ह्वाइट हाउसबाट प्रिबस हटे

प्रिबस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रिबस (दायाँको) ठाउँमा केली (बायाँ) लाई नियुक्त गरिएको हो

ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना 'चिफ अफ स्टाफ' राइन्स प्रिबसको ठाउँमा जेनरल जन केलीलाई नियुक्त गरेका छन्।

एन्थोनी स्कारामुचीले प्रिबसलाई 'मानसिक रोगी' भनेका थिए।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत ह्वाइट हाउसका आफ्ना प्रमुख सहयोगी परिवर्तन गरेको जानकारी दिएका थिए।

उनले हाल अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयका निर्देशक अवकाशप्राप्त जेनरल जन केलीलाई नयाँ चिफ अफ स्टाफमा नियुक्त गरेको बताएका छन्।

परिवर्तन

चिफ अफ स्टाफको जिम्मेवारी सम्हालेको ६ महिनापछि प्रिबस उक्त पदबाट हटेका हुन्।

ट्रम्प

तस्बिर स्रोत, Reuters

राष्ट्रपति ट्रम्पका नयाँ सञ्चार निर्देशकले ह्वाइट हाउसभित्रबाट चुहिएका सूचनाहरुको सम्भावित श्रोतका रुपमा उनको नाम लिएका थिए।

त्यसपछि अप्ठेरोमा परेका प्रिबसले बिहीबार पदबाट राजीनामा दिएको अमेरिकी सञ्चार गृहहरुले उल्लेख गरेका छन्।

श्रृंखलाबद्ध ट्वीटहरुमार्फत राष्ट्रपति ट्रम्पले उनको सेवा र मुलुकप्रतिको प्रतिबद्धताका लागि धन्यवाद दिएका छन्।

कडी

प्रिबसको ठाउँमा नयाँ नियुक्त गरिएका केली अमेरिकी सेनाका अवकाशप्राप्त चार तारे जर्नेल हुन्।

उनी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका निर्देशक रहेका थिए।

उक्त निकायले सीमा व्यवस्थापन, आप्रवासन, साइबर ह्याकिङ र विपद व्यवस्थापन जस्ता क्षेत्र हेर्ने गर्छ।

संवाददाताहरुसँग बोल्दै राष्ट्रपति ट्रम्पले केलीलाई एक जना 'महान अमेरिकी' र एक जना 'वास्तविक नायक'को संज्ञा दिएका छन्।

वासिङटनस्थित बीबीसी संवाददाता भन्छिन, रिपब्लिकन दलको संस्थापन पक्ष र ट्रम्प प्रशासनलाई जोड्ने प्रिबस अन्तिम कडी रहेका थिए।

उनी भन्छिन्, अब राष्ट्रपति ट्रम्प आफ्ना बफादारहरुबाट घेरिएका छन्।