‘भारु साट्ने विश्वसनीय विधिको खोजी’

तस्बिर स्रोत, AFP
नेपाल र भारतका अधिकारीहरुबीच नेपालमा रहेका प्रतिबन्धित एक हजार र पाँच सयका भारतीय नोट साट्ने विषयमा बैठक हुँदैछ।
शनिबार निर्धारित बैठक विशेष कारणवश आइतबारका निम्ति सारिएको छ।
राष्ट्र ब्यांक डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीका अनुसार उक्त बैठक भारतीय केन्द्रीय ब्यांकका अधिकारीले केही साताअघि काठमाण्डूमा नेपाली अधिकारीसँग गरेको छलफलकै निरन्तरता हो।
नेपाली अधिकारीले पनि दिल्ली पुगेर भारतीय अधिकारीसँग सटहीबारे छलफल गरेका थिए।
भारतीय चिन्ता
राष्ट्र ब्यांकका अधिकारीले सटही समस्या सुल्झाउन सहज र विश्वसनीय उपाय खोज्न बैठक केन्द्रित हुने बताएका छन्।
जानकारहरुका अनुसार नेपालका ब्यांकमा रहेका भारु साट्न भारतीय अधिकारी तयार छन्।
तर सर्वसाधारणसँग रहेका नोट साट्ने विधि भरपर्दो होस् भन्ने भारत चाहन्छ।
खुला सीमा भएकाले भारतमा रहेको कालोधन साट्न नेपाललाई दिइने सटही सुविधा दुरुपयोग नहोस् भन्नेमा उसको चिन्ता रहेको नेपाली अधिकारीको बुझाई पाइन्छ।
मौन
शुरु-शुरुमा सटहीको प्रबन्ध मिलाउन सरकारलाई घच्घच्याएको नेपाल उद्योग वाणिज्य महासंघ अहिले मौन देखिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष पशुपति मुरारका भन्छन्, "पछिल्लो चरणमा व्यापारीले आफूसँग भएको पैसा कुनै न कुनै रुपमा साटेजस्तो लाग्छ मलाई। त्यसैले अब सर्वसाधारणसँग कति पैसा छ भन्ने निश्चित छैन। तर त्यो पैसा साट्न सरकारले ध्यान दिनुपर्छ।"
भारत सरकारले गत नोभेम्बर ८ तारिखमा एक हजार र पाँच सयमा नोटमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकलाई ती नोट साट्न डिसेम्बर अन्त्यसम्म समय दिएको थियो।
व्यवसायी र सर्वसाधाणसँग बाहेक नेपालका ब्यांकमा साढे ३ करोड जति त्यस्ता नोट रहेको राष्ट्र ब्याङ्कको भनाई छ।
लुकाएर राखिएको कालोधनलाई निशाना बनाउन ठूलो दरका नोटमा प्रतिबन्ध लगाइएको भारत सरकारले जनाएको थियो।








