सुपरबग नष्ट पार्ने ब्याक्टेरिया

डेलोभिब्रियो

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, डेलोभिब्रियो ब्याक्ट्रियोभोरसले औषधि प्रतिरोधी सुपरबग नष्ट गर्न सक्ने अनुसन्धानले देखाएको छ
    • Author, जेम्स ग्यालेगर
    • Role, स्वास्थ्य र विज्ञान संवाददाता, बीबीसी न्यूज वेबसाइट

अरु ब्याक्टेरियालाई आफ्नो आहार बनाउने 'प्रेडटर ब्याक्टेरिया' औषधिहरुलाई प्रतिरोध गर्ने 'सुपरबग'विरुद्धको लडाइँमा नयाँ हतियार हुन सक्ने ब्रिटिश अनुसन्धानदाताहरुले बताएका छन्।

परीक्षणहरुले डेलोभिब्रियो ब्याक्ट्रियोभोरसले ज्यान लिन सक्ने संक्रमण हटाउन 'जीवित एन्टिबायोटिक'को रुपमा काम गरेको देखाएका छन्।

'करेन्ट बायोलोजी' मा प्रकाशित अध्ययनले डेलोभिब्रियले अरु खराब असर 'साइड इफेक्टस्' नरहेको संकेत गरेको छ।

औषधि प्रतिरोध गर्न सक्ने ब्याक्टेरिया बढेसंगै एन्टिबायोटिक्सले काम गर्न नसक्ने खतरा आउनसक्ने चिन्तामाझ वैज्ञानिकहरुले नयाँ प्रयोग गरिरहेका छन्।

डेलोभिब्रियो छिटो पौडन सक्ने ब्याक्टेरिया हो जसले आफू बसिरहेको ब्याक्टेरियालाई नै आहार बनाउंछ र उसको आकारमा वृद्धि हुन्छ।

कोसिस

इम्पेरियल कलेज लण्डन र युनिभर्सिटी अफ नटिंघमले 'फुड पोइजनिंग'को एउटा साझा कारणलाई ठीक पार्न डेलोभिब्रियोको प्रयोग गर्ने कोसिस गरेका थिए।

शिगेला ब्याक्टेरियाले १६ करोड मानिसलाई प्रत्येक वर्ष बिरामी पार्छ र मूलत: प्रदूषित खानाका कारण एक लाखभन्दा बढीको ज्यान जाने गर्छ।

प्रयोगशालामा गरिएका परीक्षणहरुले डेलोभिब्रियोले सुपरबग शिगेलालाई ४ हजार गुणाले घटाएको देखाएका छन्।

'प्रेडेटर ब्याक्टेरिया'ले संक्रमित पारिएका माछाका भुराहरु बांच्ने सम्भावना ६० प्रतिशतले बढेको पाइएको छ।

इम्पेरियल कलेज लण्डनका डा सेर्जे मोस्टोवीले बीबीसीसंग भने, "यो निश्चयनै रचनात्मक उपाय हो र अन्य ब्याक्टेरियालाई प्रतिरोधात्मक क्षमता विकास गर्न नदिने कुरा विशेष छ"।

उनले थपे, "जनावर र मानिसहरुमा प्रयोग गर्न मिल्ने जीवित एन्टिबायोटिकसम्बन्धमा गरिएको अनुसन्धानमा यो एउटा कोसेढुंगा हो"।

'खतरा'

यद्यपि अनुसन्धानदाताहरु शरीरभरि फैलिएको अवस्थामा भन्दा संक्रमित घाउको उपचारमा डेलोभिब्रियो बढी उपयोगी हुने ठान्छन्।

किनकी डेलोभिब्रियो घाउ संक्रमण भएको स्थानमा सजिलै प्रवेश गराउन सकिन्छ।

माछाको प्रतिरोधात्मक प्रणालीसंग उक्त ब्याक्टेरियाले राम्रो काम गरेको अनुसन्धानदाताहरुले पत्ता लगाएका छन्।

डेलोभिब्रियोले इ. कोलाइ र साल्मोनेला ब्याक्टेरियालाई पनि नष्ट गरेको पाइएको छ।