तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, मृतकको सङ्ख्या ११ सय नाघ्यो, 'खोज, उद्धार र राहत हुँदै पुन:स्थापनातर्फ'

आज भोटेकोशी-त्रिशूली बाढी आएपछिको आठौँ दिन। यो लाइभ पेजमा हामीले खोज, उद्धार र राहतसहित विभिन्न विषयमा ताजा जानकारी प्रस्तुत गर्दै जाने छौँ।

सारांश

लाइभ कभरेज

  1. प्रतिनिधिसभाको बैठकमा सभामुखले विशेष प्रस्ताव पेस गर्ने

    आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

    उक्त बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

  2. नुवाकोटमा बाढीप्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरूमा अनिश्चित समयका लागि पठनपाठन बन्द गरिएको छ।

    राष्ट्रिय समाचार समितिका अनुसार बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन्। बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ।

    बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले राससलाई बताए।

    उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुने छ।

    शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउन योजना बनाइने छ।

    त्रिशूली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्।

    शिक्षा शाखाको तथ्याङ्कअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ।

    शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कूलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ।

    उत्तरगया इङ्लिश बोर्डिङ स्कूलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एउटा ब्लकमात्र बाँकी छ।

    चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्रावास, शहीद जगत्‌प्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिश बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ भएको राससले जनाएको छ।

    रामचन्द्र आविको एउटा र उत्तरगया इङ्लिश बोर्डिङका दुईवटा बस बाढीले बगाएको छ।

    किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढी–७ स्थित शिलादेवी मावि बाढीबाट प्रत्यक्ष र वडा नं ५ को महादेव मावि प्रभावित बनेको छ।

  3. भारतदेखि अमेरिकासम्म कसले कस्तो सहयोग गर्दै छन्

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण निम्तिएको विपत्तिपछि नेपाललाई विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार भारतले बाढी आएको दिन भदौ ११ गतेदेखि सहयोग उपलब्ध गराउन थालेको थियो।

    भारतले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको प्रधानमन्त्रीको सचिवालयले मङ्गलवार राति जनाएको छ।

    उद्धारकार्यमा सहभागी हुन भारतबाट ११ जनाको टोली पनि नेपाल आइसकेको छ। भारतले २२ फीटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ।

    चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार चीनबाट आएको उद्धार टोली प्रभावित क्षेत्रमा खटेको छ।

    चीनले ५० टन राहत सामग्री पनि उपलब्ध गराएको छ ।

    नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलिब्रिज सहयोग गर्न अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदै छ।

    श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको छ भने बाङ्ग्लादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।

    अमेरिकाले५ लाख अमेरिकी डलर र अस्ट्रेलियाले १० लाख अमेरिकी डलर (नगद) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १ करोड डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ ।

    कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ।

    स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्र्याङ्क प्राप्त भएको छ। उक्त रकम संयुक्त राष्ट्र सङ्घबाट खर्च हुने गरी उपलब्ध गराइएको हो।

    एशियाली विकास ब्याङ्क (एडीबी)बाट अनुदानका लागि ५० लाख अमेरिकी डलर, विश्व ब्याङ्कबाट १६.७ करोड अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा र एडीबीबाट प्राविधिक सहायताका लागि १.५ लाख अमेरिकी डलर उपलब्ध गराइने प्रतिबद्धता आएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार यूके जापानसहितका मित्रराष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको छ भने ईयू राष्ट्रसङ्घका निकायहरूबाट पनि सहयोग प्राप्त भइरहेको छ।

  4. 'अब राहत र पुनः स्थापनामा केन्द्रित नयाँ चरण': राष्ट्रसङ्घ

    संयुक्त राष्ट्रसङ्घले नेपालमा आएको विनाशकारी बाढीपछिको प्रतिकार्य अब राहत र पुनः स्थापनामा केन्द्रित नयाँ चरणमा प्रवेश गरेको जनाएको छ।

    नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी खण्डित भएर गत साता आएको बाढीका कारण नेपालमा धनजनको ठूलो क्षति पुगेको छ। तिब्बतमा पनि क्षति भएको विवरण आएको छ।

    संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफान ड्युजरिकले नेपालमा हजारौँ परिवारका लागि अहिले मानवीय सहायता प्राप्त गर्नु मुख्य प्राथमिकता भएको औँल्याएका छन्।

    नेपालमा अहिलेसम्म १,१०० जनाभन्दा बढीको शव फेला परिसकेको छ भने ४,८०० जनाभन्दा बढी मानिस सम्पर्कविहीन भएको नेपाल प्रहरीले जनाएको छ।

    बाढीबाट प्रभावित स्थानहरूबाट १२,००० जनाको उद्धार गरिएको छ।

    बाढीका कारण थेरै स्थानमा पुग्न र सडकहरू बगेका कारण प्रभावित समुदायसम्म पुग्न उद्धारकर्मीहरू हेलिकप्टरमा भर पर्नुपर्ने अवस्था छ। राष्ट्रसङ्घका प्रवक्ताले त्यसलाई ठूलो चुनौती भनेका छन्।

  5. अहिलेसम्म हामीलाई के थाहा छ, मृतकको सङ्ख्या १,१०० नाघ्यो

    बाढीका कारण मङ्गलवार साँझसम्म १,१२७ जनाको शव फेला परेको नेपाल प्रहरीले आफ्नो वेबसाइटमा जनाएको छ। मृतकको सङ्ख्या बढ्दो क्रममा रहेको देखिन्छ।

    अझै सयौँ मानिस सम्पर्कविहीन छन्। त्यस्तै बेपत्ता भएका मानिसहरूको सङ्ख्या उक्त वेबसाइटमा उल्लेख गरिए अनुसार बेपत्ता रहेका ४,८५८ जनाको खोजी कार्य जारी छ।

    प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुन:स्थापनातर्फ अगाडि बढिरहेको बताएका छन्।

    बेपत्ता मध्ये जलविद्युत् आयोजनाका सुरुङहरूमा पनि कयौँ जीवित मानिसहरू फसेको हुन सक्ने अनुमानमा खोजी जारी राखिएको अधिकारीहरूले बताएका छन्। उक्त कार्यमा केही दिनयता विदेशी टोलीले पनि सघाउँदै आएका छन्।

    नदीमा फेला परेका तर पहिचान नभएका शवहरूको अस्थायी व्यवस्थापन गरिएको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म फेला परेका शवहरूमध्ये थोरैको मात्र सनाखत भएको छ।

    हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको डीएनए परीक्षणका लागि "नजिकको रगतको नाता" भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

  6. बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ

    नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको आज आठौँ दिन हो। आज हामी यो लाइभ पेजमा उक्त बाढीले पुर्‍याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिबारे अप्डेट गर्ने छौँ।

  7. अहिलेसम्म हामीलाई के थाहा छ

    भोटेकोशी-त्रिशूली बाढीको सातौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यस प्रकार छन्-

    • बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ। केही शव भारतमा पनि फेला परेका छन्।
    • गृहमन्त्री सुधन गुरुङले राज्य 'जिम्मेवारीबाट पछाडि नहट्ने' आश्वासन दिएका छन्।
    • नुवाकोटको बेत्रावतीमा एउटै घरमा २४ वटा शव फेला परेका नेपाल प्रहरीले जानकारी दिएका छन्।
    • सम्पर्कविहीन भएकाहरूको सङ्ख्या झन्डै ४,००० छ।
    • प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले अहिलेको विपद् 'जलवायु परिवर्तनका कारण' भएको बताएका छन्।
    • जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको ठानिएका मानिसलाई उद्धार गर्ने प्रयास जारी छ तर सफलता मिल्न सकेको छैन। यद्यपि जानकारहरूले त्यहाँ जीवनको सम्भावना अझै कायम रहेको बताएका छन्।
    • काठमाण्डू भित्रिने र हेटौँडा जाने सवारीसाधनको लागि 'नयाँ रूट' तोकिएको छ।

    यससँगै हामी आजका लागि यो पेजमा अप्डेटहरू स्थगित गर्दै छौँ। भोलि बिहान तथा महत्त्वपूर्ण जानकारी प्राप्त हुनासाथ हामी यसलाई पुनः सुरु गर्ने छौँ।

