दशैं बिदापछि फर्कने यात्रु चर्को भाडाको मारमा

दशैं बिदापछि राजधानी वा अन्य शहर फर्किने यात्रुहरुले चर्को गाडी भाडा तिर्नुपरेको गुनासो गरेका छन्।
गाडी सीमित हुने र समयमै फर्किनुपर्ने हुनाले बस व्यवसायीहरुलाई बढी भाडा तिर्न आफूहरु बाध्य भएको उनीहरुले बताएका छन्।
तर बस ब्यवसायीले भने बढी भाडा नउठाएको दाबी गर्दै यदि त्यस्तो भेटिए त्यस्ता बसको यात्रु बोक्ने नियमित तालिका क्यु नै रद्ध गर्ने बताएका छन्।
नेपाल प्रहरीले भने देशभरको सार्वजनिक यातायातमा कडाइका साथ जाँच गरिएको र हालसम्म ५० भन्दा बढी बसलाई कारबाही गरिएको जनाएको छ।
बाध्यता
काठमाण्डूट दशैं मनाउन गोरखाको बारपाक जाँदा सन्दिप श्रेष्ठले ४ सय ८० रुपैंया बस भाडा तिरेका थिए।
तर फर्किंदा उनले झन्डै दोब्बर भाडा तिर्नुपर्यो।
सोमबार काठमान्डू ओर्लेका उनले बीबीसीसंग भने, "लगभग दोब्बर नै तिर्नुपर्यो । गाडी त छ तर पनि काठमाण्डू आउने प्रायले ८ सय रुपैंया नै तिरेका छन्। सबै गाडी भरिभराउ छ । आउनै पर्यो। तिर्नै पर्यो भने जति । एकजना मात्र बोलेर भएन। "
सन्दिप जस्तै काठमाण्डू लगायत गाँउबाट शहर फर्किने प्राय: यात्रु नियमित भन्दा चर्को भाडा तिर्न बाध्य भएको बताउँछन्।
घर फर्किने चटारो हुने भएकोले भनेजति भाडा तिर्नुपरेको उनीहरुको गुनासो छ।
दशैं जस्तो ठूला चाडका बेला सधै नै हुने यस्तो समस्या रोक्न भन्दै प्रहरीले देशभरि नै यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो।
प्रहरीले बढी भाडा असुल्ने, बढी दरमा टिकट बेच्ने बिचौलिया र रुट इजाजत विना यात्रु बोक्नेलाई कारबाही गरिएको बताएको छ।
कारबाही
नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने, "बढी भाडा लिने लामो दूरीको सवारी चालक ५३, बढी दरमा टिकट बेच्ने बिचौलिया ३४ जना र रुट इजाजत विना चलाउने २१ गाडी माथि कारबाही गरिएको छ।"
उनका अनुसार विगतका दाँजोमा यो वर्ष यात्रुहरु ठगिने प्रतिशत भने कम छ।
तर बस ब्यवसायीहरुले भने सम्वन्धित स्थानको बाटोको स्थिति हेरेर स्थानीय अधिकारीहरुको रोहबरमा भाडा तय गरिएको र त्यो भन्दा बढी मूल्य नलिएको दाबी गर्छन्।
नेपाल बस ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनाल भन्छन्, "टिकट काटेर बढी भाडा लिने कुरा हुंदैन। कसैले मिलेर रिजर्भ गरेर एक दुई हजार रुपैंया बढी दिनका लागि सहमति हुन्छ भने त्यो पाइन्छ। किनभने त्यहाँ अर्को यात्रु चढाउन पाइन्न।"
यात्रुहरुले मद्दत गरे कारबाही प्रक्रिया अगाडि बढाउन अझ सहयोग पुग्ने प्रहरीको भनाइ छ।
बढी मूल्य असुल गरेको पाए त्यस्ता बसधनीको 'क्यु' नै रद्ध गर्न सक्ने बस ब्यवसायी महासंघ बताउँछ।
तर पनि यात्रुहरुले बढी मूल्य तिरेरै यात्रा गर्न क्रम भने नरोकिएको देखिन्छ।








