तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

चुनावका लागि ७ अर्ब ७ करोड रूपियाँ भन्दा बढी माग, संवैधानिक निकायमा ३२ पदाधिकारीको शपथ

बुधवार दिनभरिका विभिन्न प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना विवरणहरूको नियमित अपडेट हामी यहाँ प्रस्तुत गरिरहेका छौँ।

लाइभ कभरेज

  1. 'अफगानिस्तानमा गृहयुद्धको खतरा'

    अफगानिस्तानको भ्रमणमा रहेका युरोपेली संघका वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयुद्धको साँच्चैको खतरा रहेको बताएका छन्।

    युरोपेली संघको सङ्कट व्यवस्थापन आयुक्त यानेस लेनार्चीचले शान्ति प्रक्रिया विफल हुने सम्भावना धेरै रहेको बताएका हुन्।

    गत वर्ष सेप्टेम्बर महिनामा शान्ति प्रक्रियाको थालनी भए पनि त्यसयता त्यो प्रक्रिया डगमगाएको छ।

    उनले सरकार र तालिबानका प्रतिनिधिबीच वार्ता गराउन सबै प्रयास गरिनुपर्ने बताए।

    फगानिस्तानमा मानवीय सङ्कटको मुख्य कारण नै जारी द्वन्द्व रहेको र अहिले करिब आधा जनसङ्ख्या भोकमरीको अवस्थामा पुग्न लागेको उनले बताए।

  2. कोभिड: उत्परिवर्तनसँग जुझ्न अक्सफोर्डको खोप 'शरद यामसम्ममा तयार'

    अक्सफोर्ड-एस्ट्राजेनेकाको टोलीले कोरोनाभाइरसको नयाँ प्रकारसँग जुझ्न आउँदो शरद यामसम्ममा खोप बाँड्नका लागि उपलब्ध हुने बताएको छ।

    अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्डी पोलार्डले खोपमा थोरैमात्रै परिवर्तन गर्न तुलनात्मक रुपमा छोटो प्रक्रिया भएको र त्यसका लागि सानो स्तरका परीक्षणमात्रै भए पुग्ने बताएका हुन्।

    उत्परिवर्तन देखा परे पनि हाल भएकै खोपले त्यसविरुद्ध काम गर्ने बलियो प्रमाण अहिले पनि छ। यद्यपि समग्र प्रभावकारिता भने सायद थोरै कमजोर हुन्छ।

    प्रकाशित वा अहिलेसम्म समीक्षा नगरिएको एउटा तथ्याङ्कले खोपले ६७ प्रतिशतसम्म सङ्क्रमण रोक्नसक्ने देखाएको छ।

    यसको अर्थ खोपले भाइरसको सङ्क्रमण फैलाउने क्रमलाई उल्लेख्य रुपमा सुस्त बनाउन सक्छ।

  3. सङ्क्रमितको सङ्ख्या अझै पनि 'चिन्ताजनक रुपमा धेरै' रहेको जोनसनको भनाइ

    ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेभर सङ्क्रमित हुनेको सङ्ख्या अझै पनि “चिन्ताजनक रुपमा धेरै” रहेको बताएका छन्।

    अहिलेसम्म १ करोड मानिसलाई खोप लगाइसक्ने स्वास्थ्यकर्मीको प्रयास उल्लेखनीय भएको भन्दै उनले उनीहरूको पनि प्रशंसा गरेका छन्।

    ७५ वर्ष उमेर नाघेका करिब ९० प्रतिशत मानिसहरूले कोभिडको पहिलो खोप लगाइसकेको उनले बताए।

    अस्पतालमा उपचार गर्ने बिरामीको सङ्ख्या घट्न थाले पनि एनएचएस अझै पनि “ठूलो दबाब” मा रहेको उनले बताए।

    कोरोनाभाइरसका बिरामीको उपचारका लागि अर्बौं रुपैयाँ चन्दा उठाएर एनएचएसलाई दिएका भूतपूर्व सैनिक सर टम मूरको प्रशंसामा प्रधानमन्त्री जोनसनले ताली बजाएका थिए।

    कोरोनाभाइरस सङ्क्रमणकै कारण मूरको १ सय वर्षको उमेरमा मङ्गलवार निधन भएको थियो।

  4. प्रचण्डलाई उपस्थित भएर अवहेलना मुद्दामा जवाफ दिन आदेश, प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधीशपछि प्रचण्डलाई पनि अवहेलना मुद्दामा आफै उपस्थित भएर जवाफ दिन सर्वोच्च अदालतको आदेश

    सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा आफै लिखित जवाफ पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको नाममा आदेश जारी गरेको छ।