    शुभरात्रि।

  8. चीनबाट ड्रोनसहितका सामग्री नेपाल आइपुग्यो

    चीन सरकारले पठाएको अर्को खेपका उद्धार सामग्रीहरू मङ्गलवार साँझ काठमाण्डू आइपुगेको नेपाल सरकारले जनाएको छ।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन महावीर पुनका अनुसार सैनिक जहाजमार्फत् अघि साँझ चिनियाँ सामग्री काठमाण्डू आइपुगेको हो।

    “आज आएका सामानहरूमा केही महत्त्वपूर्ण सामानहरू जस्तै डीएनए जाँच्ने मशिनहरू र ७० किलोसम्म बोक्ने ड्रोनहरू छन्,” मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्।

    चिनियाँ विदेश मन्त्रालयले दोस्रो खेपमा कार्गो ड्रोनहरू, डीएनए फरेन्सिक विज्ञहरूसहित डीएनए परीक्षण कीटहरू, पानी शुद्धीकरण उपकरण तथा प्रकाशसम्बन्धी उपकरणहरू रहेका जनाएको छ।

    नेपालका लागि चिनियाँ राजदूतले ती सामानहरू हस्तान्तरण गरेका मन्त्री पुनले बताएका छन्।

  9. कृष्णभीरको भित्तापट्टि संरचना बनाउने काम तत्काल अघि बढाइने - पूर्वाधार मन्त्रालय

    सरकारले कृष्णभीरको भित्तापट्टि 'ग्याबियन ब्रेस्ट वाल' माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने बताएको छ।

    कृष्णभीरमा सडक भासिएपछि काठमाण्डूसँगको सम्पर्क टुटेको पृथ्वी राजमार्गको खण्ड सञ्चालन गर्नेबारे मङ्गलवार पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

    कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने समेत बताइएको छ।

    यसअघि अधिकारीहरूले उक्त सडक कहिलेसम्म खुलाउन सकिने प्रस्ट नभएको बीबीसीलाई बताएका थिए।यसबारेको सामग्री पढ्नुहोस्।

  10. 'कर्तव्य र जिम्मेवारीबाट राज्य पछाडि हट्ने छैन' - गृहमन्त्री

    गृहमन्त्री सुधन गुरुङले गत साताको भोटेकोशी-त्रिशूली बाढीपछिको अवस्थामा उद्धार र राहतका प्रयासमा सरकार आफ्नो 'कर्तव्य र जिम्मेवारीबाट पछाडि नहट्ने' अनि यसमा केही ढिलाइ भएमा राज्यले 'माफी माग्ने' समेत बताएका छन्।

    मङ्गलवार एक पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले उद्धारका लागि सरकारले 'सक्दो' प्रयास गरिरहेको तर हिलोको दलदललगायतका अवस्थाका कारण उद्धार प्रयास प्रभावित भएको दाबी गरे।

    गुरुङका अनुसार सरकारले अहिले जीवित व्यक्तिको उद्धारलाई नै पहिलो प्राथमिकता दिएको बताए।

    हिजो सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले पनि जीवित उद्धार नै सरकारको प्राथमिकता भएको बताएका थिए। यद्यपि सुरुङमा फसेका भनिएका मानिसहरूको उद्धारमा ढिलाइ भएको भन्दै कतिपयले सरकारको आलोचना गरिरहेका छन्।

    गृहमन्त्री गुरुङले जारी उद्धार प्रयासमा संलग्न सुरक्षाकर्मीको प्रशंसा गर्दै सम्भाव्य विपद्‌बारे पूर्वसूचना दिने क्रममा कतिपय सुरक्षाकर्मी नै बेपत्ता हुन पुगेको जानकारी दिए।

  11. तिब्बत र नेपालमा कसरी भयो विध्वंस

    अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले गत बुधवार नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा एउटा "हिमनदी खण्डित भएको हुनाले" ठूलो बाढी आएको र विनाश निम्तिएको जनाएको छ।

    विज्ञहरूले त्यस प्रकारको परिघटनालाई अङ्ग्रेजीमा 'ग्लेसिअल कोल्याप्स' भन्ने गरेका छन्।

