तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

सङ्घर्षविराम गरेर युक्रेनीलाई अन्यत्र लैजाने प्रयासबीच बाल अस्पतालमा रुसी हमला

हजारौँ मानिसहरूलाई युक्रेनको सुमी सहरबाट सुरक्षित रूपमा अन्यत्र जान दिइएको छ।

लाइभ कभरेज

  1. तस्बिरमा: अग्नि नियन्त्रकहरू डीनिप्रोमा आगो निभाउने प्रयत्नमा

    युक्रेनको दक्षिण-पूर्वी क्षेत्र डीनिप्रोमा रुसी बमबारीपछिका दृश्यले त्यहाँ भएका क्षति दर्शाउँछन्।

    हामीले प्राप्त गरेका तस्बिर र भिडिओ फूटेजमा विध्वंस र अग्नि नियन्त्रण गर्ने प्रयत्न देखिएका छन्।

    अहिलेसम्म डीनिप्रोमा एक जनाको ज्यान गएको युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसेजले जनाएको छ।

  2. डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव के हुन्

  3. अस्पतालमा रुसी आक्रमण, बाल तथा प्रसूति वार्डमा असर

    रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलस्थित एउटा बाल अस्पताल ध्वस्त पारेको त्यहाँको नगर परिषद्ले जनाएको छ।

    फेसबुकमा जारी गरिएको विज्ञप्तिमा अधिकारीहरूले "हस्तक्षेपकारी रुसी फौजहरूले बाल अस्पतालमा कैयौँ बम खसालेको’ बताएका छन्।

    “निकै ठूलो क्षति भएको छ।”

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाका फुटेजसहित ट्वीट गर्दै त्यसलाई ‘सीधा हमला’ को सङ्ज्ञा दिएका छन्।

    "बालबालिका भग्नावशेषमुनि छन्। बर्बरता! कहिलेसम्म विश्व यो आतङ्कलाई बेवास्ता गरेर सहयोगी बनिरहन्छ?”

    अधिकारीहरूले हताहत हुने मानिसको स्पष्ट सङ्ख्या अझै थाहा नभएको बताएका छन्।

    एक युक्रेनी सैन्य अधिकारीले घाइतेहरूलाई नजिकैको अर्को अस्पताल सारिएको बताएका छन्।

    बीबीसीले त्यस्तो आरोपको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। तर एक स्थानीय सांसदले बीबीसीसँगको कुराकानीमा त्यस्तो दाबी दोहोऱ्याएका थिए।

    त्यसअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिणपूर्वी सहर मारिओपोलमा ‘हस्तक्षेप गर्न र हाल रुसी फौजको नाकाबन्दीमा रहेका झन्डै चार लाख मानिसहरूलाई सहायता दिन’ आह्वान गरेका थिए।

  4. युक्रेनीहरू कहाँ गइरहेका छन्?

  5. भाडा नबढाए सार्वजनिक सवारीसाधन नचलाउने चेतावनी, के भन्छ सरकार

  6. ‘अब सीमामा सहायताको प्रयास गर्ने बेला’- संयुक्त राष्ट्रसङ्घ

    हामीले आफ्नो घर छाडेर छिमेकी देशमा आश्रय खोजिरहेका युक्रेनी शरणार्थीबारे विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौँ।

    यतिखेर संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरका प्रमुखले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्नेमा हुनुपर्ने बताएको रोएटर्स समाचार संस्थाले जनाएको छ।

    स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा यूएनएचसीआरका उच्चायुक्त फिलिपो ग्रान्डीले देशहरूबीच शरणार्थीको बाँडफाँटबारे छलफल गर्नुभन्दा अहिले "सीमामा गएर सहायता गर्ने बेला" भएको बताए।

    उनले मल्डोभालाई लक्षित गर्दै त्यहाँ शरणार्थी आउने क्रमले अवस्था दयनीय बनेको बताए।

    युक्रेनसँग सिमाना जोडिएको मल्डोभा युरोपेली सङ्घ ईयूको सदस्य नरहेको देश हो।

    शनिवार मल्डोभाका विदेशमन्त्रीले आफ्नो देश शरणार्थीको भार थेग्न नसक्ने अवस्थामा पुगेकोे बताएका थिए।

    ग्रान्डीले रुसी हमला सुरु भएयता युक्रेन छाड्ने मानिसको सङ्ख्या २१ देखि २२ लाख बीच पुगेको हुनसक्ने बताएका छन्।

