उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने

उत्तर कोरिया

तस्बिर स्रोत, AFP

अमेरिकामा ट्रम्प प्रशासनले सिनेटका सबै एक सय सदस्यहरुलाई उत्तर कोरियाबाट उत्पन्न खतराबारे जानकारी गराउँदै प्योङ्गयाङ्गविरुद्ध उसले कुटनीतिक तथा आर्थिक प्रतिबन्धका माध्यमबाट दबाब दिने रणनीति बनाएको बताएको छ।

उक्त रणनीतिको उद्देश्य उत्तर कोरियालाई ब्यालिष्टिक क्षेप्यास्त्र तथा परमाणु कार्यक्रम छाड्न लगाउनु रहेको छ।

चीन

वाशिंगटनस्थित बीबीसी सम्वाददाता भन्छन् चीनलाई उत्तर कोरियामाथि चर्को दबाब दिन लगाउनु सो रणनीतिको एक मुख्य पाटो हो।

सिनेटर टेड क्रुजले चीनलाई समस्या समाधानमा सामेल गर्न सकिनेमा आफु सतर्कतापूर्वक आशावादी रहेको बताए।

उनले भने, "उत्तर कोरियालाई तरह लगाउने विषयमा चीनले मद्दत गरिरहेको प्रारम्भिक संकेत देखिएका बारे म सतर्कतापूर्वक आशावादी छु। मारा लागोमा भएको राष्ट्रपति ट्रम्प तथा राष्ट्रपति सी बिचको भेट केही फलदायी भएको देखिन्छ। हेरौं समयले बताउँछ कि चीन यसमा कत्तिको भरपर्दो साझेदार ठहरिन्छ।"

असामान्य

वाशिंगटनमा असामान्य तवरबाट अमेरिकी सिनेटका सबै एक सयजना सदस्यलाई बोलाई ह्वाइट हाउसमा उत्तर कोरियाबाट उत्पन्न खतराबारे छलफल गरिएको हो।

सिनेटर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सबै सयजना सिनेटरलाई बोलाएर उत्तर कोरियाबारे विशेष बैठक बसेको छ

यसअघि प्यासिफिक क्षेत्रमा रहेका अमेरिकी सेनाका वरिष्ठ कमाण्डरले दक्षिण कोरियामा आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिएको कार्यको बचाउ गरेका थिए।

उत्तर कोरियाले ताजा अस्त्र परीक्षण गर्ने आशंकाका माझ कोरियाली प्रायद्विपमा तनाव बढेको छ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षामन्त्री जीम म्याटिस तथा नेशनल इन्टेलिजेन्सका डिरेक्टर ड्यान कोट्सले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले कोरियाली प्रायद्विपमा शान्तिपूर्ण परमाणु निरस्त्रीकरण एवं स्थायित्व चाहेको जनाएका छन्।

तयार

किम जङ उन

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, उत्तर कोरियामा सेना निरीक्षण गर्दै राष्ट्रपति किम

सो लक्ष्य प्राप्त गर्न वार्ताका निम्ति तयार भएपनि आफु र आफ्ना साझेदारहरुको रक्षाका निम्ति अमेरिका तयार रहेको त्यसमा जनाइएको छ।

राष्ट्रपतिले उत्तर कोरियालाई परमाणु अस्त्र तथा ब्यालिष्टिक क्षेप्यास्त्र निरस्त्रीकरण गर्नका निम्ति चर्को आर्थिक प्रतिबन्ध लगाउने तथा साझेदारहरुसंग मिलेर कुटनीतिक विधि अपनाउने वक्तव्यमा उल्लेख छ।

बीबीसीकी सम्वाददाता बार्बरा प्लेट अशर भन्छिन् उत्तर कोरियाले अस्त्र प्रविधिमा गरेको विस्तारबाट अमेरिकीहरु गहिरो ढंगले चिन्तित छन्। राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल सकिनु अगावै उत्तर कोरियाले अमेरिकामा मार हान्न सक्ने गरि परमाणु वारहेड बनाइसक्ने उनीहरुको चिन्ता छ।