक्ने ओलीको दाबी छ।
अभ्यास
वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीको पक्षमा आयोजित चुनावी सभामा बोल्दै ओलीले भने, "कांग्रेसको निम्ति लोकतन्त्र भन्ने कुरा मात्र हो। साँचो लोकतान्त्रिक अभ्यास वामपन्थीले मात्र गर्छन्। लोकतन्त्रका हिमायती हामी हौं।"
उनी वाम गठबन्धनको समर्थनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको पक्षमा पनि चुनाव प्रचारमा संलग्न थिए।
लिङ्देन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय देखिएका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धामा छन्।

लोकतन्त्र विरोधी
गृह जिल्ला झापामा एमाले अध्यक्ष ओली माओवादी उम्मेदवारका साथै वामपन्थी गठबन्धनको साथ पाएका राप्रपाका उम्मेदवारको पक्षमा समेत प्रचारमा सहभागी भइरहेका बेला प्रधानमन्त्री देउवा चुनावी सभाहरुलाई सम्बोधन गर्न पूर्वी पहाडी जिल्ला पुगेका थिए।
प्रधानमन्त्री देउवाले ओलीको दाबीलाई अस्वीकार मात्र गरेनन्, बरु वामपन्थीलाई लोकतन्त्र विरोधी शक्तिको रुपमा प्रस्तुत गरे।
ताप्लेजुङमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, "कांग्रेसले जित्दा मात्र लोकतन्त्र बाँच्छ। वामपन्थीले जिते तानाशाह आउँछ। वामपन्थी लोकतन्त्र र जनता विरोधी हुन्छन्।"
दुवै नेताले चुनावी सभामा एकअर्कोले अगुवाइ गरेको चुनावी गठबन्धनको आलोचनामा धेरै समय खर्चेका थिए।








