हजारौं यात्रु बाटोमा अलपत्र

सडक अवरुद्ध

तराईलाई काठमाण्डूसँग जोड्ने मुख्य राजमार्गको प्रमुख सडक खण्ड नारायणगढ-मुग्लिनमा बुधबार साँझ गएको पहिरो बिहीबार रातीसम्म पनि पन्छाउन नसकिएको अधिकारीहरुले जनाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मात्र उक्त खण्डको स्थलगत अवलोकन गरेर दशैंअघि बाटो बिस्तारको काम पुरा गर्न निर्देशन दिएका थिए।

नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको जोगीमारामा गएको पहिरोका कारण आवागमन ठप्प छ।

पहिरोको कारण नारायणढ र मुग्लिनको दुबैतर्फ करिब १५-१५ किलोमिटरसम्म सवारी साधनको लाम छ।

प्रयास

पहिरो हटाउने प्रयास बिहीवार बिहानदेखि गरिएको थियो।

तर धेरै स्थानमा पहिरो गएकाले सबै पन्छाउन नसकिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।

पहिरोहरुको बीचमा परेका सवारी साधनलाई एकतर्फी बाटो खोलेर पठाउने अवस्था पनि नरहेको अधिकारीहरुले जनाएका छन्।

पहिरोले सडक अवरुद्ध भए पछि बसमै निकै कष्टका साथ रात कटाउनु परेको यात्रुहरुले बीबीसीलाई बताए।

भोकभोकै

एकजना महिला यात्रुले भनिन्, "बुधबारदेखि बसमा बस्दाबस्दा खुट्टा सुन्निसके। निकै दुख पाइयो।"

देउवा
तस्बिरको क्याप्शन, प्रधानमन्त्री देउवाले बुधवबार स्थलगत अवलोकन गरेर बाटो विस्तार सम्पन्न गर्न र पहिरोको जोखिम न्यूनीकरणको निम्ति निर्देशन दिएका थिए

लामो समयसम्म सडक अवरुद्ध हुँदा सीमित खर्चको जोहो गरेर हिडेका यात्रु निकै सकसमा परेका छन्।

अर्का एक पुरुष यात्रुले बीबीसीसँगको कुराकानीमा भोकभोकै बाटोमा अलपत्र परेको गुनासो पोख्दै भने, "कहाँ जाने, के खाने? बसभित्र उकुसमुकुस भइसकियो।"

पछिल्लो पहिरोका कारण ४ वटा सवारी साधनमा क्षति पुगेको छ।

कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुले जनाएका छन्।