तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

दुर्घटनास्थलमा भेटियो ब्ल्याक बक्स, मृतकको शव आफन्तलाई बुझाउन सुरु

यो लाइभ पेजमा पोखरामा आइतवार भएको विमान दुर्घटनासँग सम्बन्धित विषयवस्तु र जारी खोजी र उद्धार अभियानबारे जानकारी प्रस्तुत गरियो।

लाइभ कभरेज

  1. यती एअरलाइन्स विमान दुर्घटनापछि सोमवार दिनभरि के भयो

    • उडानका विवरण र ककपिटमा भएका संवाद रेकर्ड हुनेब्ल्याक बक्स घटनास्थलबाट फेला पर्‍यो
    • विमानमा सवार ७२ जनामध्ये थप एक जनाको शव फेला पारिएसँगै ६९ जनाको मृत्यु भएको पुष्टि भयो, बाँकी तीन जनाको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्
    • कास्की जिल्ला प्रशासन कार्यालयका अनुसार ४३ जनाको शव पहिचान भयो
    • मृतकहरूको शव पहिचानमा थप सहजीकरणका लागि फरेन्सिक विज्ञहरूको एउटा टोली पोखरा पुग्यो
    • पहिचान हुन बाँकी, चालकदलका सदस्य र विदेशी यात्रुका समेत ४६ वटा शव काठमाण्डू ल्याइने
    • यती एअरलाइन्सद्वारा आफ्ना सम्पूर्ण उडान रद्द
    • यती एअरलाइन्सलाई आफ्ना विमानहरू स्वयं जाँच गर्न भनिएको र मङ्गलवार सरकारको ‘जाँचसूचीहरू’ बमोजिम हेरेर उडान गर्न दिइने सरकारी नियामक निकायका प्रवक्ताको भनाइ

    यसका साथै हामी यो लाइभ पेज यही टुङ्ग्याउँछौँ। धन्यवाद।

  2. 'बिदा हैन, सबैतिर सुरक्षित आकाशबारे कुरा हुनुपर्छ'

  3. 'आफन्तलाई शव बुझाउन सुरु'

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमवार अपराह्ण एउटा विज्ञप्ति जारी गर्दै पोखरामै शव बुझ्न चाहेका आफन्तहरूलाई त्यहीँबाट शव बुझाउन सुरु गरिएको जनाएको छ।

    त्यसैगरी नेपाली सेनाको हेलिकप्टरमार्फत् बाँकी शवहरू काठमाण्डू ल्याइने समेत प्राधिकरणले जनाएको छ।

    पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका बीबीसी संवाददाता नारायण कार्कीले चालकदल, विदेशी र पहिचान हुन बाँकीहरूको शव भने काठमाण्डू ल्याइने तयारी भइरहेको बताएका छन्।

    विमानमा सवार अझै तीन जनाको अवस्था थाहा हुन सकेको छैन।

  4. ’१३ वर्षको उद्धारकार्यमा मैले यस्तो घटना पहिलो पटक देखेँ’

  5. शव पहिचान गर्न काठमाण्डूबाट पनि गयो विज्ञहरूको टोली

    पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार थप एक जनाको शव सेती नदीको खोँचमा फेला परेको छ।

    यससँगै सोमवार दिउँसोसम्म ६९ जनाको शव सङ्कलन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बीबीसीलाई बताएका छन्। हराइरहेका तीन जनाको खोजी भइरहेको छ।

    "अहिले ४३ जनाका आफन्तले मृतकहरूको शव पहिचान गरिसकेका छन्," शाहीले भने।

    "हुलियाका आधारमा सजिलै पहिचान गर्न सकिने शवहरूको हकमा पोखरामै पोस्टमोर्टम गर्ने र अरू शव काठमाण्डू लैजानेबारे विज्ञहरूको छलफल भइरहेको छ," उनले भने।

    मृतकका आफन्तहरू यतिखेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेला भएका छन्।

    शव पहिचान गर्ने कार्यमा सघाउन काठमाण्डूबाट समेत फोरेन्सिक विज्ञहरूको एउटा टोली सोमवार पोखरा पुगेको छ।

  6. पोखरा विमान दुर्घटना: कसरी गरिँदैछ खोजीकार्य, कति चुनौतीपूर्ण?

