इयु आप्रवासी-लक्षित योजना सार्वजनिक

तस्बिर स्रोत, Getty Images
प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) का नेताहरु समक्ष ब्रिटेनले इयु छोडेपछि आफ्नो देशमा रहेका लाखौं इयु नागरिकको अधिकार सुरक्षित गर्ने नयाँ योजना प्रस्तुत गरेकी छन्।
ब्रिटेनमा पाँच वर्ष बसोबास गरेका इयु नागरिकलाई नयाँ आप्रवासी हैसियत प्रदान गर्ने आफ्नो योजना रहेको जानकारी मेले ब्रसल्समा युरोपेली नेताहरुलाई दिएकी छन्।
उनका अनुसार "सेटल्ड् इयु" भनिने आप्रवासी हैसियत दिइएपछि इयुका नागरिकले ब्रेक्जिटपछि पनि ब्रिटेनमा शिक्षा, स्वास्थ्य र अन्य सुविधा प्राप्त गर्न सक्ने छन्।
मेले ब्रिटेनमा बसोवास गर्ने कोही पनि इयु नागरिकले अहिले ब्रिटेन छोड्नु पर्ने अवस्था नरहेको बताइन्।
अपेक्षा
उनले इयु सदस्य राष्ट्रहरुले पनि आफ्ना देशमा रहेका ब्रिटेनका नागरिकलाई त्यस्तै व्यवहार गर्नु पर्ने आफ्नो अपेक्षा रहेको बताइन्।
टरिजा मेले भनिन्, "कसैले पनि अप्ठ्यारो स्थिति भोग्ने छैन। ब्रिटेनले निष्पक्ष र गम्भीर प्रस्ताव ल्याएको छ जस्ले ब्रिटेनमा बसोवास गरिरहेका नागरिकलाई स्थीरता दिनेछ।"
जर्मनीकी चान्सलर एन्गेला मर्कलले मेको प्रस्ताव राम्रो सुरुवात भएको बताइन्।
तर अझै पनि समाधान गर्नु पर्ने धेरै प्रश्नहरु बांकी रहेको उनको भनाइ छ।
ब्रिटेनले इयु छोड्ने भएपछि ब्रिटेनस्थित धेरै इयु सदस्य राष्ट्रका नागरिक र ब्रिटेन बाहिर रहेका ब्रिटिश नागरिकहरु आफ्नो भविष्यलाई लिएर चिन्तित थिए।