  7. १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक

  8. सर्वसाधारण मानिसलाई बाहिर जान दिन छवटा निकास मार्ग - युक्रेन

    युक्रेनले बुधवार छवटा मार्गबाट सर्वसाधारण मानिसलाई अन्यत्र पठाउन प्रयास गरिने बताएको छ।

    युक्रेनकी उपप्रधानमन्त्रीका अनुसार त्यसरी उद्धारको प्रयास गरिने सहरहरूमा रुसी सेनाको घेराबन्दीमा परेको मारिओपोल पनि छ।

    एउटा भिडिओ सन्देशमा उनले युक्रेनी सेनाले ती क्षेत्रमा १२ घण्टा सङ्घर्षविराम गर्ने बताएकी छन्।

    स्थानीय समयानुसार बिहान ९ बजेदेखि साँझ ९ बजेसम्म आफूहरूले त्यसो गर्ने बताउँदै उनले रुसी सेनालाई पनि स्थानीय युद्धविराम पालना गर्न आग्रह गर्ने बताइन्।

    मङ्गलवार युक्रेनले धेरै मानिसलाई सङ्घर्ष भएका ठाउँबाट अन्यत्र निकालेको थियो। रुसी आक्रमणको निसानामा परेको उत्तरपूर्वी सहर सुमी सहरबाट अनुमानित ५,००० मानिसलाई मध्य युक्रेनको पोल्ताभातिर पठाइएको छ।

    किएभस्थित अधिकारीहरूले यसअघि मस्कोलाई दक्षिणी सहर मारिऊपोलबाट निस्किने प्रयास गरिरहेका नागरिकलाई लक्षित गरेर बाटोमा गोलाबारी गरेको आरोप लगाएका थिए।

    ती छवटा प्रस्तावित मार्ग सञ्चालन हुने कुरा अझै प्रष्ट भइसकेको छैन।

    यसअघि रुस वा उसको साझेदार बेलारुसतर्फ जाने बाटोको प्रस्तावलाई युक्रेन सरकारले अस्वीकार गरेको थियो।

  9. सुमीमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु

    युक्रेनको सुमी सहरमा भएको एउटा हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको विवरण आएको छ। मृतकमध्ये तीन बालबालिका छन्।

    सुमीका प्रशासक दिमित्रो झिभित्सकीका अनुसार रुसले आवासीय क्षेत्रमा राति बम आक्रमण गरेको थियो। उनले त्यसलाई "सामूहिक हत्या" को सङ्ज्ञा दिएका छन्।

    उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको बीबीसीलाई बताए।

    एउटै घरमा नौ जनाको मृत्यु भयो। छवटा घर ध्वस्त भए भने २० वटामा आंशिक क्षति पुगेको छ।

    रुसले उक्त सहरमा बम आक्रमण गर्न रोक्ने र मानिसहरुलाई अन्यत्र जान बाटो दिने बताएपछि सुमीबाट अहिेलसम्म ५,००० मानिसलाई अन्यत्र पठाइएको छ।

  10. रुसविरुद्ध प्रतिबन्ध थपिने क्रम जारी

    सर्वाधिक प्रतिबन्ध खेप्ने देशहरूको सूचीमा रुस शीर्ष स्थानमा पुगेको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबारे अभिलेख राख्ने वेबसाइट Castellum.ai ले देखाएको छ।

    उक्त साइटका अनुसार फेब्रुअरी २२ अगाडि नै रुसविरुद्ध २,७५४ वटा प्रतिबन्ध कायम थिए।

    युक्रेनमा आक्रमण गरेपछि रुसमाथि थप प्रतिबन्ध लगाइयो। अहिले रुसविरुद्ध कुल ५,५८१ वटा प्रतिबन्ध छन्।

    युक्रेनमा आक्रमण रोक्न दबाव दिन विश्वभरिबाट रुसविरुद्ध प्रतिबन्ध लगाउने क्रम जारी छ।

    यसअघि शीर्ष स्थानमा रहेको इरानविरुद्ध ३,६१६ वटा प्रतिबन्ध छन्। रुसले इरानलाई पनि उछिनेको छ।

    रुसले खेप्नुपरेका प्रतिबन्धमध्ये संयुक्त राज्य अमेरिकाले सर्वाधिक र त्यसपछि यूके र ईयूले लगाएका छन्।

