दशैं यात्राको कष्ट: टिकट भएपनि बस पाइएन

दशैंमा राजधानीबाट आफ्ना घर जान चाहने कैयौं यात्रुहरुले टिकट नपाउदाँ तथा अग्रिम टिकट लिएपनि बस नपाउँदा अलपत्र परेको देखिएको छ।
कतिपयले महंगो भाडा तिरेर भएपनि गन्तव्यमा पुग्न बाध्य भएको बताएका छन्।
दशैंको अष्टमीसम्ममा राजधानी बाहिर जानेहरुको चाप दैनिक एकलाखभन्दा बढी हुने गरेको बताइन्छ।
चिन्ता
श्रीमती र एकजना काखे बालक बोकेर लगातार दोस्रो दिन नयाँ बसपार्क पुगेका धरानका सागर प्रधान, अग्रिम बुकिङ गरेर पनि बस पाउन नसक्दा चिन्तित देखिए।
उनले भने, "टिकट त मैले पहिले नै काटेको थियो। हिजो जानुपर्ने थियो। तर बस सञ्चालकले बस आएन सरी भनेपछि फेरी घर फर्किनु पर्यो। आज पनि निश्चित छैन। उनीहरुले फोन नै उठाइ रहेका छैनन्। गाह्रो हुने भयो।"
नयाँ बसपार्क लगायत सुन्धारा, बल्खु, कोटेश्वर, गौशाला जस्ता, राजधानी बाहिरका लागि गाडी गुड्ने मुख्य स्थानहरुमा, टिकट किन्न आउने यात्रुहरुको निकै भीड देख्न सकिन्छ।
वाध्यता
त्यहाँ यात्रुहरुले महंगो भाडा तिर्नु परेको वा आधा बाटोको लागि पनि अन्तिम गन्तव्यसम्मको पैसा तिर्न बाध्य भएको बताउँछन्।
एक यात्रु दानबहादुर परियार आधा बाटोको मात्र टिकट पाएको बताउदै भने, "गाह्रो भयो नी। आफ्नै ठाँउमा जान टिकट पाएन। म गुल्मी सिमलटारी पुग्नुपर्ने, वुटवलसम्मको मात्र टिकट पाएको छ। त्यहाँ पुगेर के गर्ने हो थाहा छैन्।"
बसपार्कबाट सजिलै टिकट पाएको बताउनेहरु पनि केही भेटिए।
कतारबाट हिजो मात्र काठमाण्डू ओर्लेका सेतु नाथलाई रुकुम जाने टिकट पाउन गाह्रो नभएको सुनाउछन्।

उनले भने, "म हिजो कतारबाट आएको थिए। बसपार्कमा टिकट सजिलै पाइयो। विगतमा भन्दा अहिले सजिलो लाग्यो। १६ सय पर्ने टिकट अहिले १२ सयमा रुकुमको टिकट पाइयो।"
प्रयास
बसपार्कमा महंगोमा टिकट बिक्री हुन सक्ने सम्भावनालाई रोक्न भन्दै प्रहरीले अनुगमन कडा पारेको तथा यात्रुहरुको सुरक्षासम्बन्धी सन्देश माइकमार्फत प्रवाह गरेको देखिन्छ।
विगतमाभन्दा यसपालि यात्रुको लागि व्यवस्था सहज बनाउन प्रयास गरेको नयाँ बसपार्क प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गणेश नेपाल बताउँछन्।
उनी भन्छन्, "कतिपय यात्रु ठिक समयमा नआउंदा नी समस्या वढेको देखियो। एउटै सिटका लागि दोहोरो टिकट काटेको पनि पाइयो। चोरीका घटनाहरु फाट्टफुट्ट भएका छन्। तर त्यो विगत वर्षको दाँजोमा निकै कम छ। स्थिति अहिले राम्रै छ।"

तर महंगो भाडा लिइएको, टिकट नै नपाइएको र पाइएपनि बस उपलब्ध नभएको गुनासो भने रोकिएका छैनन्।
मुख्य भीड हुने दिन महाअष्टमीसम्म दैनिक १ लाख यात्रुले राजधानी छोड्ने अनुमान गरिएको छ।