    न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक सात दिनभित्र सबै ब्यहोरा सहित आफै लिखित जवाफ दिन प्रचण्डलाई भनेको छ।

    केही दिन अघि काठमाण्डूमा आयोजित एक विरोध सभामा प्रचण्डले “सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदमलाई सही ठहर्याए देश द्वन्द्वमा जान सक्ने चेतावनी” दिएका थिए।

    उनले “प्रतिनिधिसभा पुनर्स्थापना नभए लाखौँ जनता सडकमा उतार्ने” भन्दै अदालतले “देशमा फेरी द्वन्द्व वा अराजकता हुने खालको निर्णय लिने आफूले कल्पना गर्न नसक्ने” बताएका थिए।

    प्रतिनिधिसभा विघटन सम्बन्धी झण्डै एक दर्जन रिट निवेदनमाथि सुनुवाई भइरहँदा प्रचण्डले दिएको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

    यसअघि न्यायाधीश शर्माकै इजलासले प्रतिनिधिसभा विघटनबारेकै विचाराधीन मुद्दासँग जोडेर दायर गरिएको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्वप्रधानन्यायाधीशलाईसात दिन भित्र अदालतमा आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

    “प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्न नसक्ने” धारणा सार्वजनिक रूपमा राख्दै आएका प्रधानमन्त्री ओलीले सरकारको कदमको विपक्षमा अदालतमा बहस गरिरहेका वकिलहरूको आलोचना गरेका थिए।

    पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलेसंयुक्त विज्ञप्ति निकालेरप्रतिनिधिसभा विघटन गलत भएको धारणा राखेका थिए।

  5. चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड रूपियाँ

    निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषित आमनिर्वाचन सञ्चालन र व्यवस्थापनका लागि ७ अर्ब रूपियाँ भन्दा बढी खर्च लाग्ने भन्दै अर्थमन्त्रालयलाई पत्राचार गरेको छ।

    आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दुई चरणमा चुनाव गराउन निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ अनुसार ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रूपियाँ निकासाको माग गरिएको उल्लेख गरिएको छ।

    मंगलबारमात्रै निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने बजेटबारे अर्थमन्त्रीसँग छलफल गरेको थियो।

    कोभिड १९ को महामारीका बेला अपनाउनुपर्ने स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिँदै निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार पारिएको आयोगको भनाइ छ।

  6. कोभिड अपडेट: थप १४२ सङ्क्रमित, एक जनाको मृत्यु

    नेपालमा विगत २४ घण्टामा थप १४२ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सो अवधिमा २०६ जना निको भएका छन्।

    अहिले नेपालमा २,३३५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

  7. गायिका रिआनाको ट्वीटपछि भारतको कडा प्रतिक्रिया, भारतमा किसानहरूले नोभेम्बरदेखि विरोध प्रदर्शन गरिरहेका छन्।

    अमेरिकी पप गायिका रिआनाले प्रदर्शनकारी किसानको समर्थनमा ट्वीट गरेपछि भारतले विदेशी व्यक्तिहरू र चर्चित व्यक्तित्वले विषयलाई अनावश्यक उचालेको प्रतिक्रिया दिएको छ।

    रिआनाले ट्वीट गरेको केही घण्टापछि युवा जलवायु अभियन्ता ग्रेटा थुन्बर्ग र अमेरिकी उपराष्ट्रपतिकी भतिजी मीना ह्यारिसले पनि किसानको समर्थनमा ट्वीट गरेका थिए।

    ती ट्वीटहरू चर्चित भएका थिए।

    बुधवार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले संसद्‌ले पूर्ण छलफलपछि कृषि क्षेत्रको लागि सुधारोन्मुख कानुन पारित गरेको बताएको छ।

    उसले सामाजिक सञ्जालमा आएका ह्यासट्याग र प्रतिक्रिया न सही न उत्तरदायी भएको बताएको छ।

  8. नेकपा प्रचण्ड-नेपाल समूहले आम हड्ताल गर्ने

    नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीवार आम हड्ताल गर्ने बताएको छ।

    बुधवार आयोजित पत्रकार सम्मेलनमा सङ्घर्ष समितिकी सहसंयोजक पम्फा भुसालले ‘असंवैधानिक रूपमा गरिएको नियुक्तिको विरोधमा’ आम हड्ताल गरिने बताइन्।

    कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले अन्य विरोध कार्यक्रमहरू कायम रहेको र ती शान्तिपूर्ण रहने भन्दै आम हड्ताल संवैधानिक नियुक्तिको विरोधमा रहेको बताए।

  9. आज शपथ ग्रहण गरेका पदाधिकारी को को?

    बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शीतलनिवासमा आयोजित कार्यक्रममा संवैधानिक निकायका ३२ जना पदाधिकारीहरूको नियुक्ति तथा शपथ ग्रहण सम्पन्न भएको छ।

    उक्त समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

    लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आयुक्त किशोरकुमार सिलवालजयबहादुर चन्दलाई शपथ दिलाएको राससको समाचारमा उल्लेख छ।

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीडा जानकी कुमारी तुलाधरलाई शपथ दिलाएका थिए।

    त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सदस्यहरू सूर्यप्रसाद शर्मा ढुङ्गेल,मिहिर ठाकुर, मनोज दुवाडी र लिलीहजुर बस्न्यातलाई शपथ ग्रहण गराएका थिए।

    उक्त समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्य मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशी र हरिदत्त जोशीलाई समेत सम्बन्धित निकायका प्रमुखले शपथ गराएका थिए।

    साथै, आदिवासी जनजाति आयोगका सदस्यहरूडा मीनबहादुर श्रीस, रिना राना र शरण राईलाई अध्यक्ष थापा मगरले शपथ गराएका थिए।

    मधेशी आयोगका सदस्यहरू जीवछ शाह, रेणुदेवी शाह र विजयकुमार गुप्ता तथा मुस्लिम आयोगका सदस्यहरू महमदिन अली र मिर्जा अर्सद वेगलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ दिलाएका थिए।

    समारोहमा अध्यक्ष सहभागी हुन नसकेकाले थारू आयोगका सदस्य सुबोधसिंह थारू र भोलाराम चौधरीको शपथ ग्रहण कार्यक्रम पछि गरिने राष्ट्रपतिको कार्यालयले जनाएको राससले उल्लेख गरेको छ।

  10. कोरोनाभाइरसको एन्टीबडी ६ महिनासम्म

    अब कोरोनाभाइरसका बारेमा एउटा नयाँ अध्ययनको तथ्यबारे कुरा गरौँ:

    कोरोनाभाइरस सङ्क्रमणको छ महिनापछि पनि ८८ प्रतिशत मानिसको शरीरमा भाइरससँग लड्ने एन्टीबडी देखिएको १,७०० जनामा गरिएको एक अध्ययनले देखाएको छ।

    संसारकै सबैभन्दा ठुलो कोभिडबाट निको भएकाहरूको अध्ययनले सङ्क्रमितहरूमा देखिने निको भएपछि लक्षणहरूका बारेमा पनि थप जानकारी दिएको छ।

    निको भएका २६ प्रतिशतलाई खोकी, २८ प्रतिशतलाई ज्वरो र ४३ प्रतिशतलाई स्वाद वा गन्ध हराउने हुने अध्ययनले देखाएको छ।

    करिब ४० प्रतिशतलाई भने तीमध्ये कुनै लक्षण नदेखिएको र २० प्रतिशतलाई कुनै पनि लक्षण नदेखिएको अध्ययनको निष्कर्ष छ।

  11. संवैधानिक निकायका पदाधिकारीको शपथ ग्रहणका तस्बिरहरू

    आज बिहान संवैधानिक निकायका ३२ जना पदाधिकारीहरूको शपथ ग्रहण सम्पन्न भएको थियो।

    शपथ ग्रहणका तस्बिरहरू प्रधानमन्त्रीको स्वकीय सचिवालयले पठाएको छ। तीमध्ये केही तस्बिरहरू:

  12. संवैधानिक निकायका नियुक्ति बदर हुने दाबी

    यसैबीच एक कानुनविद्ले संवैधानिक नियुक्तिमा तीन कानुनी कमजोरी देखाउँदै रिट हाल्ने बताएका छन्।

    तर ती नियुक्ति अवैध भएको भन्दै रिट हाल्न तम्तयार अधिवक्ता दिनेश त्रिपाठी के भन्छन्?