    यो पनि पढ्नुहोस्

    • पश्चिमा देशहरूद्वारा रुसी तेल र ग्यासमा प्रतिबन्ध घोषणा
  11. प्रतिबन्ध सामना गर्न के रुसले चीनसँग सहयोग माग्न सक्छ

  12. ब्रेकिंग, रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा भेट हुने

    रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ (बायाँ) र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुन लागेको रुस सरकारले पुष्टि गरेको छ।

    फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण सुरु भएपछि उनीहरूबीच हुने लागेको यो पहिलो बैठक हो।

    लाभ्रोभ एउटा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन टर्की जान लागेका हुन्। त्यहाँ नै उनको कुलेबासँग भेट्ने योजना तय भएको विदेश मन्त्रालयकी एक प्रवक्तालाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यम आरआईए नोभोस्तीले जनाएको छ।

    टर्कीका विदेशमन्त्रीले त्रिपक्षीयबैठक प्रस्तावित गरेका हुन्।

    अहिलेसम्म उक्त बैठक बिहीवार हुने बताइएको छ। कूटनीतिक मञ्चको बैठक भने शुक्रवार हुनेछ।

    रुस र युक्रेनबीच शान्तिवार्ता चुनौतीपूर्ण देखिएको छ। अहिलेसम्म भएका वार्तामा कुनै सहमति हुन सकेको छैन।

  13. युक्रेन छोड्नेमध्ये आठ लाख बालबालिका - सेभ द चिल्ड्रन

    रुसले आक्रमण गरेपछि युक्रेन छोडेर भागेका २० लाख मानिसमध्ये झन्डै आठ लाखजना बालबालिका भएको सेभ द चिल्ड्रेनले बताएको छ।

    उक्त संस्थाका अनुसार तीमध्ये धेरै जनाले एक्लै यात्रा गरिरहेका छन्।

    "बाबुआमाहरू आफ्ना सन्तानलाई जोगाउन एकदमै खतरनाक, मन कुँडिने खालका उपाय अवलम्बन गरिरहेका छन्। तीमध्ये आफू घरमै बसेर तिनका लागि सुरक्षा खोज्न सुरक्षा छिमेकी र इष्टमित्रसँग युक्रेनबाहिर पठाउनु पनि पर्छ," उक्त संस्थाकी इरिना सागोयानले भनिन्।

    जापोरिज्यास्थित घरबाट एक्लै हिँडेका एक ११ वर्षीय बालक १,२०० किलोमिटर लामो रेलयात्रा गरेर स्लोभाकिया आइपुगेको विवरण हिजो प्रकाशित गरिएको थियो।

    युक्रेन छोडेका आधाभन्दा बढी शरणार्थीहरू पोल्यान्ड अनि त्यसपछि हङ्गेरी र स्लोभाकिया गइरहेका छन्।

  14. ब्रेकिंग, किएभमा फेरि विस्फोटनको आवाज

    युक्रेनको राजधानी किएभ र वरपरको क्षेत्रमा केही मिनेटअघि विस्फोटन भएको सुनिएको विवरणहरू प्राप्त भएका छन्।

    त्यहाँबाट पत्रकारहरूले शृङ्खलाबद्ध विस्फोट भएको जानकारी दिएका हुन्।

    किएभमा फेरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको छ।

    त्यहाँ बिहानको ६ बजेको छ।

  15. दुई दिनमा किएभ कब्जा गर्ने पुटिनको योजना थियो - सीआईए प्रमुख

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।

    मङ्गलवार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भनेः "मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन्। गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ।"

    पुटिन "धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा" तड्पिएको उनको भनाइ थियो।

    फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको "गहिरो निजी दृढ विश्वास" का कारण भएको उनले टिप्पणी गरे।

  16. युक्रेनकी प्रथम महिलाको नजरमा रुसी आक्रमण

    युक्रेनकी प्रथम महिलाले “युक्रेनी नागरिकको नरसंहार”को निन्दा गर्दै खुलापत्र लेखेकी छन्।

    ओलिना जेलेन्स्काले लेखेकी छन्,“रुसले अतिक्रमण गर्ला भन्ने कुरा पत्याउन असम्भव थियो। रुसी आक्रमणले लाखौँ मानिसका लागि त्रासदीपूर्ण वास्तविकता सिर्जना गरेको छ,खासगरी बालबालिकाका लागि।”

