मर्केलद्वारा माक्रोंको प्रशंसा

तस्बिर स्रोत, AFP
जर्मन चान्सलर एंगेला मर्केलले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एमानुएल माक्रों विजयी भएकोमा धेरै खुशी भएको भन्दै उनको युरोपप्रति सकारात्मक चुनावी अभियानको प्रशंसा गरेकी छिन्।
माक्रोंले दसौं लाख फ्रान्सेली जनता र अन्यत्रका मानिसको आशाको प्रतिनिधित्व गरेको मर्केलले बताइन्।
माक्रोंले विश्वप्रति खुलापनको नीति राखेको र उनी सामाजिक बजार सहितको अर्थतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै जर्मन चान्सलर एंगेला मर्केलले माक्रोंको प्रशंसा गरेकी छिन्।
उनीहरु दुइ जना छिटै भेट्ने भन्दै जर्मनीले युवा बेरोजगारी घटाउने जस्ता नीतिमा फ्रान्सलाई सहयोग गर्ने मर्केलले बताइन्।
तर त्यसको मतलब जर्मन नीति परिर्वतन गर्नु नभएको पनि उनले स्पष्ट पारिन्।
जर्मनीको धारणा
फ्रान्स र जर्मनीको सहकार्यलाई उनले जर्मन विदेशनीतिको एउटा खम्बा भनेकी छिन्।
तर युरोपलाई सहयोग गर्नका लागि जर्मनीले आफ्नो व्यापारबाट हुने फाइदा कटौिी गर्नुपर्छ भन्ने सुझावलाई उनले अस्वीकार गरिन्।
जर्मनीले गर्ने निर्यात उच्च गुणस्तरका जर्मन उत्पादन र युरोपको केन्द्रिय ब्यांकको नीतिमा आधारित भएको उनले बताइन्।
युरोपेली परिषदका अध्यक्ष जँ-क्लोड युंकरले फ्रान्सले धेरै पैसा खर्च गर्ने गरेको र त्यो मध्ये धेरैजसो गलत ठाउँमा हुने गरेको चेतावनी दिएका छन्।
सुधारको वाचा
माक्रोंले फ्रान्सको अर्थतन्त्रमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
बर्लिनबाट बीबीसीका डेमियन मक्गिनेस भन्छन्, युरोक्षेत्र भित्र जिम्मेवारी अझ बाँड्नुपर्छ भन्ने माक्रोंको आह्वानप्रति धेरै जर्मन सशंकित छन्।
फ्रान्सको अर्थतन्त्रलाई जर्मन करदाताहरुले सहयोग गर्नुपर्ने हो कि भन्ने उनीहरुको आशंका छ र त्यो सम्भावना त्यति लोकप्रिय हुने छैन।
माक्रों फ्रान्समा आर्थिक सुधार गर्नेबारेमा प्रतिबद्ध छन् भन्ने प्रमाण देखेपछि मात्रै उनका अवधारणालाई बर्लिनले स्वीकृति दिनेछ।