  13. चीनले समर्थन नगरेपछि राष्ट्र सङ्घको म्यान्मार वक्तव्य रोकियो

    चीनले आपत्ति जनाएपछि म्यान्मारमा भएको सैन्य कूको निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् विफल भएको छ।

    म्यान्मारको सेनाले सोमवार आङ सान सु ची र सयौँ अरू सांसदहरूलाई गिरफ्तार गरेर शासन हातमा लिएको हो।

    सैनिक कूका नेताहरूले मन्त्रिपरिषद्‌भन्दा माथि रहने गरी सर्वोच्च परिषद् स्थापना गरेका छन्।

    मङ्गलवार राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकबाट चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको हो।

    म्यान्मारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।

  14. विवादबीच संवैधानिक निकायका पदाधिकारीको शपथ

    कानुनी र राजनीतिक विवादका माझ बुधवार बिहान संवैधानिक निकायका ३२ जना पदाधिकारीहरूको शपथ ग्रहण भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोग तथा निकायका ५ जना प्रमुख आयुक्त/अध्यक्ष तथा २७ जना आयुक्त/सदस्यहरूको शपथ ग्रहण तथा नियुक्ति सम्पन्न भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बीबीसीलाई जानकारी दिएका छन्।

    मङ्सिर ३० गते विवादका माझ प्रधानमन्त्री केपी ‌ओलीको अध्यक्षतामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित बसेको संवैधानिक परिषद्को बैठकले ती नियुक्तिहरूको सिफारिस गरेको थियो।

    लगत्तै पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि ती सिफारिसका विवरण सार्वजनिक गरिएका थिए।

    सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम भए पनि सुनुवाइ समिति समेत विघटित भएको अनि ४५ दिन बितेको सन्दर्भमा शपथ ग्रहण समारोह गरिएको थियो।

  15. चीनमा वुइगर मुसलमानहरूलाई शिविरमा 'बलात्कार'

    चीनमा वुइगर मुसलमान रहेका शिविरमा महिलाको बलात्कार हुने गरेको र यातना दिने गरिएको पीडितहरूको विवरण बीबीसीले प्राप्त गरेको छ।

    महिनौँसम्म शिविरमा थुनेर राखिएका ती महिलाहरूले आफूहरूलाई विद्युतीय रडहरूले यातना दिइएको बताएका छन्।

    नकाबधारी पुरुषहरूले कसरी एउटी महिलालाई सामूहिक बलात्कार गरेका थिए र त्यो हेर्न नियन्त्रणमा राखिएका करिब १०० महिलालाई कसरी बाध्य पारियो भन्ने विवरण शिविरमा नौ महिना बिताएकी टुर्सुने जियाउदुनले बताएकाी छन्।

    उनी भागेर पहिले काजकस्तान र पछि अमेरिका पुगेकी हुन्।

    ती शिविरहरूमा १० लाख भन्दा बढी मानिसलाई नियन्त्रणमा राखिएको अनुमान गरिएको छ।

    एउटा विज्ञप्तिमा चिनियाँ सरकारले भने महिला अधिकारको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको बताएको छ।

  16. अहिलेसम्मका प्रमुख समाचारहरू

    नमस्कार। शुभ प्रभात।

    आज बुधवार दिनभरि हामी यो पेजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका बारेमा जानकारी दिनेछौँ।

    अहिलेसम्मका प्रमुख समाचारहरू यसप्रकार छ:

    • चीनले आपत्ति जनाएपछि म्यान्मारमा भएको सैन्य कूको निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् विफल भएको छ। म्यान्मारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।
    • कोरोनाभाइरस उपचारका लागि अर्बौँ चन्दा उठाएका पूर्वसैनिक १०० वर्षीय क्याप्टेन सर टम मूरको सङ्क्रमणकै कारण निधन भएको छ
    • मस्कोको एउटा अदालतले भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ। त्यसको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन्।
    • नेपाल लगायत कैयन् देशहरूमा प्रयोग भइराखेको अक्सफोर्ड आस्ट्राजेनेका खोपले कोभिडको गम्भीर बिमारीमात्र नभई सङ्क्रमण पनि रोक्ने एक अध्ययनमा देखिएको छ।
    • अमेजनका संस्थापक विश्वकै धनी जेफ बेजोस आउँदो गर्मीयाममा प्रमुख कार्यकारीको जिम्मेवारीबाट पछि हट्ने बताएका छन्।
    • अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघिको ट्रम्प प्रशासनले ल्याएको आप्रवासनविरोधी कट्टर नियमहरू उल्ट्याउने पहिलो कदम चालेका छन्। उनले मेक्सिकोसँगको सीमामा बिछोडिएका आप्रवासी परिवारलाई पुन मिलाउनका लागि एउटा कार्यदल बनाइने घोषणा गरेका छन्। ह्वाइट हाउसमा त्यस्तो निर्देशनमा हस्ताक्षर गर्दै बाइडनले उनकै शब्दमा बालबालिकालाई आफ्ना अभिभावकको अङ्गालोबाट टाढा पार्ने गरी पहिलाको प्रशासनले नैतिक र राष्ट्रिय लज्जा देखाएको भन्दै त्यसलाई सच्याउने बताए।