तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

अहिले यो सरकार छ, सरकार रहन्छ: प्रधानमन्त्री केपी ओली

यो दैनिक लाइभ पेजमा आज फागुन १२ गते बुधवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

लाइभ कभरेज

  1. पशुपतिनाथमा सुनको जलहरी नहाल्न सर्वोच्चको अन्तरकालीन आदेश

    सर्वोच्च अदालतले पशुपतिनाथको मुख्य शिवलिङ्गमा सुनको जलहरी राख्ने काम नगर्न अन्तरकालीन आदेश जारी गरेको छ।

    न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सो आदेश जारी गरेको हो।

    अन्तरकालीन आदेशमा फागुन १७ गतेलाई दुवै पक्षबीच छलफल गराउने र छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनू भनी लेखिएको छ।

    पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने मङ्गलवार राति नै जलहरी हाल्ने कार्य सम्पन्न भएको बुधवार बिहान जनाएका थिए।

    मङ्गलवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ पुगी पूजा गरेकी थिइन्। डा. ढकालले सो पूजालाई जलहरी हाल्ने कार्य सम्पन्न भएपछि भएको पूजा बताएका थिए।

    रिट निवेदक प्रदेश सभासद् नरोत्तम वैद्यले भने आफू मन्दिर परिसरमा रहेको र सुनको जलहरी नहालिएको दाबी गरेका छन्।

    वैद्यले भने: "कोषमा सर्वोच्चको आदेश बुझ्ने कुनै कर्मचारी छैनन्, त्यसैले मैले पशुपतिनाथका भण्डारीलाई यस्तो आदेश आएको छ भनेर जानकारी गराएको छु।"

  2. प्रतिनिधिसभा पुनर्स्थापना पछि प्रधानमन्त्री ओली भन्छन्: ‘अहिले यो सरकार छ, सरकार रहन्छ’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै सरकार नफेरिने बताएका छन्।

    राजधानीमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले भने, “हामी हाम्रो कर्तव्यमा जुट्छौँ र देश बनाउँछौँ। यो सङ्कल्प निरन्तर अघि बढ्छ।"

    "अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको काम अघि बढिरहेको छ। तपाईँहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढङ्गले अघि बढ्नूस्।”

    ओलीले मङ्गलवारको संवैधानिक इजलासको निर्णयपछि नेकपाको प्रचण्ड माधवकुमार नेपाल समूहले खुसीयाली मनाएको तर्फ इङ्गित गर्दै भने, “मेरा केही भाइले लड्डु खाए। खुसी भए। के जिते मलाई थाहा छैन। के पाउँछन् हेर्नु छ।”

    उनले उक्त समूहले पुनः आफ्नो राजीनामा माग्ने आफूलाई लागेको उल्लेख गर्दै जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको सङ्कल्प’ परिवर्तन नहुने उल्लेख गरे।

    प्रचण्ड नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको छ।

    ओली पक्षले भने अदालतको फैसला कार्यान्वयन गरिने तर प्रधानमन्त्रीले राजीनामा नदिने बताइरहेको छ।

    उक्त कार्यक्रममा प्रधानमन्त्रीले नेपाल माटोको नक्सा तयार गर्ने दक्षिण एसियाकै पहिलो देश भएको उल्लेख गर्दै यसले कृषि क्षेत्रमा विशेष लाभ पुर्‍याउने चर्चा गरेका थिए।

  3. कोभिड अपडेट: थप ९४ सङ्क्रमित, एक जनाको मृत्यु

  4. ब्रेकिंग, प्रचण्ड- माधव नेपाल समूहका सबै विरोध कार्यक्रम रद्द

    नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल स्थायी कमिटीको केहीबेरअघि सम्पन्न बैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णय 'ऐतिहासिक' ठहर गरेको छ।

    काठमाण्डूको पेरिसडाँडामा सम्पन्न बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।

    उनका अनुसार बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द समेत गर्ने निर्णय गरेको छ।

  5. देउवा-प्रचण्ड-नेपालबीच भेटमा के कुरा भयो?

