भारतबाट थप ४० मेगावाट विद्युत

नेपालका नदीहरुमा जल सतह घट्न थालेको बेला नेपाल विद्युत प्राधिकरणले थप ४० मेगावाट बिजुली भारतबाट आयात गरेको छ।
अन्तर्राष्ट्रिय पात्रोमा वर्ष बदलिएसँगै मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत मध्यरातिबाट उक्त परिमाणमा बिजुली जोडिएको छ ।
लक्ष्य
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, "लोडसेडिङ् पूर्ण रुपमा अन्त्य गराउने लक्ष्यसहित हामीले भारतबाट बिजुली आयात गरेका छौं"।
यसअघि जाडो तथा सुख्खायाममा नेपालीहरुले दैनिक १६ घण्टासम्म बिजुली कटौती बेहोर्नुपरेको थियो।
ढल्केबरमा जोडिएको थप ४० मेगावाट बिजुली प्राविधिक कारणले हेटौंडा प्रसारण लाइनमा जोडिने प्राधिरकणका अधिकारीहरुले बताएका छन्।
राहत
यसबाट राजधानी काठमाण्डू र आसपासका क्षेत्रमा विद्युत आपूर्तिमा थप सहजता हुने बताइएको छ।
फेब्रुअरी महिनादेखि भारतको मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत थप ४० मेगावाट बिजुली आउने बताइएको छ।
नेपाललाई उज्यालो बनाउन चोरी तथा चुहावट नियन्त्रण र बिजुली थप गर्ने क्रमलाई निरन्तरता दिने प्राधिकरणको रणनीति रहेको अधिकारीहरुले जनाएका छन्।