    तर प्रतिवाद गर्ने युक्रेनी नागरिकको कदमको उनले प्रशंसा पनि गरेकी छन्।

    “उत्तेजना फैलाउनले पुटिनले युक्रेनमाथि बमबारी गर्ने ठानेका थिए। तर उनले हाम्रो देश, हाम्रा मानिस र हाम्रो देशभक्तिलाई कम आँके।”

    अन्तर्राष्ट्रिय सहयोग र राहत प्रयासका लागि कृतज्ञता जाहेर गर्दै उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा बाँकी विश्वलाई “जे भइरहेको छ त्यो देखाउन र सत्य देखाउन” अपील गरेकी छन्।

    “परमाणु युद्ध शुरू गर्ने धम्की दिने गरेका पुटिनलाई यदि हामी रोक्दैनौँ भने हाम्रो लागि विश्वमा कतै सुरक्षित ठाउँ हुने छैन।”

  17. कैयौँ बहुराष्ट्रिय कम्पनीद्वारा रुसमा व्यवसाय बन्द

    युक्रेनमाथि आक्रमणको विरोध गर्दै थुप्रै बहुराष्ट्रिय कम्पनीहरूले रुसमा हाललाई सञ्चालन रोकेका छन्।

    ती कम्पनीमा युनिलिभर, स्टारबक्स, कोकाकोला, पेप्सीको, म्याक्डोनल्ड्स लगायतका छन्।

    सामाजिक सञ्जालमा रुसमा व्यवसाय बन्द गर्न दबाब खेपेसँगै कोकाकोलाले आफ्नो निर्णय सार्वजनिक गरेको हो। लगत्तै पेप्सीकोले पनि रुसमा बिक्रीबन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो।

    कोकाकोलाको विज्ञप्तिमा भनिएको छ, "हाम्रो हृदय युक्रेनमा भएका यी दुखद घटनाहरूबाट अनुचित प्रभावहरू सहने मानिसहरूसँग छ।"

  18. उत्तर अमेरिकी आवश्यकता पूरा गर्न भेनेजुएलाले तेल उत्पादन बढाउन सक्ने

    भेनेजुएलाले रुसी तेल प्रतिस्थापनका लागि सहयोग गर्न आफ्नो तेल उत्पादन प्रतिदिन चार लाख ब्यारलले वृद्धि गर्नसक्ने बताइएको छ।

    भेनेजुएलाको तेल च्याम्बरका प्रमुख रेनाल्डो क्विन्टेरोले बीबीसीसँग उक्त देशसँग आफ्नो उत्पादन स्तरलाई हालको दैनिक आठ लाख ब्यारलबाट बढाएर १२ लाख ब्यारल पुर्‍याउन सक्ने पूर्वाधार रहेको बताएका छन्।

    “त्यसले हामीलाई उत्तर अमेरिकी बजारको केही माग आपूर्ति गर्न सक्षम बनाउनेछ,” उनले भने।

    अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेका राष्ट्रपति निकोलास मडुरोको सरकारसँग भेटघाटका लागि हालै अमेरिकी अधिकारीहरूले अप्रत्याशित रूपमा उक्त देशको भ्रमण गरेको खबरमाझ उनको उक्त भनाइ आएको हो।

    यद्यपि अमेरिकी कङ्ग्रेसका केही सदस्यहरू रुसको अटल साझेदार भेनेजुएलासँग सम्बन्ध पुनर्स्थापित गर्ने कोसिसको कडा आलोचक रहँदै आएका छन्।

  19. रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

    युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले "रुसको अर्थतन्त्रको मुख्य धमनी"लाई नै प्रहार गर्ने बताएका छन्।

    ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। थप यो लिङ्कमा

  20. आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान

    रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मस्कोले युक्रेन कब्जा गरे त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने बताएका छन्।

    उनले युक्रेनको अवस्था चाँडै खतरनाक बन्नसक्ने भन्दै अमेरिकी नागरिकहरूलाई तत्काल उक्त देश छाड्न आह्वान गरेका छन्।

    इस्टोनिया, लाट्भिया र लिथुआनियाका नेताहरूले पूर्वी युरोपमा सैन्य सहयोग बढाउन आफ्ना नेटो साझेदारलाईआह्वान गरे लगत्तै बाइडनको उक्त भनाइ आएको हो।

    मस्कोले युक्रेनलाई कब्जा गर्ने योजनालाई अस्वीकार गरेको छ र पश्चिमा देशहरूलाई युद्ध उन्माद फैलाएको आरोप लगाएको छ।