  7. दुर्घटनास्थल र शव राखिएको अस्पतालमा के भइरहेको छ?, तस्बिरहरू

    पोखरामा आइतवार यती एअरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्त पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह बाहिर भेला भएका छन्। त्यहाँ उनीहरू शव परीक्षणको प्रतीक्षामा रहेको पोखरास्थित यती एअरलाइन्सका एक जना कर्मचारीले जानकारी दिए।

    “चिकित्सकको पर्खाइका कारण पोस्टमोर्टम सुरु हुन केही ढिला भएको हो। उहाँहरू आइपुग्नु भएको छ। अबको आधा घण्टामा परीक्षण सुरु हुन्छ होला,” यती एअरका कर्मचारी हर्क रावलले बीबीसीसँग भने।

    उनका अनुसार विदेशी नागरिक र सनाखत नभएका शवहरू पोस्टमोर्टम गर्न काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको छ। “स्थानीयवासी रहेका मृतक र यहीँ सनाखत भएका शवहरूको मात्र पोखरामा परीक्षण हुन्छ भनिएको छ,” उनले बीबीसीलाई भने।

    हालसम्म भेटिएका ६८ शवहरूमध्ये ४२ जनाको शव पहिचान भएको रावलले जानकारि दिए।

    विमानमा सवार कुल ७२ जनामध्ये ४ जनाको खोजी तथा उद्धारको प्रयास जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार करिब ८०० जना सुरक्षाकर्मी खोजी कार्यमा जुटेका छन्।

  8. शव पाउने आशामा आफन्तहरू

    पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको पोस्टमोर्टम कक्ष अगाडि यती एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तको भीड लागेको छ।

    अधिकारीहरूले आजबाट आफन्त र परिवारलाई शव हस्तान्तरण गर्ने बताएका छन्।

    नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनास्थलबाट सङ्कलित शवको पोर्टमोर्टमका लागि काठमाण्डूबाट फरेन्सिक विज्ञहरूको टोली पोखरा लगिएको जनाएको छ।

    शव बुझ्न पोखरा पुगेका आफन्तहरूलाई स्थानीय एक होटलमा बसोबासको व्यवस्था मिलाइएको छ।

    पोखरामा आफन्तले बुझ्न चाहेका शवहरू पोष्टमोर्टमपछि हस्तान्तरण गरिने र बाँकीलाई काठमाण्डू ल्याइने अधिकारीहरूले बताएका छन्।

    पहिचान खुल्न नसकेका र विदेशी नागरिकका शव पनि काठमाण्डू ल्याइने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

    दुर्घटनास्थलबाट सङ्कलित ६८ शवमध्ये क्याप्टेन कमल केसी सहित ४१ जनाको शव पहिचान भएको गण्डकी प्रदेश कार्यालयका प्रहरी उपरीक्षक खड्ग खत्रीले जानकारी दिएका छन्।

  9. विमानचालकको शव पहिचान

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार दुर्घटनास्थलमा फेला परेका सबै ६८ वटा शव अस्पतालमा राखिएको छ।

    अहिलेसम्म मृतकमध्ये ४० जनाको शव पहिचान भइसकेको उनले बताए।

    यती एअरलाइन्सको उक्त विमानका क्याप्टेनको शव उनकी श्रीमतीले पहिचान गरेको शाहीले बताए।

  10. दुर्घटनामा पर्नुअघि विमानले 'अवतरण गर्ने दिशा फेरेको थियो'

  11. अहिलेसम्म ३७ जनाको शव पहिचान

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, एसपी, खड्ग खत्रीका अनुसार मृतकमध्ये सोमवार अपराह्णसम्म ३७ जनाको शव पहिचान भएको छ।

    अधिकारीहरूले यती एअरलाइन्सको विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको जनाएका छन् भने हराइरहेका चार जनाको खोजी जारी छ।

    पोखरास्थित बीबीसी संवाददाताका अनुसार चालकदलका सदस्य र विदेशी नागरिकहरूको शव पोस्टमोर्टम गर्न काठमाण्डू पठाइने भएको छ।

  12. ब्ल्याक बक्सले कसरी विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ

  13. भेटिएका सबै शव अस्पताल पुर्‍याइयो

    पोखरास्थित सेती नदीको खोँचबाट सोमवार बिहान थप दुई जनाको शव उद्धार गरेसँगै यती एअरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट भेटिएका ६८ वटै शव गण्डकी अस्पताल पुर्‍याइएको अधिकारीहरूले बताएका छन्।

    ती मध्ये २६ वटाको मात्र सनाखत भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिएका छन।

    ती शवहरूको पोस्टमोर्टमको प्रतिक्षा भैरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। विमानमा सवार अन्य चार जना हराइरहेकाहरूको खोजी जारी रहेको बताइएको छ।

  14. सेती खोँचमा भेटियो ब्ल्याक बक्स

    पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।

    "ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो," उनले भने।

  15. विमानमा को थिए?