    नेपाल कम्युनिस्ट पार्टीका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधवार उनकै निवासमा छलफल गरेका छन्।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने फैसला गरेको भोलिपल्ट तीन पूर्वप्रधानमन्त्रीबीच के कुराकानी भयो?

  6. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पशुपतिनाथमा पूजा

    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी अनावरणको पूजा गर्ने कार्यसँगै जलहरी स्थापित गर्ने कार्य सम्पन्न भएको पशुपति विकास कोषले जनाएको छ।

    कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार पाँच दिनयता नेपाल र भारतका १२१ जना ब्राह्मणले पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गरेकी छिन्।

    थप सामग्री

    • पशुपति जलहरी विवाद: धार्मिक, परम्परागत र कानुनी प्रश्नहरूमाझ पशुपतिमा सुनको जलहरी स्थापना
  7. ब्रेकिंग, सर्वोच्चको फैसला कार्यान्वयन गर्ने केपी ओली समूहको नेकपाको निर्णय

    प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले विभिन्न चारवटा निर्णय गर्दै केहीबेरअघि सकिएको छ।

    सो समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, "अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।"

  8. काठमाण्डूमा नेकपाको नेपाल-दाहाल समूहको विजय जुलुस

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेको खुसियालीमा नेकपाको नेपाल-दाहाल समूहले काठमाण्डू उपत्यकामा विजय जुलुस निकालेको छ।

    विभिन्न ठाउँमा निस्केको जुसुल काठमाण्डूको रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको छ।

    सभालाई प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने बताइए पनि कार्यव्यस्तताका कारण त्यसको टुङ्गो नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    सर्वोच्च अदालतको फैसला आउनुअघि सो समूहका नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापित हुने विश्वास व्यक्त गर्दै आएका थिए।

  9. ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

    प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनर्स्थापित गरेको भोलिपल्ट प्रधानमन्त्रीले बैठक ठाकेका हुन्।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ११ बजे बोलाइएको बैठक केही ढिलो गरी बालुवाटारमा शुरू भएको थियो।

    बैठकको एजेन्डाबारे नेताहरूले केही बताएका छैनन्।

    आजै दिउँसो नेकपाको नेपाल-दाहाल समूहले संसदीय दलको बैठक बोलाएको छ।

  10. सर्वोच्चमा रिट दर्ता भए पनि पशुपतिमा जलहरी राखियो

    मङ्गलवार सर्वोच्च अदालतमा पशुपतिनाथमा सुनको जलहरी स्थापना विषयमा दुईवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएको थियो।

    मङ्गलवार राति नै पशुपति विकास कोषले मुख्य शिवलिङ्गमा १०८ किलोको सुनको जलहरी स्थापना गरेको छ।

    पशुपतिनाथमा सुनको जलहरी सम्बन्धमा विवाद के हो? सुनको जलहरी कसरी स्थापना गरियो?

  11. विवेकशील साझाद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग

    विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।

    पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै त्यस्तो माग गरेको हो।।

    प्रवक्ता शरदराज पाठकले एक विज्ञप्तिमा 'अदालतको फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको' बताइएको छ।

    विज्ञप्तिमा लेखिएको छ: "अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ। योसँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाव र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ।"

    राष्ट्रपति भण्डारीले राजीनामा नदिए 'पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग' लगाउन संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई पार्टीले आह्वान गरेको छ।

  12. सर्वोच्च अदालतको फैसला र प्रतिक्रिया

    हिजो बेलुकी सर्वोच्च अदालत प्रतिनिधिसभाले संसद् विघटनका सम्बन्धमा गरेको फैसला र त्यस सम्बन्धमा व्यक्त प्रतिक्रियाहरूका समाचारहरूले रनभुल्ल हुनुभएको छ भने सारांश जान्नुहोस्:

