संसद् विघटनविरुद्ध ‘सशक्त सङ्घर्ष’ गर्ने सर्वदलीय बैठकको निर्णय
प्रमुख विपक्षी नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस असंवैधानिक रहेको ठहर गर्दै त्यसको विरुद्धमा ‘सशक्त सङ्घर्ष’ गर्ने निर्णय गरेको छ।
काँग्रेस सभापति शेरबहादुर देउवाले डाकेको उक्त बैठकमा नेकपाका प्रचण्ड-माधवकुमार नेपाल खेमाका शीर्ष नेताहरू र जनता दल समाजवादीका नेताहरू सहभागी थिए।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, “हामी यो कदम असंवैधानिक र अलोकतान्त्रिक हो भन्नेमा एकमत भयौ। अब हामी सङ्घर्षको कार्यक्रमहरू सार्वजनिक गर्छौँ।”
“संविधानले नमिल्ने कदम प्रधानमन्त्रीले चाल्नुभएको छ। यसलाई रोक्न सकिएन भने भविष्यमा संविधान भत्काउने क्रम झन् झन् बढ्छ र मुलुक सङ्कटमा जान सक्छ अनि व्यवस्था नै खतरामा पर्न सक्छ भन्ने छलफल बैठकमा भयो।”
नेकपाका नेता नारायणकाजी श्रेष्ठले तीनै दलको केन्द्रीय कमिटीको बैठक चलिरहेको र त्यसपछि सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने बताए।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सोमबार ताजा जनादेश लिनका लागि संसद् विघटन गरेको बताएका थिए। उनले आफ्नो विपक्षमा उभिएका नेकपाका नेताहरू सहित विपक्षी नेपाली काँग्रेसलाई पनि चुनावमा सहभागी हुन भनेका थिए।
त्यसबारे प्रतिक्रिया दिँदै पौडेल भन्छन् “विश्वभरमा तानासाहहरूले सत्ता हातमा लिन गर्ने तरिका त्यही नै हो। त्यसरी नै झुलाएर आफ्नो हात बलियो बनाउने हुन्। उहाँले जे भन्नुभएको छ त्यसलाई पुरै विश्वास गर्न सकिने अवस्था छैन। संसद् पनि जाने अर्को चुनाव पनि नहुने तर्फ गयो भने के हुन्छ भन्नेतर्फ हामी सचेत हुनै पर्छ।”
तीन दलको बैठकमा सरकारले हालै संवैधानिक परिषद्को अध्यादेश ल्याउने सहित निरन्तर संविधान विपरीतका निर्णयहरू गरेको निष्कर्ष निकालेको काँग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले जानकारी दिए।