    नागरिक उड्डयन प्राधिकरणका अनुसार यती एअरको दुर्घटनाग्रस्त विमानमा चालकदलका चार जनासहित ७२ जना सवार थिए।

    यात्रुमध्ये ५३ जना नेपाली र बाँकी विदेशी नागरिक थिए।

    • भारतीयः ५ जना
    • रुसीः ४ जना
    • कोरियालीः २ जना
    • आइरिशः १ जना
    • अस्ट्रेलियालीः १ जना
    • आर्जेन्टिनीः १ जना
    • फ्रान्सेलीः १ जना

    यती एअरलाइन्सका अनुसार विमानमा भएका ६८ जना यात्रु मध्ये ४१ पुरुष र २७ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु थिए।

  16. यती एअरलाइन्सको विमान दुर्घटनामा हराइरहेका व्यक्तिको खोजी किन जटिल

  17. खोजीको क्रम तीव्र

    नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सोमवार बिहान ७ बजेदेखि आइतवार भएको विमान दुर्घटनामा परेर हराइरहेका चार जनाको खोजी कार्य तीव्र पारिएको छ।

    आइतवार काठमाण्डूबाट पोखरा पुगेको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। हालसम्म विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको बताइएको छ।

    तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खोजी तथा उद्धारकार्यमा खटेका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार उद्धारमा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

    यद्यपि विमान दुर्घटना भएको ठाउँमा खोँच र नदी भएका कारण उद्धारमा कठिनाइ भएको छ।

    उनले हराइरहेका व्यक्तिको सङ्ख्या छ हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

    "दुई जनाको दोहोरो गणना भए जस्तो देखिएको छ। अस्पतालमा अहिलेसम्म ६६ जनाको मात्रै शव पुगेको अवस्था रहेछ," उनले भने।

  18. दुर्घटनाअघि के भएको थियो?

    आइतवार पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको विमानले धावनमार्गबाट करिब २४.५ किलोमिटर नजिक पुगेपछि अवतरण गर्ने मोहडा परिवर्तन गरेको एक अधिकारीले बीबीसीसँग बताए।

    अवतरणका लागि "क्लिअरन्स" पाइसकेको उक्त विमान क्याप्टेन कमल केसीले नेतृत्व गरेका थिए। एक जना अधिकारीका अनुसार विमानस्थलबाट आँखैले देखिने ठाउँमा आइपुगिसकेको विमान १० देखि २० सेकेन्डभित्र धावनमार्गमा अवतरण गर्ने अनुमान एअर ट्राफिक कन्ट्रोलको थियो।

    पोखरा विमानस्थलका प्रवक्ता विष्णु अधिकारीका अनुसार आइतवार पोखराको मौसम पनि सफा थियो र उडानहरू पनि नियमित थिए।

    प्रत्यक्षदर्शीहरूका अनुसार उक्त विमान असामान्य रूफमा निकै तलबाट आएको थियो र त्यसबाट अस्वाभाविक चर्को आवाज सुनिएको थियो। बीबीसीसँग कुरा गरेका अधिकांश प्रत्यक्षदर्शीले उक्त विमान “आफ्नै घरमा ठोक्किएला जसरी आएको” बताएका छन्।

    यो पनि पढ्नुहोस्

    • यती एअरलाइन्सले अन्तिम समयमा 'अवतरण गर्ने दिशा फेरेको थियो'
  19. पोखरामा प्रत्यक्षदर्शीले के देखे

  20. पोखरा विमान दुर्घटनाबारे हामीलाई के थाहा छ?

    आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको 9N-ANC, ATR-72 500 विमान दुर्घटनाग्रस्त भएको थियो।

    काठमाण्डूबाट पोखरा पुगेको उक्त विमान घारीपाटनस्थित मानव बस्तीबाट करिब २०० मिटर मात्रै पर सेती नदीको खोँचमा खसेको हो। विमानमा सवार कुल ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको छ।

    यो नेपालको करिब तीन दशकयताकै सबैभन्दा ठूलो मानवीय क्षति गर्ने हवाई दुर्घटना भएको जानकारहरूले बताएका छन्।

    दुर्घटना के कारणले भयो भन्ने कुरा स्पष्ट छैन। घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच-सदस्यीय जाँच आयोग गठन गरिएको छ।

    दुर्घटनामा ज्यान गुमाउनेहरूको शोकमा सोमवार देशभरि सार्वजनिक बिदा दिइएको छ।