    १. सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ५ गते संसद्को तल्लो सदन विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गरेको हो।

    • विघटन बदर गर्ने फैसला र बदर गर्दा सर्वोच्च अदालतको पाँच मुख्य बुँदा

    २. फैसलापछि नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ।

    • हामीले प्रचण्डलाई 'अबको प्रधानमन्त्री को' भन्ने लगायत अन्य प्रश्नहरू सोधेका थियौँ। अन्तर्वार्ता यहाँ छ

    ३. फैसलापछि 'हुनसक्ने पक्षविपक्षका विरोधप्रदर्शन लगायतलाई ध्यानमा राखी' सुरक्षा व्यवस्थालाई लिएर थप सतर्कता अपनाइएको दुई प्रमुख सुरक्षा निकायले प्रतिक्रिया दिएका छन्

    ४. प्रधानमन्त्री ओलीले भने तत्काल राजीनामा नदिने र संसद्‌मा अविश्वासको प्रस्ताव सामना गर्ने उनका सल्लाहकारहरूले जनाएका छन्। सल्लाहकारहरूले 'अदालतको फैसला मान्नुपर्ने तर त्यसले राजनीतिक अस्थिरता ल्याउने' भन्ने खालका प्रतिक्रिया दिएका छन्।

    ५. फैसलालाई लिएर समाचार र विशेष सम्पादकीय लेख्दै मूलधारमा सञ्चारमाध्यमले सो विषयलाई प्राथमिकता दिएका छन्। कसले के लेखे भन्ने विषयमा हाम्रो सामग्री यहाँ छ

    यस विषयमा आज बुधवार दिनभरिका विभिन्न प्रतिक्रिया आउने छन् जसको प्रत्यक्ष अपडेट हामी यो पेजमा गर्नेछौँ।

  13. नमस्कार। शुभ प्रभात।

    नमस्ते। बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    यो लाइभ पेजमा आज फागुन १२ गते बुधवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

    अहिलेका प्रमुख अन्तर्राष्ट्रिय घटना यसप्रकार छन्:

    • अमेरिकी संसद्मा गत महिना भएको हमलाबारे सिनेटमा भएको पहिलो सुनुवाइमा पूर्व सुरक्षा अधिकारीहरूले सङ्घीय जाँच एजेन्सी एफबीआईले ट्रम्पका समर्थकको प्रदर्शन हिंस्रक हुनसक्ने चेतावनी दिएको दाबी गरेका छन्। तर उनीहरूले आफूहरूले उक्त चेतावनीबारेको प्रतिवेदन नहेरेको बताएका छन्।
    • एक्वेडरका तीनवटा जेलहरूमा भएका दङ्गामा परेर साठी जनाभन्दा बढी कैदीहरू मारिएका छन्। मङ्गलवार आन्डेन क्षेत्रका दुईवटा जेलहरूमा दङ्गा भड्किएको थियो। गुआयाकुलीस्थित अर्को जेलमा पनि उस्तै प्रकृतिको दङ्गा भड्किएको थियो।
    • अमेरिकाले इरानलाई संयुक्त राष्ट्रसङ्घीय परमाणु निकायसँग सहकार्य गर्नका लागि फेरि पनि आह्वान गरेको छ। उसले तेहरान सन् २०१५ को परमाणु सम्झौता पालन गर्नबाट पछि हटिरहेको बताएको छ।
    • इन्डोनेसियाकी विदेशमन्त्रीले यसै साताको अन्त्यतिर म्यान्मारको भ्रमण गर्ने अपेक्षा गरिएको छ। उनी तीन साताअघि म्यान्मारमा सैन्य कू भएपछि त्यहाँ भ्रमण गर्ने पहिलो विदेशी पाहुना हुनेछन्। इन्डोनेसियाली अधिकारीहरूले उक्त भ्रमण पुष्टि गर्न आफूहरू सक्षम नरहेको बताएका छन्।