    विज्ञहरूका अनुसार हिमताल भत्किएर खसेको पहिरोले थुनेको खोलामा ताल बनेको र त्यो अकस्मात् भत्किँदा त्यसबाट तल्लो भेगमा बाढीका कारण विध्वंस भएको हो।

    तिब्बतको सीमानजिकै रसुवामा अवस्थित हिमतालको एउटा भाग भत्किएर तिब्बततिर खसेको विज्ञहरूले बताएका छन्। उक्त घटनाबारे वैज्ञानिकहरूले विभिन्न कोणबाट अध्ययन र विश्लेषण गरिरहेका छन्।

  12. फेला परेका १,०५६ शवमध्ये ५८ वटा मात्र मृतकका आफन्तलाई हस्तान्तरण

    गत साता भदौ १० गते रसुवाको भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेमध्ये १,०५६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीको वेबसाइटमा प्रकाशित विवरणअनुसार उक्त सङ्ख्या आज दिउँसो २ बजेसम्मको हो।

    बाढीपछि अहिलेसम्म झन्डै ४,००० जना सम्पर्कविहीन भएको सरकारी निकायहरूले जनाएका छन्।

    फेला परेका शवहरूमध्ये ९७२ को लासजाँच मुचुल्का सम्पन्न भएको र ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

    फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म १२१ महिला, १९८ पुरुष र ३६५ नखुलेको गरी जम्मा ६८४ वटा शवलाई जमिनमुनि गाडिएको छ। सरकारी निकायहरूले त्यसलाई "अस्थायी व्यवस्थापन" भनेका छन्।

    पहिचान नभएका ८६९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अप्लोड गरिएको छ।

    कहाँ कति शव फेला परे?

    • रसुवा: ३८
    • नुवाकोट: १५१
    • धादिङ: ५७
    • चितवन: ३२१
    • गोरखा: ६५
    • तनहुँ: ३८
    • नवलपरासी पूर्व: २१६
    • नवलपरासी पश्चिम: १६५
    • भारत: ५
  13. काठमाण्डू र हेटौँडा आउजाउ गर्न तोकिएका वैकल्पिक मार्ग यी हुन्

    धादिङको कृष्णभीरमा सडक कटानमा परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन हुन सकेको छैन।

    उक्त मार्ग हुँदै काठमाण्डू भित्रिने र बाहिरिने साना र ठूला सवारीसाधनका लागि प्रहरीले वैकल्पिक मार्ग निर्धारण गरेको छ। बीबीसी न्यूज नेपालीले ती मार्गलाई नक्सामा प्रस्तुत गरेको छ।

    साना सवारीसाधनलाई हेटौँडाबाट काठमाण्डूतर्फ जाँदा कुलेखानी र सिस्नेरी हुँदै दक्षिणकालीको बाटो प्रयोग गर्न भनिएको छ।

    तर काठमाण्डूबाट मकवानपुर जानका निम्ति १० चक्कासम्मका सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने छ।

    पृथ्वी राजमार्ग बन्द भएपछि काठमाण्डू आउन कस्ता गाडीलाई अनुमति, कस्तालाई रोक? विस्तृतमा पढ्नुहोस्

  14. चार जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ विस्थापित मानिसहरूलाई

    बुधवार भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका र उद्धार गरिएका मानिसहरूलाई विभिन्न स्थानमा स्थापित होल्डिङ सेन्टरमा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    • नुवाकोट - २,४६६
    • रसुवा - ३९८
    • धादिङ - २६०
    • काठमाण्डू - ३२९

    (दिउँसो १ बजेसम्मको विवरण)

  15. राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित

    राष्ट्रिय सभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ।

    सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। सभाले उक्त प्रस्ताव सर्वसम्मतिमा पारित गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    सभाको बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

    विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

    “भौतिक संरचनाको पुनःनिर्माणका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविष्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको विशेष ध्यान जाओस्,” विशेष प्रस्तावमा भनिएको छ।

  16. रसुवामा बनेको अर्को हिमतालको अवस्था के छ?

    चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीले रसुवामा बनेको 'लेक टू' हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्।

    उक्त हिमतालमा अनुमानित ६.५ लाख घनमिटर पानी जम्मा भएको चिनियाँ विवरणमा उल्लेख गरिएको बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बताए।

    "यो हिमताल भरिने अवस्थामा छ। त्यस कारण फुट्ने जोखिम रहने नै भयो," उनले भने।

    यसबारे विस्तृत सामग्री यहाँ पढ्नुहोस्

  17. बेत्रावतीमा एउटै घरमा २४ जनाको शव फेला - प्रहरी

    नुवाकोटको बेत्रावतीमा एउटा घरमा २४ वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ड्रोन निगरानीका क्रममा एउटा शव देखिएपछि पुगिएको ठाउँमा आसपास थप शवहरू भएको हुन सक्ने आशङ्कामा खोजी गर्दा थप २३ वटा शवहरू फेला परेका हुन्।

    फेला परेका शवमध्ये एउटा शव बालिकाको, ११ वटा पुरुषका र १२ वटा महिलाका रहेको बताइएको छ। आवश्यक "मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनका लागि पठाउने कार्य भइरहेको" प्रहरीले जनाएको छ।

    दलदले हिलोका कारण उक्त स्थानमा ती शव सङ्कलनका लागि हेलिकप्टर नै आवश्यक परेको प्रहरीको भनाइ छ।

  18. सबैभन्दा पहिला बाढी पसेको रसुवा जिल्लाको स्थिति के छ

    तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीमा परी रसुवा जिल्लामा मृत्यु हुने मानिसहरूका शव जिल्लाका विभिन्न स्थानमा फेला परेका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान ११ बजेसम्म रसुवा १०० वटाभन्दा बढी शव फेला परिसकेका छन्।

    जिल्ला प्रहरी प्रमुख अशोक थापाले राष्ट्रिय समाचार समितिलाई दिएको जानकारीअनुसार जिल्लाको बेत्रावती, टिमुरे र स्याफ्रुबेँसी फेला परेका शवहरूमध्ये केवल छ वटाको पहिचान भएको छ।

    उद्धारकर्ताहरूले फेला परेका शवलाई सङ्कलन गरी धुन्चे पठाउने तयारी गरेका छन्।

    रसुवाका विभिन्न स्थानबाट स्वदेशी र विदेशी पर्यटकहरूसहित ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। खोजीकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

    विस्थापित मानिसहरू कहाँ छन्

    बाढीबाट प्रभावित ६०० जनाभन्दा बढीको उद्धार गरिएको जानकारी सरकारी निकायहरूले दिएका छन्।

    राष्ट्रिय समाचार समितिका अनुसार बेत्रावती कैँदलटारबाट विस्थापित भएका परिवारहरूलाई काठमाण्डूको तारकेश्वर नगरपालिकामा रहेको शान्ति टोलका विभिन्न स्थानमा राखिएको छ।

    टिमुरे र स्याफ्रुबेँसीबाट विस्थापित भएकाहरूलाई रानीवनस्थित पहेँलो गुम्बामा राखिएको छ।

    केही प्रभावितलाई धुन्चेस्थित टुर्कुछिलिङ गुम्बा र अन्यलाई दक्षिणी रसुवाको माझगाउँस्थित भीमसेन र शिवालय प्राविमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

    हेलिकप्टरबाट राहत सामग्री

    भोटेकोशी बाढीले पुल र सडक बगाउँदा रसुवाको पश्चिमी भेगमा रहेका थोमन, चिलिमे, गोल्जुङ, हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत बस्तीमा हेलिकप्टरमार्फत् राहत सामग्री पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले राससलाई बताए।

    लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरेको खैदी, विर्दिङ, शेर्पागाउँ, खाम्जिङ, स्याफ्रुसमेतका क्षेत्रमा पनि हेलिकप्टरमार्फत् खाद्यान्न ढुवानी भइरहेको राससले जनाएको छ।

    'मोबाइल चार्ज गर्न घुम्ती सेवा'

    बाढीसँगै विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न गाडीमा जेनरेटर राखी घुम्ती सेवा उपलब्ध गराइएको रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ।

    अहिलेसम्म ५०० भन्दा बढी स्थानीय बासिन्दाले उक्त सेवा लिएको सो संस्थाका अध्यक्ष बलराम न्यौपानेले राससलाई बताए।

    जिल्लाका अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनः सुरु भएको राससले जनाएको छ।

    विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाण्डूको बालाजुदेखि नुवाकोटको शिवपुरी, चौगडा, नर्जा, सरमथली, कालिकास्थान हुँदै धुन्चेसम्मको लाइन विस्तारको काम अघि बढाएको राससले जनाएको छ।

  19. मृतकको सङ्ख्या १ हजार नाघ्यो, केही शव बगेर भारत पुगे

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुने मानिसहरूको शव फेला पर्ने क्रम जारी छ।

    नेपाल प्रहरीले आज बिहान ११:०० बजेसम्म १ ,०१० जनाको मृत्यु भएको पुष्टि भएको विवरण आफ्नो वेबसाइटमा दिएको छ।

    यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान बीबीसी नेपालीलाई मृतकको सङ्ख्या ९८७ पुगेको जानकारी दिएको थियो।

    अझै ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। अधिकारीहरूले खोजी कार्य जारी रहेको बताएका छन्।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म गरी आठवटा जिल्लामा शवहरू फेला परेका हुन्। नदीमा बगेर गएका शवहरू चितवनमा सर्वाधिक सङ्ख्यामा फेला परेका छन्।

    नारायणी नदीमा बगेका केही शव भारतमा पनि फेला परेको प्रहरीले जनाएको छ।

    कहाँ कति शव फेला परे?

    • ‌रसुवा- ३८
    • नुवाकोट- १०३
    • धादिङ - ५६
    • चितवन - ३२०
    • गोरखा - ६५
    • तनहुँमा - ३८
    • नवलपरासी पूर्वमा - २१६
    • नवलपरासी पश्चिम - १६९
    • भारत - ५

    स्रोतः नेपाल प्रहरी

    फेला परेका शवहरूमध्ये निकै कमको मात्रै सनाखत र अन्तिम संस्कार भएको छ।

    शवहरू सड्न थालेकाले स्थानीय अधिकारीहरूले तिनलाई अस्थायी व्यवस्थापन गर्न जमिनमुनि गाड्न थालेका छन्।

    सम्बन्धित समाचार र भिडिओ

  20. काठमाण्डू भित्रिने र हेटौँडा जाने सवारीसाधनको लागि ‘नयाँ रूट’

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले गरेको कटानका कारण काठमाण्डू उपत्यकालाई विभिन्न जिल्लासँग जोड्ने महत्त्वपूर्ण सडकहरू अवरुद्ध भएका छन्।

    धादिङको कृष्णभीरमा सडक कटानमा परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन हुन सकेको छैन। उक्त मार्ग हुँदै काठमाण्डू भित्रिने र बाहिरने सवारीसाधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्।

    ठूला यात्रुवाहक र मालवाहक सवारीसाधनलाई कुन मार्ग

    अहिलेको अवस्थालाई दृष्टिगत गर्दै प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि काठमाण्डू उपत्यका जाने सवारीसाधनका लागि आजदेखि लागु हुने गरी नयाँ रूट निर्धारण गरेको छ।

    राष्ट्रिय समाचार समितिका अनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनहरूका लागि त्रिभुवन राजपथ प्रयोग गर्न भनिएको छ।

    यद्यपि काठमाण्डूबाट मकवानपुर जानका निम्ति चाहिँ १० चक्कासम्मका सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार मौसम र बाटोको अवस्था अनि यात्रुहरूको सुरक्षालाई समेत दृष्टिगत गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुवाहक सवारीसाधनहरूले अनिवार्य रूपमा साँझ ६ बजेभित्र मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने छ।

    साना सवारीसाधनलाई कुन मार्ग?

    प्रहरी प्रधान कार्यालयले १४ सीटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाण्डूबाट हेटौँडातर्फ जाँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फको रूट निर्धारण गरेको छ।

    त्यस्ता सवारीसाधनलाई काठमाण्डूतर्फ जाँदा भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकालीको बाटो प्रयोग गर्न भनिएको छ।

    राष्ट्रिय समाचार समितका अनुसार मकवानपुरको त्रिखण्डीनजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनलाई उक्त बेलिब्रिज प्रयोग नगर्न बरु नजिकै रहेको अर्को डाईभर्शन प्रयोग गर्न भनिएको छ।